काठमाडौँ । विश्वकप छनोटको एक अर्को खेलमा नेपाल बिहीबार राति मैदानमा ओर्लिदैछ ।
एसियाकपको पनि छनोट रहेको यस खेलमा नेपालले फेरि बहराइनको सामना गर्न लागेको हो । मानामाको नेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२.४५ मा सुरु हुनेछ । यो बहराइनको ‘होम म्याच’ रहनेछ ।
यसअघि पछिल्लो साता बहराइनमै भएको खेलमा नेपाल ५–० ले पराजित भएको थियो यो भने प्राविधिक रूपमा नेपालको ‘होम म्याच’ थियो । दशरथ रंगशाला छनोट खेलका लागि उपयुक्त नभएपछि खेल बहराइन सरेको हो । यसपल्ट बलियो बहराइनको सामना गर्दा नेपालसामु ठूलो अन्तरको हार जोगाउने चुनौती त हुनेछ ।
सँगै पृष्ठभूमिमा टिम र प्रशिक्षकमाथि अखिल नेपाल फुटबल संघ (एन्फा) सम्मिलित विवाद र थप खेलाडी विदेश पलायन हुने डर पनि हुनेछ । सम्भवतः नेपालसामु रक्षात्मक खेल्ने एक मात्र रणनीति हुन सक्नेछ । त्यस बाहेक पनि नेपालसामु दुई महत्त्वपूर्ण पहिलो रोजाइका खेलाडी हुने छैनन् ।
चोटका कारण अञ्जन विष्टले खेल्ने छैनन् भने दोहोरो पहेँलो कार्डका कारण मनिष डाँगी पनि हुने छैनन् । अञ्जनको चोटका पूरा विवरण भने बाहिर आएको छैन् । यही खेललाई लिएर प्रि–म्याच कन्फ्रेस्मा भने मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस केही सकारात्मक र उत्साहित देखिने प्रयासमा रहे ।
बुधबार राति उनले भने, ‘हामीले राम्रो तयारी गरेका छौं । खेलाडीले पनि राम्रो महसुस गरिरहेका छन् । यस खेलमा दुई खेलाडीले खेल्ने छैनन् । त्यसैले यो नयाँका लागि अवसर हुनेछ । पक्कै पनि हाम्रो उद्देश्य पहिलो खेलको तुलनामा राम्रो गर्ने हुनेछ । टिमले मैदानमा मिहिनेत गरेर खेल्नेछ र बलियो चुनौती पेस गर्नेछ ।’
त्यही प्रि–क्याच कन्फ्रेन्समा कप्तान किरण लिम्बूले बहराइनविरुद्धका दुई खेलका लागि टिमले पर्याप्त प्रशिक्षणको अवसर नपाएको भए पनि बलियो चुनौती पेस गर्न सक्षम रहेको बताए । उनले भने, ‘हामीलाई टिममा पूरा विश्वास छ । मानसिक र शारीरिक रूपमा हामी यो खेलका लागि तयार छौं । पहिलो खेलमा हामीले जे जस्तो नतिजा बेहोरेको भए पनि त्यसलाई बिर्सेर अगाडि बढ्न सक्नु पर्छ ।’
‘हाम्रो टिम युवा छ र यसलाई अझ धेरै अवसरको खाँचो छ,’ नेपालका लागि ९७ औं ‘क्याप’ जित्ने क्रममा रहेका किरणले थपे । नेपालले बहराइनको समना गर्न लागेको भने यो दोस्रो पल्ट मात्रै हो । छनोटको समूह ‘एच’ मा नेपाल लगातार तीन खेलमा पराजित भएर चार टिममध्ये पुछारमा छ, यी तीन खेलमा नेपालले कुनै गोल पनि गरेको छैन् ।
यूएई तीन खेलमा शतप्रतिशत नतिजासहित नौ अंकमा शीर्षमा छ । बहराइनको छ अंक छ भने यमन तीन अंकमा रहेको छ । बहराइनका क्रोएसियाली प्रशिक्षक ड्रागन तालाजिचले नेपाललाई सजिलो प्रतिद्वन्द्वी नमान्ने दोहराउँदै यो खेल धेरैको अनुमान अनुसार सजिलो पनि नहुने बताएका छन् ।