‘हामी प्रचण्डको कमाण्डमा गरिबी विरुद्धको युद्ध लड्न चाहन्छौं’


संजय थापा, उपाध्यक्ष
नेकपा माओवादी केन्द्र, जाजरकोट काठमाडौं समन्वय समिति

अध्यक्ष कमरेड प्रचण्ड,
युवापुस्ताको तर्फबाट अभिवादन !

म एउटा देशमै केही गर्ने सपना बोकेर संघर्ष गर्दै गरेको युवा हुँ । परिवारले तेरो यो उमेर राजनीति गर्ने उमेर हैन, विदेश जाँ भन्दौ गर्दा म भने परिवारको चाहना विपरित राजनीतिमा होमिएको छु । मैले यो निर्णय लिएर सहि गरे कि गलत त्यो समयले नै बताउने छ । तर मैले यो निर्णय तपाईबाटै प्रभावित भएर लिएको हुँ । यदि तपाईहरु पनि हामीजस्तै युवा हुँदा देशका लागि नसोचेर विदेश जाने, पैसा कमाउने तिर लाग्नु भएको भए आज मुलुकको अवस्था के हुन्थ्यो होला ? भन्ने प्रश्न आफैप्रति गरेर म धेरै घोत्लिएँ । देशका लागि केही गने अठोट लिएँ र माओवादी केन्द्रको राजनीतिमा सक्रिय भएँ । मेरो एउटै विस्वास हो प्रचण्डको भिजन र लिडरसिपमा यो देशको मुहार फेर्न सकिन्छ । तर हामीजस्ता हजारौं युवापुस्तालाई तपाईको राजनीतिक योजनामा कसरी संगठित गर्नसकिन्छ भन्ने गुरुयोजना तपाईले बनाउन अनिवार्य छ । त्यो गरिएन भने माओवादी युवाहरुको आकर्षण र भरोसाको पार्टी कसरी बन्न सक्छ ?

यतिवेला हामीसँग ऊर्जा छ । हजारौं चुनौतिहरुको सामना गर्नसक्ने सहास छ । केही गर्ने सपनै सपना छ । युवाहरुको सपनालाई बुझ्ने र संगठित गर्नसक्ने युगका नेता, राष्ट्रनायक प्रचण्ड छ । अनि तपाईले नेतृत्व गर्नुभएको पार्टी माओवादी केन्द्र छ । देशका आम युवाहरुले ढुक्क भएर यसरी विस्वास गर्न सकोस् । माओवादी केन्द्रलाई अब त्यस्तो पार्टी बनाउन आवश्यक छ । त्यसका लागि हामीजस्ता युवाहरुलाई तपाईले पार्टीको आधारको रुपमा स्पेश दिन जरुरी छ, युवाहरुलाई समृिद्धको युद्धमा भर्ती गर्न आवश्यक छ । हिजो तपाईले तत्कालिन राज्यसत्तासँग लड्ने जनमुक्ति सेना बनाउनुभयो । अब गरिबी, अविकास, अशिक्षा र भ्रष्टचार विरुद्ध लड्ने नयाँ युगको नयाँ सेना बनाउनुस् र लाखौं युवाहरुलाई भर्ती गर्नुस् । म अध्यक्षसमक्ष यो निवेदन गर्न चाहन्छु ।

हामी प्रचण्ड युगमा जन्मिएका युवाहरु हौं । हामीभन्दा अघिल्लो पुस्ताले तपाईको कमाण्डमा भएको जनयु्द्धमा बलिदान गर्नुभयो । वेहिसाब त्याग गर्नुभयो । उहाँहरुकै बलिदान र त्यागका कारण देश नयाँ युगमा प्रवेश गर्यो । यसमा हाम्रो पुस्ता निकै गौरवान्वित छौं, जसका कारण हाम्रो पुस्ताले बन्दुक बोकेर युद्धको मैदानमा जान परेन । तर तपाईकै काण्डमा एउटा अर्को युद्ध लड्न चाहन्छौं । त्यो युद्धको विकास र समृद्धिको युद्ध । हाम्रो पुस्ता प्रविधि सिकेको, प्रविधि जानेको पुस्ता हो । हामी साँच्चै विज्ञान–प्रविधिको हतियार बोकेर गरिबी विरुद्धको युद्ध लड्न चाहन्छौं । कर्णालीका जनताको दुख सधैका लागि अन्त गर्न चाहन्छौं । हामीलाई त्यो युद्ध लड्ने सेनाका रुपमा माओवादी केन्द्रले भर्ति गरोस् । तपाईले त्यसको योजना बनाउनुहोस् । तपाईलाई सम्रोसँग थाहा छ कि लाखौं युवाहरुलाई परिचालन नगरि यो देशको आर्थिक युद्ध जित्न सकिन्न । आम नागरिकका समृद्धिको सपना साकार पार्न सकिन्न ।

नेपाली जनताले यो युगमा सबैभन्दा धेरै कसैबाट आशा र भरोसा गरेको थियो भने त्यो तपाईँ नै हुनुहुन्थ्यो । तपाईको एक आदेशमा हजारौं युवा फौज बलिदानका लागि तयार बनेका थिए । उहाँहरुले तत्कालिन राज्यसत्ताको रक्षाका लागि खटिएका सेना–प्रहरीको बन्दुग खोसे । छातिमा गोली थापे । मुलुक देशका होनाहार सहासी योद्धाहरुको रगतबाट रंगियो । सहिद नभएको कुनै गाउँ भएन । सहिदहरुको चिहान नभएको कुनै खोल्सा भएन । योद्धाहरुले नटेकेको कुनै गोरेटोहरु भएनन् । सिंगो देश मुक्तिको सपना देखेर उठ्यो । मृत्यु जितेर परिवर्तनको युद्धमा होमियो । यतिधेरै उथलपुथलकारी युगको कमण्डर तपाईं नै हो ।

हामी नयाँ पुस्ता हौं । तपाईले कमाण्ड र कासन गरेको १० वर्षे जनयुद्धमा हामी लड्न पाएनौं । त्यो वेलाका तपाईका मुक्ति योद्धाहरु हाम्रै उमेर थिए । हाम्रै उमेरका योद्धाहरुले लडेकै कारण जनयुद्धले उथलपुथल ल्याएको थियो । यो सानो भूगोलमा भएको युद्धले सिंगो विश्वमा तरंग ल्याएको थियो । तर अब तपाईंका नौ जवान योद्धाहरु ४० हाराहारीका पुस्ता बनिसकेका छन् । उहाँहरुमा एक प्रकारको अनौठो थकान छ । व्यवस्थापनको तनाव छ । पढ्दो राजनीतिक शिथिलता छ । त्यसकारण माओवादी केन्द्रलाई फेरि जनयुद्धकै जस्तो गडगडाहड भएर तीव्रगतिमा बहसने नदीको प्रवाहमा लैजान हजारौं युवापुस्तको भर्ति गर्ने योजनाको आवश्यकता छ ।

श्रदेय अध्यक्ष कमरेड, युगका नायक कमरेड, माओवादी केन्द्रमा जनयुद्धमा जस्तै उथलपुथल ल्याउने हाम्रो पुस्ताका युवाहरुको हजारौं जमात आउने कसरी बनाउन सकिन्छ ? यो मुख्य चुनौति हो । माओवादी पार्टीसँग नेता छ तर कार्यकर्ता छैन । माओवादी पार्टीसँग युवापुस्तालाई अकर्षण गर्ने नीति तथा कार्यक्रम छैन । युवाहरुलाई प्रोत्साहन र प्रशिक्षित गर्ने संस्कृति छैन । युवाहरुलाई राजनीतिक नेतृत्वमा विकास गराउने मेकानिज्म छैन । युवाहरुको आकर्षण नभएको पार्टीको भविष्य स्वतः संकटमा हुन्छ । त्यसकारण अध्यक्ष कमरेडबाट हामीजस्ता युवापुस्ताहरुको अपेक्षा छ कि पार्टीले युवाहरुलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याउन सकोस् ।

वास्तवमा सिंगो देश माओवादीकै अजेण्डा वरिपरि छ । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, लोकतान्त्रिक गणतन्त्र आदि इत्यादी माओवादी कै ऐजेण्डा हो । हाम्रो संविधानले समाजवाद उन्मुख समाज व्यवस्थाको परिकल्पना गरेको छ । त्यो माओवादी जनयुद्ध कै देन थियो । सिंगो देश परिवर्तन हुन्छ, आर्थिक जीवनले काँचुली फेर्छ । तर आज पनि कर्णालीका जनताको दुख फेरिएको छैन । उनीहरुको थाप्लोबाट नाम्लोको साथ टुटेको छैन ।

दुरदराजका बालबालिकाहरुले अहिले पनि पढ्न पाइरहेका छैनन । युवा पुस्तामा एक प्रकारको विग्रह छ, वैचैनी छ । दिशा हिनता छ । मेचीदेखि महाकालिसम्म हजारौं युवाहरु जुवा, तास र रक्सीविना बाच्न नसक्ने बन्दै गएका छन् । अलिकति पढेलेखेका युवाहरु हरेक लाम लागेर बागबजारका विदेश पठाउने कन्सल्टेन्सी धाइरहेका छन् । यदी यो परिस्थिति यस्तै रहिरह्यो भने देश अबको एक दशकमा युवाविहिन हुने खतरा देखिन्छ । राजनीतिक पाटीहरुमा चालिस वर्षमुनिका नेताकार्यकता शिला खोज्नुपर्ने हुन्छ । यस्तो विकराल अवस्थाबाट देशलाई जोगाउन र नयाँ मार्गदर्शन प्रदान गर्न सक्ने डाइनाकिम नेता तपाई नै हुनुहुन्छ । यदि तपाईबाट पनि युवाहरुको आशा र भरोसा टुट्यो भने मुलुक उन्नती प्रगती निकै कमजोर बन्ने निश्चित छ । त्यसका लागि हामी युवाहरुको अपेक्षा के छ भने तपाईले माओवादीभित्र अण्डर थट्टीनका युवाहरुलाई पार्टीको आधारका रुपमा स्थापित गर्ने नीति र कार्ययोजना ल्याउनुहुने छ ।

अहिले माओवादी केन्द्रका पार्टी कमिटीहरुमा कम्तीमा गाउँकमिटीहरुका युवापुस्तालाई प्राथमिकतासाथ नेतृत्वमा ल्याउनै पर्छ । त्यसो गरेर मात्र पार्टीको आधार निर्माण हुन्छ । पार्टीको आधार बलियो हुन्छ । अहिले माओवादी केन्द्र छाता आकारको पार्टी बन्दै गएको छ । नेताहरुको संगठनजस्तो बन्दै गएको छ । १५ वर्षअघिको युद्ध लडेको ब्याज खाने पार्टी बन्दै गएको छ । युवाहरुले नेतृत्वको दावी गर्यो भने तिमीले जनयुद्ध लडेका थियौं भनेर सोधिन्छ । जनयुद्धपछि जन्मिएका एउटा बच्चा आज सेनामा भर्ती हुन छाति नाप्न गइसकेको छ । अनि सधै जनयुद्ध लडेकाहरुलाई मात्र पार्टीमा अबसर दिने, नेतृत्वमा लाने र जनयुद्ध सकिएपछि नौजवान बनेका युवाहरुलाई निरुत्साहीत गरेर कसरी माओवादी पाहिलो पार्टी बन्न सक्छ ? सिंगो राजनीतिप्रति नै युवाहरुको वितृष्णा छ । त्यसमा पनि माओवादीप्रति युवाहरुको आकर्षण कमजोर देखिन्छ । यो सत्यतालाई कम्तीमा युगका नायक तपाईले स्वीकार गर्नुहुन्छ भन्ने विस्वास छ । यसको कारण युवाहरुलाई प्रोत्साहन गर्ने, नेतृत्वमा आउन अवसर सिर्जना गर्ने गुरुयोजना नभएरै हो ।

म २४ वर्षको युवा हुँ । मसँग राजनीतिको लागि अन्य विकल्पहरु पनि थिए तर मैले माओवादी नै किन रोजे भने माओवादी कै कारण देशमा यो परिवर्तन भएको थियो । म माओवादी भएको कमरेड प्रचण्डको गतिशीलता, भिजन, साहास सबै कुरा देखेर नै हो । तर संगठनमा बसेर काम गर्दै जादा युवाहरुलाई यो पार्टीमा टिक्न निकै कठिन रैछ भन्ने लाग्यो । हामीले अग्रजहरुबाट कुनै प्रशिक्षण पाउन सकेनौं । कुनै गाइडलाइन पाउन सकेनौं । अगाडि बढ्न खोज्नेलाई हातेमालो गरेर तान्ने संस्कृति हुनुर्ने थियो तर खुट्टा तानेर लगाउने विक्रिती देखियो । नताहरुमा जाँगर उत्साह हुनुर्नेमा अल्छि र लोसोपना देखियो । संगठनलाई कसरी क्रियाशील बनाउने भन्ने कुनै योजना देखिंदैन । युवाहरुलाई कसरी परिचालन गर्नेभन्नेमा पुरै अलमल छ । त्यसकारण हाम्रो पुस्तालाई एक पार्टीको आधारको रुपमा स्थापित गर्ने नीति तपाई लिएर आउनुस् । हामी युवाहरु तपाईको कमाण्डमा एक पटक देशमा विकास र समृद्धिको युद्ध लड्न चाहन्छौं । तपाईको योजना र कमाण्ड, हाम्रो जोस र जाँगरको संयोजन भयो भने फेरि एकपटक नेपालमा नयाँ उथलपुथल आउँछ ।


प्रकाशित : २०७८ पुष ३, शनिबार ०३:०२ गते

ताजा समाचार