काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ७० करोडको बजेट


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलले सोमबार उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

काठमाडौं महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी एक अर्ब ५० करोड रहेको उप–प्रमुख डंगोलले बताइन् ।

स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि १९ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको पनि डंगोलले बताइन् । यो कुल बजेटको ०.७९ प्रतिशत हो । “कार्यालय सञ्चालन र प्रशासन सञ्चालनका लागि तीन अर्ब ४९ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुन बजेटको १४.४४ प्रतिशत हो,” उनले भनिन् ।

पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ६१.२० प्रतिशत हो ।

सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल बजेटको १५.७५ प्रतिशत हो ।


प्रकाशित : २०८१ असार ११, सोमबार १७:४१ गते

ताजा समाचार