शताब्दी पुरुष सत्यमोहन जोशीको निधन


संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको निधन भएको छ । उहाँलाई मुटु र प्रोष्टेटको समस्या थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
वि।सं। १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् । उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।
२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।
२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो । उनी राष्ट्रिय समाचार समिति र चिनियाँ रेडियोमा समेत आबद्ध थिए ।


प्रकाशित : २०७९ आश्विन ३०, आईतवार ०८:५० गते

ताजा समाचार