के विज्ञानको पछिल्ला आविष्कारहरुले द्वन्द्ववादका नियमहरुलाई बेठीक ठहर्याएका छन् ?


श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक तथा लेखक

हामीले यसअघि द्वन्द्ववादका तीनवटा नियमहरुबारे छोटो चर्चा गयौँ । द्वन्द्ववादका यी नियमहरु सर्वप्रथम हेगेलद्वारा, त्यसपछि माक्र्स र एङ्गेल्सद्वारा उन्नाइसौँ शताब्दीमा विकसित गरिएको थियो । यूरोपमा उन्नाइसौँ शताब्दीसम्म प्राकृतिक विज्ञानले जून उँचाइ हाँसिल गरेको थियो , त्यसको बौद्धिक निचोड थियो द्वन्द्ववादका यी नियमहरु । परन्तु बीसौँ शताब्दीमा आएर प्राकृतिक विज्ञानले निकै ठूलो फड्को मारेको छ । के यस शताब्दीका वैज्ञानिक उपलब्धिहरुलाई आजका द्वन्द्ववादीहरुले दही–मथनी गरेर नौनी निकाल्नु जरुरी छैन ?

विश्वमा द्वन्द्ववाद नै यस्तो दर्शन हो , जसले आफ्ना नियमहरुलाई प्रकृतिमाथि लाद्ने होइन , प्रकृतिबाट नियमहरु आविष्कार र विकास गर्ने कुराको पक्षपोषण गर्छ । यो नै एउटा त्यस्तो वैज्ञानिक दर्शन हो , जसले आफूलाई कहिल्यै पूर्ण र अन्तिम ठान्दैन । र , हमेशा आफ्नो समयको ज्ञान विज्ञानको उँचाइको जगमा आफूलाई उठाइरहनुपर्ने र परिष्कृत गर्नुपर्ने आवश्यकतालाई स्वीकार गर्छ । यस परिप्रेक्ष्यमा बीसौँ शताब्दीमा प्राकृतिक विज्ञानले जुन उँचाइ हाँसिल गरेको छ , त्यसको संश्लेषण गरेर द्वन्द्ववादका थप नयाँ नियमहरु विकास गर्नुपर्ने र पुराना नियमको समीक्षा गर्नुपर्ने चुनौती विश्वभरिका द्वन्द्ववादीहरु सामुन्ने छ ।

अहिले पूँजीवादी दार्शनिकहरु के हल्ला मच्चाइरहेका छन् भने , बीसौँ शताब्दीका बैज्ञानिक आविष्कारहरुले द्वन्द्ववादका नियमहरुलाई म्याद नाघेको ओखतीझैँ व्यर्थको र असान्दर्भिक बनाएका छन् । अब द्वन्द्ववाद पुरानो कुरा भैसकेको छ । उनीहरुको प्रचारबाट प्रभावित भएर कतिपय माक्र्सवाद पक्षधर बुद्धिजीवीहरुले समेत यो कुरा उठाउन थालेका छन् । उनीहरुको भनाइअनुसार प्राकृतिक विज्ञान , इलेक्ट्रोन , प्रोटोन र न्यूट्रनबाट क्वार्कसम्म , कण र तरंगको सिद्धान्तसम्म पुगिसकेपछि , सापेक्षताको सिद्धान्त र क्वाण्टम सिद्धान्तको विकास भइसकेपछि द्वन्द्ववादका नियमहरुको कुनै सान्दर्भिकता बाँकी रहेको छैन । उनीहरु भनिरहेछन् – जब संसारका सारा पदार्थहरु कण र तरंगहरुद्वारा बनेका छन् भने पदार्थमा विपरीत पक्षबीच द्वन्द्व नै कहाँ बाँकी छ र द्वन्द्ववाद सान्दर्भिक हुने ?

त्यसैले अहिलेको मुख्य प्रश्न के हो भने, के द्वन्द्ववादका नियमहरू बीसौं शताब्दीका बैज्ञानिक आविष्कारहरूको कारणले बेठिक सावित भएका छन् ?

हो, द्वन्द्ववादका नियमहरू पछिल्लो वैज्ञानिक आविष्कारका आधारमा बेठिक र अपूर्ण ठहरिन्छन् भने सहजतापूर्वक त्यसलाई स्वीकार्ने र परिस्कृत गर्ने ल्याकतचाहिं राख्छ । के पुँजीवादी दार्शनिकहरूले हल्ला गरे जस्तै द्वन्द्ववादका तीन नियमहरु वास्तवमै थोत्रा सावित भएका छन् त ?

आउनुहोस् , यसपटक हामी यसबारे संक्षेपमा चर्चा गरौँ ।
द्वन्द्ववादका तीनवटा नियमहरुमध्ये एंगेल्सले प्रस्तुत गरेको क्रमबद्धताअनुसार पहिलो नियम हो – परिमाणको गुणमा र गुणबाट परिमाणमा हेरफेरको नियम ।

यो नियमको सार कुरो के हो भने प्रकृति र समाजमा हरेक वस्तु हेरफेरको प्रक्रियामा छन् , हरेक वस्तुको हेरफेर हुने आफ्नै निश्चित ढंग छ , हरेक वस्तुमा गुणात्मक हेरफेर त तब मात्रै हुन्छ , जब त्यसमा पदार्थ वा गतिको मात्रामा थप या घट हुन्छ , अन्यथा गुणात्मक हेरफेर असम्भव छ । प्रकृतिमा जे जति गुणात्मक रुपले भिन्न वस्तुहरु छन् , ती सबै या त रासायनिक वा पारमाणविक संरचनाको भिन्नताले गर्दा छन् या गतिको रुपको मात्राको भिन्नताले गर्दा । मात्राको भिन्नताले एउटा निश्चित विन्दुमा गुणात्मक हेरफेर पैदा गर्ने मात्र होइन , गुणात्मक हेरफेरले पनि मात्रात्मक हेरफेरलाई गतिवान् र तीब्र बनाउँछ । यही अर्थमा परिमाणको गुणमा र गुणबाट परिमाणमा हेरफेरको नियम भनिएको हो ।

के इलेक्ट्रोन , प्रोटोन र न्युट्रन पत्ता लागिसकेको अवस्थामा पदार्थको परमाणुभन्दा पनि सुक्ष्म रुप तरंग , कण अथवा क्वार्क पत्ता लागिसकेको स्थितिमा यो द्वन्द्ववादको नियम अझै सान्दर्भिक छ ?

हो , माक्र्स र एंगेल्सको जीवनकालसम्म परमाणुलाई पनि विभाजन गर्न सकिन्छ भन्ने तथ्य पत्ता लागिसकेको थिएन । त्यतिन्जेलसम्म डाल्टनको यो सिद्धान्त विश्वभरि हावी थियो कि सबै पदार्थ परमाणुद्वारा बनेका छन् , पदार्थको सबैभन्दा सुक्ष्म रुप परमाणु हो र परमाणु अविभाज्य छ । तर जुन वर्ष एङ्गेल्सको मृत्यु भयो , सन् १८९५ मा विश्वको पारमाणविक भौतिकशास्त्रमा कायापलट ल्याउने वैज्ञानिक आविष्कार भयो । जर्मन भौतिकशास्त्री कोनराड रोन्टजेनद्वारा एक्स–रे को आविष्कार ।
त्यसको एक वर्ष पछि फ्रान्सिसी भौतिकशास्त्री हेनरी वेकवेरलद्वारा अर्को एउटा युगान्तकारी आविष्कारको घोषणा भयो – युरेनियम रेडियो–एक्टिभिटीको आविष्कार ।

सन् १८९७ मा ब्रिटिश भौतिकशास्त्री जे जे थम्सनले विश्वमा पहिलो पटक परमाणुको पनि टुक्रा हुन सक्ने तथ्य पत्ता लगाए । त्यो टुक्राको नाम उनले इलेक्ट्रोन राखे । यो नयाँ ज्ञानबाट पदार्थको सबैभन्दा पुरानो रुप परमाणु भन्ने धारणामा क्रान्ति आयो । परमाणुभन्दा पनि सानो कणसमेत अस्तित्वमा छ भन्ने पत्ता लाग्यो । सन् १८९८ मा पोलिस वैज्ञानिक मेरी क्युरी र उनका फ्रान्सिसी श्रीमान् रसायनशास्त्री पेरी क्युरीले अर्को अत्यन्त महत्वपूर्ण आविष्कार गरे – रेडियम र पोलोनियमको रेडियो–एक्टिभिटीको आविष्कार । एङ्गेल्सको मृत्युपछि उन्नाइसौँ शताब्दीको अन्तिम पाँच वर्षको अवधिमा गरिएका यी चारवटा वैज्ञानिक आविष्कारले पदार्थ र परमाणुसम्बन्धि त्यतिखेरसम्मको सम्पूर्ण सोचमा ठूलो क्रान्ति ल्यायो ।

परमाणुभन्दा पनि सानो कण इलेक्ट्रोन पदार्थको सबैभन्दा सानो रुपका रुपमा रहेको थाहा भएपछि पुँजीवादी दार्शनिकहरुले हल्ला मच्चाए अब पदार्थ लोप भयो , पदार्थ नै लोप भए पछि भौतिकवाद असान्दर्भिक भयो भनेर । लेनिनले सन् १९०८ सम्मको वैज्ञानिक आविष्कारलाई दही मथनी गर्दै ती दार्शनिकहरुलाई के जवाफ दिनुभयो भने , इलेक्ट्रोनको आविष्कार हुँदैमा पदार्थ नै लोप भयो भन्नु हरेक हिसाबले वाहियात कुरा हो । हो , इलेक्ट्रोनको आविष्कारपछि जुन सिमामा हामीले पदार्थलाई अहिलेसम्म थाहा पाउने गरेका थियौँ , त्यो सिमा अर्थात् परमाणु नै पदार्थको आधारभुत इकाइ हो भन्ने सिमा चाहिँ लोप भएको छ । पदार्थबारेको हाम्रो ज्ञान झन् झन् गहिराइतिर प्रवेश गरेको छ । पदार्थको पहिलेका विशेषताहरु परमाणु विभाज्य र परिवर्तनशील छैन भन्ने धारणाहरु अब लोप भएका छन् । परन्तु अहिले पत्ता लागेको नयाँ कण इलेक्ट्रोन पनि त पदार्थकै अहिलेसम्म थाहा पाइएको सबैभन्दा सुक्ष्म रुप हो । भरे विज्ञानले त्यो भन्दा पनि सुक्ष्म कण पत्ता लगाउला । त्यतिखेर पनि पदार्थ लोप भएको हुँदैन , जुन सिमामा पदार्थलाई त्यतिबेलासम्म थाहा पाउने गरिएको थियो , त्यो सिमा मात्र लोप भएको हुनेछ । पदार्थको मुख्य गुण त अविभाज्य हुनु , अपरिवर्तनशील हुनु होइन , पदार्थको मुख्य विशेषता वा गुण त वस्तुगत यथार्थका रुपमा अस्तित्वमा रहनु , मान्छेको मन , चेतना वा विचारभन्दा बाहिर स्वतन्त्र रुपले अस्तित्वमा हुनु र मनमा त्यो प्रतिबिम्बित हुनु हो । ( हेर्नुहोस् लेनिन, ःMaterialism and Empirio Criticism, Foreign Languages Press, Peking 1976 , पृष्ठ ३११)

लेनिनकै जीवनकालमा , सन् १९११ मा प्रत्येक परमाणुको केन्द्रिय नाभी (Central Nucleus) हुन्छ र सूर्यलाई ग्रहहरुले परिक्रमा गरेजस्तै त्यही नाभीलाई इलेक्ट्रोनले फनफन्ती परिक्रमा गर्छ भन्ने कुरा न्युजिल्यान्डका वैज्ञानिक रदरफोर्डले पत्ता लगाए । उनै रदरफोर्डले सन् १९२० मा के पत्ता लगाए भने प्रत्येक परमाणुको नाभीमा हाइड्रोजन नाभी साइजका कणहरु हुन्छन् र यी कणहरुलाई उनले प्रोटोनको नाम दिए । रदरफोर्डको आविष्कारले पदार्थ र परमाणु सम्बन्धि धारणामा ठूलो हेरफेर ल्यायो । उनले के पत्ता लगाए भने प्रत्येक परमाणुको ज्यादाजसो पिण्ड नाभीमा केन्द्रित हुन्छ र नाभीमा पोजिटिभ चार्ज भएका प्रोटोनहरु हुन्छन् । नाभीको बाहिर फन्फन्ती घुम्ने इलेक्ट्रोनमा चाहिँ नेगेटिभ चार्ज हुन्छ । सन् १९३२ मा ब्रिटिश भौतिकशास्त्री जेम्स चाडविकले अझ थप के पत्ता लगाए भने प्रत्येक परमाणुको नाभीमा पोजिटिभ चार्ज भएको प्रोटोन मात्र होइन , न्युट्रल चार्ज भएको न्युट्रन नामक कण पनि हुन्छ । यही न्युट्रनमा प्रोटोनमा भन्दा ज्यादा पिण्ड केन्द्रित हुन्छ । यही न्युट्रोन हो , जसले एकथरी प्रोटोनले अर्को थरी प्रोटोनलाई नाभीबाट बाहिर घचेटेर उछिट्टिन नदिएर सन्तुलनमा राखेको हुन्छ ।

लेनिनले यी युगान्तकारी वैज्ञानिक आविष्कारहरुलाई संश्लेषण गर्न भ्याउनु भएन । लेनिनको मृत्युभन्दा आठ वर्षपछि मात्र न्युट्रन पत्ता लागेकोले उहाँले त्यसलाई संश्लेषण गर्न सक्ने कुरै थिएन ।

मूल्याङ्कन मासिक वर्ष १८ , पूर्णाङ्क ८० असोज २०५७ मा प्रकाशित


प्रकाशित : २०७८ मंसिर ७, मंगलवार ०२:३६ गते

ताजा समाचार