राम्रो काममात्रै गर्छु भनेको थिएँ, इतिहासले नै सम्झिने काम भएः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्व सम्हालेपछि देशको आर्थिक स्थितिमा धेरै सुधार आएको दाबी गरेका छन् ।

‘मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो ? तपाईं हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्ने कुरा हामी सबैलाई थाहा छ । तर अहिले क्रमशः सुधार आइसकेको छ,’ प्रचण्डले भने ।

शुक्रबार नेपाल पत्रकार महासंघको २७औँ अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगमलगायतका सार्वजनिक संस्थाहरू नाफामा गएको बताए । नेपालमा पर्यटक आगमन पनि उल्लेख्य वृद्धि भएको उनको भनाइ छ ।

‘वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको छ । बैंकको ब्याजदर घटाइएको छ । लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ,’ प्रचण्डले भने, ‘सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदैछ । नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरू नाफामा गएका छन् । नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको छ ।’

हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवर्द्धक रूपमा विदेशी लगानीकर्ताहरूको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको प्रचण्डको दाबी छ । ‘भर्खरै हामीले सम्पन्न गरेको लगानी सम्मेलन र त्यहाँ उत्साहवर्द्धक झन्डै ६० देशका प्रतिनिधिहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको छ,’ उनले भने ।

शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरू बिस्तारै सकारात्मक दिशातिर अघि बढेको प्रचण्डको भनाइ छ । वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको  र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको प्रचण्डको भनाइ छ । उनले सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार सुरु गरिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले मिडियासम्बन्धी कानुन निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताए । सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने नीति लिएको उनको भनाइ छ ।


प्रकाशित : २०८१ बैशाख २१, शुक्रबार १३:४६ गते

ताजा समाचार