सच्चा कम्युनिस्टहरुको एकता अनिवार्य छ


रामबहादुर तामाङ, युवा नेता, नेकपा (माओवादी केन्द्र)

नेपालको कम्युनिस्ट आन्दोलनले ७२ वर्षको लामो यात्रा गरिसकेको छ । विश्वबाट ओरालो लाग्दै गएको कम्युनिस्ट आन्दोलन नेपालमा भने उर्वर रुपमा फैलिरहेको छ । अहिले पनि नेपालको राजनीतिको मूल धारका रुपमा कम्युनिस्ट पार्टी नै रहेको छ । मुद्धाका हिसाबले, राजनीतिक नेतृत्वाको हिसाबले र जनताको विस्वासको हिसाले पनि नेपालमा कम्युनिस्ट पार्टीहरुको प्रभाव सबैभन्दा धेरै छ ।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएको थियो । स्थापनाकाल देखि नै कम्युनिस्ट पार्टीले निरंकुशता विरुद्धको संघर्षको जेहाद छेँड्दै आएको छ । पञ्चायती शासन विरुद्धको संघर्षमा कम्युनिस्ट पार्टी कै भूमिका निर्णायक रहेको थियो । त्यसैगरी निरंकुश राजतन्त्रात्मक व्यवस्थालाई फ्याकेर देशमा गणतन्त्र ल्याउने आन्दोलनको मुख्य नेतृत्व माओवादी पार्टीले गरेको थियो । तत्कालिन नेकपा (माओवादी), अहिलेको माओवादी केन्द्रको नेतृत्वमा भएको शशक्त जनयुद्धकै कारण नेपालमा गणतन्त्र आएको थियो । अहिले कतिपय मानिसहरुलाई गणतन्त्र सित्तैमा आएजस्तो लाग्छ । गणतन्त्र ल्याएर के भयो र भन्नेहरु पनि छन् । तर यही गणतन्त्र ल्याउन १७ हजार योद्धाहरुले बलिदान गरेका थिए । हजारौंले बेपत्ता बन्नुपरेको थियो । हजारौं घाइते र अपाङ्ग बन्नुपरेको थियो । यो सानो दुख र बलिदानले आएको गणतन्त्र होइन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

हामीले नेपालको कम्युनिस्ट आन्दोनलको समिक्षा गर्दा यसका थुप्रै सकारात्मक र नकारात्मक पक्षहरु छन् । यो हरेक क्षेत्रमा हुन्छ र राजनीतिमा झनै हुन्छ । त्यसलाई स्वीकार गर्दै विगतका गल्तीहरु हटाउँदै कम्युनिस्ट आन्दोलनलाई संगठित गर्दै जानु नै आजको मुख्य कार्यभार हो ।

नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट भनेको नेकपामाथि आम नेपाली जनताको ठूलो भरोसा थियो । जनताले भरोसा गरेर नै दुईतिहायी नजिक जनमत दिएका थिए । तर केपी ओलीजस्ता सन्की शासकका कारण संगठित हुँदै गएको कम्युनिस्ट आन्दोलन पुन विभाजित बन्न पुगेको छ । यो असाधारण घटनाको गहन समिक्षा गर्दै, त्यसका कमजोर कडिहरुको पहिचान गर्दै पुन सच्चा कम्युनिस्ट शक्तिहरुको ध्र्रुविकिरण आजको आवश्यकता बन्न गएको छ । कम्युनिस्ट पार्टीबीचको एकता र धु्रविकरणको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गर्नुपर्दछ । किनभने वास्तवमा माओवादी केन्द्र नै कम्युनिस्ट आन्दोलनका मूलप्रवाह हो । विचार र नेतृत्व दुवै हिसाबले माओवादी केन्द्र नै कम्युनिस्ट आन्दोलनको केन्द्र हो ।

माओवादी केन्द्रकै नेतृत्वमा मात्र तत्काल यो मुलुकको सुन्दर वर्तमान र भविस्य कोर्न सकिन्छ । यो यथार्थ हो । यो पार्टीले राष्ट्रिय पुँजीको निर्माण गरेर सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल र समाजवाद हुँदै साम्यवादसम्मको यात्रा तय गरेको छ । अहिले मुलतः ओली प्रवृतिका कारण कम्युनिस्ट आन्दोलन विकृत बनेको छ । यसरी विकृत बनेको कम्युनिस्ट आन्दोलन पुनः माओवादी केन्द्रको नेतृत्वमा फेरि संङ्लीदै छ ।

यहाँ कम्युनिस्ट पार्टीहरु विचारको समस्याले गर्दा कमजोर र दूषित भएको हो कि भन्ने तर्क पनि गर्दछन् । तर समस्या विचारको हैन, लक्ष्य, उद्देश्य र समाजवादी यात्राप्रतिको समर्पणको हो । समस्या नेताहरुको कार्यशैलीमा हो ।

कम्युनिस्ट नेताहरु विस्तारै जनमतको दुरुपायोग गरेर अभिजात वर्गमा फेरिने क्रम बढिरहेको छ । माओवादी केन्द्रले यहीँनिर निर्मम भएर सुद्धिकरण अभियान चलाउँदै जानुपर्ने देखिन्छ । आफूभित्र मौलाउँदै गएको वेथिति विरुद्ध लड्दै यसलाई देशको एक निर्विकल्प शक्तिका रुपमा स्थापित गर्नु अनिवार्य बनेको छ । यसो गरेर मात्र देशले निकास प्राप्त गर्नसक्दछ । अन्यथा देश थप भद्रगोलमा जाने निश्चित छ । यो विषय आम नागरिकले हगन रुपमा लिन जरुरी छ ।

अहिले विश्व परिवेश फेरिएको छ । माक्र्सवादी विचार र कार्यक्रम जस्ताको जस्तै लागु गर्न सकिंदैन । त्यसलाई विकास गरेर नेपालको परिवेश र आवश्यकताका आधारमा परिमार्जन गर्दै जानुपर्दछ । त्यसकारण कतिपय नीति तथा कार्यक्रमहरु परिमार्जन गर्न आवश्यक छ । त्यो दिशामा माओवादी केन्द्रका नेतृत्व लागिरहेकै छन् । तर आफ्नो ठाउँबाट हामी सबैले प्रयत्न गर्नुपर्ने हुन्छ ।

अर्को विषय, माओवादी केन्द्रविरुद्ध यतिवेला चौतर्फि विरोध र हमला छ । प्रतिक्रियावादी शक्तिहरुलाई यो पार्टी जनताबाट चुनिएर पहिलो भएर आउँला कि भन्ने पिर छ । तसर्थ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संकटमा हैन शंकामा चाही छ । यस्ता तमाम भ्रमहरुलाई चिरेर माओवादी केन्द्र नेपालको एक नम्बर पार्टी हुन्छ । अब युवा नेताहरुले माओवादी केन्द्रले संकल्प गरेको अग्रगामी बाटो हुँदै राष्ट्रिय पुँजी निर्माण गरि सामाजिक न्यायसहितको समृद्ध नेपाल र समाजवाद हुँदै साम्यवादसम्म समाजलाई लैजान सक्नुपर्छ । यो भूमिका युवापुस्ताको काँधमा आएको छ । माओवादी केन्द्रका युवा नेताहरुले यो जिम्मेवारी उठाउने अदम्य सहास गर्नुपर्ने समय आइसकेको छ ।

अन्तमा, नेपालको कम्युनिस्ट आन्लदोलनमाथि आम नागरिकको एउटा गम्भीर र जाहेज प्रश्न छ– कम्युनिस्टहरु किन एकजुट हुनसक्दैनन् ? यो प्रश्न आम नागरिकको तर्फमा सहि प्रश्न हो । यसको उचित जवाफ हामी सबैले दिनुपर्छ । तर यसो हुनुमा कम्युनिस्ट पार्टीका नेताहरु दलाल पुँजीपतिकै नाइके भएर हो । सिंगो विश्व नै पुँजीवादी भएका कारण सच्चा कम्युनिस्ट यो व्यवस्थाका लागि दुस्मन बन्न गएको छ, जसका कारण देशी विदेशी शक्तिले कम्युनिस्टहरुलाई एकढिका हुन दिइरहेको छैन । माओवादी केन्द्रको नेतृत्वमा निरन्तर एकताका प्रयासहरु भइरहेका छन् ।

अहिले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैँ कम्युनिस्टहरुबीच एकताका लािग लागिरहुन नै भएको छ । उहाँकै पहलका कारण दुई कम्युनिस्ट पार्टीबीच एकता भएर नेकपा बनेको थियो । तर पार्टीभित्रैका खराब प्रवृतिका नेताहरुका कारण र बाह्य शक्तिको कारण विभाजित हुन पुग्यो । यो क्रम निरन्तर चलिरहको छ । ०६२ –०६३ को आन्दोलनपछि आएको राजनीतिक परिवर्तले माओवादीमाथि आम जनताको ठूलो आशा थियो । अब देश बन्छ भन्ने विस्वास जनतामा थियो । तर माओवादी विरुद्धको घेराबन्दीमा दुनियाँ लाग्यो र माओवादीलाई फुटाएर छोडियो । अन्यथा देशले आजसम्म गति लिइसक्ने थियो ।

अब ढिला नगरी आम कम्युनिस्ट आस्था राख्नेहरुहरु आम युवापुस्ता माओवादी केन्द्रमा संगठित हुन आवश्यक छ । त्यसैगरी सम्पूर्ण कम्युनिस्टहरु माओवादी केन्द्रको विचार, दर्शन, राजनीति, लक्ष र कार्यक्रमको आधारमा एकीकरण र धुविकरण आवश्यक छ । कतिपय सन्दर्भमा विचार राजनीतिका विषयमा समझदारी गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । कसैले पनि मेरो गोरुको बाह्रै कक्का नगरी ओलीप्रवृतिलाई छाडेर कम्युनस्टहरुबीचको एकताको निर्णायक पहलकदमी माओदी केन्द्रले लिनुपर्छ ।


प्रकाशित : २०७८ कार्तिक २९, सोमबार ०२:५३ गते

ताजा समाचार