अल विदा प्रबिन भाई !


राजकुमार श्रेष्ठ

आर्यघाटमा जल्नेहरु रुदैनन्, जलाउनेहरु रुन्छन्, किनभने जलाउनेहरु जिउँदैछन् । वास्तवमा आर्यघाटमा जल्नेहरु जल्दैनन्, जलाउनेहरु जल्छन । आर्यघाटमा प्रबिन थापाहरु जल्दैनन्, प्रबिन थापाहरुका जिउँदा आमाहरु जल्छन् । पलपल जल्छन् । जीवनभर जल्छन् । गरिबीले परदेश पुगेका नविनजस्ता प्रबिनका दाजुहरु जल्छन्, जसले आफ्ना मुटुका टुक्राजस्ता भाइहरुलाई अन्तिम विदाइ  गर्नसम्म पाउँदैनन् । यसरी आफ्ना प्रियहरुलाई जलाएर मुटुहरु जलाउँदै बाँच्नुजतिको कठिन अरु केही हुँदैन । तर बाँच्नेहरुसँग सहने मात्रै विकल्प बाँकी रहिदिन्छ ।

आर्यघाटको चितामा आगोको ज्वालासँगै प्रबिन भाईको पार्थिव शरिर जलिरहेको थियो, तर उसलाई पोलिरहेको थिएन । पोलिरहेको त उसको आमालाई थियो । पोलिरहेको त उसको दिदीबहिनीलाई थियो । पोलिरहेको त दाजुभाइलाई थियो । पोलिरहको त उसको प्रेम र सम्झना हृदयभरी संगालेर राखेका आफन्तहरुलाई थियो । साथिसंगीहरुलाई थियो ।

आखिर जिउँदै हुनेहरुले त रहेछ सहन सक्नेभन्दा पनि धेरै सहनु पर्ने । आजसम्म यो आर्यघाटमा कति जिन्दगीहरु जले, कसैसँग हिसाब छैन । जीवन सबैका लागि प्रिय हुन्छ, मृत्यु सबैका लागि भयावह हुन्छ । जब बैसालु उमेरका प्रबिनहरु थुप्रै अधुरा सपनाहरुसहित आर्यघाटका चिताहरुमा जलिरहेका हुन्छन्, त्यतिबेला प्रबिनका आमाहरुलाई मृत्युभन्दा जीवन कठिन बनिदिन्छ ।

यो निष्ठूर दुनियाँमा सबैको जाने बाटो त्यही हुँदाहुँदै पनि कलिलै उमेरमा विदा हुनेहरुलाई स्वीकार गर्न निकै कठिन हुनेरैछ । २२ वर्षकै कलिलो उमेरमा भएको प्रबिन भाइको असामयिक निधनले हामी सबै मर्माहत छौं । गोठगाउँले एउटा सुन्दर छोरा गुमाएको छ । देशले ऊर्जाशील युवा गुमाएको छ । प्रबिन भाई तिमी हाम्रो सम्झनामा बाँचिरहने छौं । ममतामयी आमा, प्रिय भाई नविन थापालगायतका सम्पूर्ण आफन्तहरुमा समवेदना ! कलिलो उमेरमै हामी सबैलाई रुवाएर दुनियाँबाट विदा भयौ । अल विदा प्रबिन भाई !


प्रकाशित : २०७८ कार्तिक २६, शुक्रबार १६:०० गते

ताजा समाचार