काठमाडौं । नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईमाथि ३ विकेटको जित रचेको छ ।
यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी गरेको छ । शुक्रबार हुने निर्णायक खेलले शृंखलाको विजेता टुंगो लगाउनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो ।
त्रिवि मैदान कीर्तिपुरमा युएईले दिएको १९२ रनको लक्ष्य ७ विकेट गुमाएर भेट्टाउँदा मध्यक्रमका कुशल भुर्तेल, गुल्सन झा र आरिफ शेखले संहालिएर ब्याटिङ गरे । ४७।५ ओभरमा सोमपाल कामीले चौका प्रहार गरी नेपाललाई महत्वपूर्ण जित दिलाएका हुन् ।
थोरै लक्ष्य पछ्याएको नेपालको सुरुवाती तीन विकेट सस्तैमा गुमाउँदा दवावमा परेको थियो । पहिलो खेलमा अर्धशतक बनाएका अर्जुन साउद पहिलो ओभरमै रनको खाता नखोली आउट हुँदा अर्का ओपनर आसिफ शेखले पनि ६ रनमात्र बनाउन सके ।
कप्तान रोहितकुमार पौडेलले लगातार दोस्रो खेलमा रन बनाउन सकेनन् । उनी ८ रनमै युएईका रोहन मुस्तफाबाट एलबीडब्यूको शिकार बने । तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले ५९ बलमा ४ चौकासहित २६ रन बनाएर पारी संहाल्ने प्रयास गरेका थिए ।