जनयुद्धको समयमा युद्धबन्दीहरुलाई सबैभन्दा धेरै यातना दिइएको भनेर चिनिने भैरवनाथ गणलाई मानव वधशाला भनेर पनि चिन्ने गरिन्थ्यो । जनयुद्ध लगेर देशकै पहिलो शक्तिका रुपमा उदाएको माओवादी पार्टी विस्तारै छिन्नभिन्न हुँदै गएसँग युद्धका घटनाहरुको चर्चा पनि हराउँदै गयो । नेपालको जनयुद्धबारे अध्ययन गर्न चाहनेहरुका लागि अहिले सामग्रीहरु भेट्न निकै मुस्किल छ । नयाँप्रिन्ट मिडियाले जनयुद्धका महत्वपूर्ण घटनाहरु र अनुभवहरु खोज्ने प्रयास गरेको छ । भैरवनाथ गणमा कसरी यातना दिइन्थ्यो भन्नेबारे एक ज्युँदा सहिद विरेन्द्र बस्नेतको अनुभव समेटेर बनाइएको सामग्री यहाँ प्रस्तुत गरिएको छ ।
राजकुमार श्रेष्ठ
…………………………………………………………………….
म भैरबनाथ गणको २२ नम्बर बन्दी
………………………………………………………………………..
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ
हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पर्हियाउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ
हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।
कृष्ण सेन ‘इन्छुक’
जनयुद्धका क्रममा जेल परेका हरेक माओवादी बन्दीहरुको साझा र अजम्बरी गीत हो यो । नेपालको जनयुद्धबारे सकारात्मक र नकारात्मक बहस अझै चलिरहेकै छ । यो भोलिको इतिहासमा पनि चल्ने नै छ । जनयुद्धमा लागेका योद्धाहरुलाई तत्कालिन शाही सत्ताले गरेको दमनको कथा जति लेखे पनि अधुरै हुन्छ । सम्पूर्ण जनयुद्धको अवधिमा राज्य तर्फबाट माओवादीमाथि गरिएको दमन र हत्यामा सबैभन्दा कठोर मानिएको यातना गृह हो– भैरवनाथ गण । भैरवनाथ गणमा तत्कालिन माओवादीका आस्थाका बन्दीहरुमाथि सेनाले गरेको अत्याचार निकै नै कहालिलाग्दो थियो, जुन शब्दहरुमा व्यक्त गर्न सकिंदैन ।
फिल्महरुमा हिरासतमा हिरोलाई दिइएको यातनाहरुको दृश्य हेर्दा यथार्थमा यतिसम्म त कहाँ हुन सम्भव छ र, यो त फिल्म हो नि भन्ने लाग्थ्यो । क्रान्तिकारी उपन्यासहरु पढ्दा उपन्यासका विद्रोही पात्रहरुलाई दिइएको यातनाको कथाले मन धेरै दुख्थ्यो । यस्तो लाग्थ्यो, यो त उपन्यास हो, उपन्यासकारले परकल्पना गरेर लेखेको । जब आफै सेनाको हिरासतमा परियो, त्यसपछि थाहा भयो कि फिल्ममा हिरोलाई दिइएको यानता, क्रान्तिकारी उपन्यासमा लेखकले व्याख्या गरेको यातना अपूर्ण रैछ । यथार्थ निकै भयावह हुने रैछ, जुन भैरवनाथ गणमा हामी माओवादी बन्दीहरुले भोग्यौं । यो त जस्ताको जस्तै शब्द र वृतचित्रमा कहाँ अनुवाद गर्न सकिने रैछ र ।
भैरवनाथ गणको यातना गृह हिटलरको ग्यास च्याम्वरभन्दा कम थिएन । त्यो यति निकृष्ट थियो कि जति भत्र्सना गरे पनि कमै हुन्छ । यहुदीहरुलाई हिटलरको ग्यास च्याम्वरभित्र हालेर मारिन्थ्यो । त्यहाँ पनि मर्न सजिलो त अवश्य थिएन । सायद यहुदीहरु ग्यास च्याम्बरभित्र छिटै मर्न पाउँथे तर भैरवनाथ गणमा माओवादी जनयुद्धका आस्थाका बन्दीहरुलाई हरेक क्षण मारिन्थ्यो । वेहोस हुनेगरी असह्य यातना दिइन्थ्यो । भैरवनाथ गण कहालिलाग्दो यातना गृह थियो, मानव बधशाला थियो ।
भैरवनाथका बन्दीहरुलाई ड्याम्म छातिमा गोली थापेर मर्ने सौभाग्य थिएन । यहाँ त मृत्युभन्दा कठिन यातनाको सामना गर्नुपथ्र्यो । शाहि सेनाले हामीलाई दिएको यातना हेर्न नसकेर केही जवानहरुले जागिरै छाडेर भागेका थिए ।
अन्धकारमा वितेका १९ महिना २० दिन
जनयुद्धको यात्रा निकै कठिन थियो । २०५९÷२०६० को वार्ता असफल भएपछि युद्ध अझै भयानक भएर गयो । युद्धविराम भंग भए लगत्तै म पुनः गिरफ्तारीमा परे । त्यो मेरो तेस्रो गिरफ्तारी थियो । यो गिरफ्तारी मेरो लागि निकै भयानक भयो । म कपनबाट गिरफ्तारिमा परेको थिएँ । मलाई हातमा हतकडी, आँखामा कालो पट्टी र खुट्टामा नेलसहित भैरवनाथ गणमा लगियो ।
भैरवनाथका हरेक दिन असह्य यातनाबाट बित्यो । कहिले कहीँ त यति धेरै यातना दिइन्थ्यो कि सहन नसकेर वेहोस भइन्थ्यो । सहन सक्नेभन्दा बढी यातना दिइन्थ्यो । मान्छे कतिसम्म निष्ठूर र निर्दही हुँदो रहेछ भन्ने कुरा मैले भैरवनाथ गणको हिरासतमा भोगेको थिए । हरेक दिन जस्तो कोहि न कोहि बन्दी कमरेडहरु शिवपुरीमा लगेर मारिन्थे । हरेक क्षण मृत्युको पर्खाइमा बित्थ्यो । भैरवनाथ गणबाट बाँचेर फर्किन पाइन्छ भन्ने कत्ति पनि लाग्दैन थियो । तर, यस्तो अवस्थामा पनि निरास कहिल्यै भइएन । कस्तो अनौठो हुने रहेछ क्रान्तिचेतको आलोक । हामी एउटा इतिहास लेख्दै छौं भन्ने विस्वास थियो । हामी एउटा सुन्दर विहानीको पर्खाइमा थियौं । जब मानिसलाई आफ्नो लक्ष्यप्रति प्रेम हुन्छ, कुनै पनि कठिनालाई सामना गर्न गाह्रो नपर्ने रहेछ । अहिले सोच्दा त मानिसहरुलाई आश्चर्य लाग्छ । म आफैलाई पनि आश्चर्य लाग्छ । धेरैले यो कुरा बुझेको छ जस्तो पनि लाग्दैन । भैरवनाथ गणको कुरा बाहिर त्यति चर्चा भएको पनि छैन् ।
जनयुद्धलाई अन्डर इस्टीमेट गर्ने मित्रहरुलाई भन्नु त केही छैन् । यो एउटा निर्मम इतिहास हो । कसैलाई मन नपर्दैमा इतिहासको ओज कमजोर हुँदैन । यो मानव इतिहासमै मुक्तिका लागि गरिएको असाधारण बलिदानको इतिहास हो । तर त्यसलाई त्यतिवेलैको चेतनाले हेरियो भने मात्रै जनयुद्ध के हो भनेर बुझ्न सकिन्छ । जनयुद्धमा लाग्नेहरुको समर्पण, त्याग, तपस्या र बलिदानको भाव निकै उच्च थियो ।
भैरवनाथमा वस्ने क्रममा कतिपय सेनाका साथिहरुले सहयोग पनि गर्नुभयो । हामी जति पनि भैरवनाथबाट बाँचेर फर्किएका थियौं, तिनै साथिहरुको सहयोगकै कारण थियो । उहाँहरुकै सहयोगमा रेडक्रस, मानवअधिकारलाई हामी भैरवनाथ गणमा भएको समाचार पुगेको थियो । यदि त्यहि भित्रका सिपाहीहरुलाई कन्भिन्स गराएर विभिन्न मानव अधिकारवादी संस्थाहरुलाई चिठी पठाउन नसकिएको भए हामी कोही बाँच्ने संभावना थिएन । धेरै साथिहरु मारिनुभयो । हामी १८ जना जति साथिहरु चाहीँ संयोगबस ज्युँदो फर्कियौं । हामी बाँचेकाहरु पनि सेनाको गोली खाएर मर्न तयार भएरै बसेका थियौं ।
हामीलाई मार्न नखोजिएको कहाँ हो र । एक दिन शिवपुरी पनि लगेका थिए । त्यहाँबाट आस्थाका बन्दीहरुलाई मार्नु प¥यो भने शिवपुरी डाडाँ लगिन्थ्यो । शिवपुरीमा मार्न लगिएका कोही पनि बाँचेर फर्किएका थिएनन् । तर संयोग भनौं हाम्रो टिमलाई मार्न लगेर पनि जीवित फर्काइयो । हामी मार्न लगेकाहरु दयाले बाँचिएको थिएन, मानवअधिकारसम्म पुगेको सूचनाका कारण थोरै समयले हामी बाँचेका थियौं । अन्यथा शिवपुरीको जंगलमा हाम्रा अस्थिपञ्जरहरु माटोसँग मिलिसकेका हुन्थे । हाम्रो पनि नाम वेपत्ताको सूचीमा भेटिने थियो । तर बाँचियो । त्यसपछि भर्खर गिरफ्तार गरेको भन्ने बनाएर हामीलाई नख्खु कारागार पठाइयो । उन्नाइस महिना २० दिनसम्म भैरवनाथ गणमा विताएका सम्पूर्ण क्षणहरु सम्झनु निकै कष्टपूर्ण छ, तर विर्सना पनि सकिंदैन ।
भैरवनाथ गणबाट नख्खु जेल लगेपछि १९ महिना २० दिनपछि पहिलो पटक आँखाको पट्टि खोलिएको थियो । त्यो क्षणको खुसी शब्दमा लेख्न सकिंदैन, सिर्फ अनुभूति गर्न सकिन्छ । मानिसहरु जेलमा रुदै जादा रैछन् तर हामीलाई भने जेल पुर्नजन्म थियो । नख्खुमा अन्य साथिहरु पनि भेटिए । हामी त दुई रात खुसीले निदाउन पनि सकेनौं ।
भैरवनाथ गणको यातनाले हामी दुई खुट्टा टेकेर उभिन नसक्ने भएका थियौं । तर, मानसिक रुपमा भने निकै जोसिला थियौं । जेलमा उत्तम अधिकारी र दिपक देवकोटा लगायतका कमरेडहरुले प्रेमपूर्वक हेरविचार गर्नुभयो । अहिले फर्केर हेर्दा ती दिनहरु यहि जिन्दगीले भोगेको हो र ? जस्तो लाग्छ । कति विरोधाभास जिन्दगी ।
त्यो उन्नाइस महिनाको बीचमा फेरि खुल्ला आकाश देखिएला भन्ने कल्पना हामीले गरेकै थिएनौं । हामी सहिद हुन्छौं, हाम्रो बलिदानले क्रान्तिलाई अझ शक्तिशाली बनाउँछ भन्ने लाग्थ्यो । त्यही ऊर्जाले हामीलाई ज्युँदो राखेको थियो । मैले हिम्मत हारेको थिइनँ । जन्मेपछि एक पटक मर्नै पर्छ । मृत्युले पनि एउटा सार्थकता प्राप्त गर्छ भन्ने लाग्थ्यो । आफैलाई आफैले सम्झाउनु पथ्र्यौं । कहिले कहि मन भएका सिपाही ड्युटि परेका वेला साथिहरुसँग गफ गर्न पनि पाइन्थ्यो साउतीको स्वरमा । आँखामा पट्टि बाधिएकै हुन्थ्यो । साथिहरु निरास नहोउन भनेर म जोक्स र उखान सुनाउथँे । कहिले कही त्यही कुरा घतक पनि हुन्थ्यो । जोक्स भनेकै कारण पनि कुटाइ खाइन्थ्यो ।
हातमा हत्कडी छ । आँखामा पट्टि छ । खुट्टामा नेल ठोकिएको छ । कतिवेला मार्ने हो केही थाहा छैन् । एक दुई दिन भए पो झोक्राएर बस्नु । मैना र वर्ष वितिसक्यो । यातनाको त कुरै नगरौं, अनगिन्ती । हात उल्टो फर्काएर वाधिएको हुन्थ्यो । आँखादेखी घाटीसम्म छोप्ने कालोपट्टी । खानाखाने वेला हात खोलीदिन्थे । भोक धेरै, खाना अलीकति । त्यस्तै हुँदो हो ५, ६ गाँस । भातसँग दाल नाम गरेको पानी दिन्थे । शाही सेनाको यातनामा भोकको यातना पनि सामना गर्नै पथ्र्यो ।
दिशापिसाप लागेका वेला ट्वाइलेट जान नपाइने । उनीहरुलाई मन लागेको वेला कुर्नुपर्ने । धेरैपटक कपडामै दिशापिसाव हुन्थ्यो । त्यही दिशापिसावकै कपडामा सुतिन्थ्यो ।
भैरवनाथमा रहदा कान्छा भाई धिरेन्द्रको भने सारै माया लाग्थ्यो । मर्नु अघि एक पटक आमाबा भेट्न र देख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । जेलमा आमाबाको यादले धेरै नै पिरोल्थ्यो । मलाई बाँचेर फेरी यो रंगीन दुनियाँमा फर्कीने कल्पनासम्म थिएन ।
२२ नम्बर बन्दी
एक दिनको कुरा थियो । एक्कासी कोही चिच्याएको आवाज सुनियो । यो चिच्याहट धेरै बेर आइरह्यो । लाग्यो कोहि नयाँ मान्छे ल्याए राक्षेसहरुले । त्यत्तीवेलै एकजना जवान आएर सोधे– पुष्प वस्नेतलाई चिन्छस् ? मैले भने उहाँ मेरो दाई हो । त्यो चिच्याएको आवाज मेरै पुष्प दाईको रहेछ । केही समयपछि एकजना अफिसर भित्र आयो । हिरासतमा हामीलाई नाम होइन नम्बरबाट वोलाइन्थ्यो । भैरवनाथ गणको म २२ नम्बरको बन्दी । मलाई कोठाबाट बाहीर निकालेर याताना दिने कक्षमा लगियो । आँखाको पट्टी खोलेर हेरें । मेरो दाईलाई कुटीकुटी भुँईमा लडाइएको रहेछ । मलाई अफिसरले सोधे, चिन्छस् ? मैले भने चिन्छु । त्यसपछि मलाई पनि पानी भएको ड्रममा टाउको चोप्न थालीयो गोप्य कुरा खोल भन्दै । खासमा मलाई यातना दिएर उनीहरु दाईबाट माओवादीको बारेमा जान्न चाहान्थे । तर दाईले पार्टीबारे केही बताउनु भएन, बरु मारीदे भन्नुभयो । “एक गोली खर्च गरेर मारिदे मलाई !” दाईले त्यत्तीवेला त्यसो भनेको धेरै याद आउँछ ।
दाईलाई केही दिनपछी एक पटक शौचालयमा भेट भयो । कहिलेकाही एकैपटक धेरैलाई लैजान्थे । उहाँका हातका सबै औलाहरु आल्पिन रोपिएर सुन्निएका थिए । पिप बगिरहेको थियो । हामीले अंकमाल गर्यौ । दाईसँगको त्यही अंकमाल अन्तिम अंकमाल भइदिएछ । दाईको सट ढाडमा टाँसिएको थियो । डाढमा पुरै पिप बगिरहेको थियो । दाईले त्यति कठिन दुखाइ कसरी सहनुभयो होला । यो दृश्य मेरो मानसपटलमा संधै घुमिरहन्छ । मृत्युभन्दा भयावह जीवन बाँचेर शहिद हुनेहरुलाई बिर्सिएर खैं कता हरायो हरयो हाम्रो आस्थाका सगरमाथाहरु, मुक्तका पनाहरु !
उसले भनेको सत्य लागिरहेको छ
केहीदिन मात्रै वितेको थियो । म खाना खादै थिए । एकजना आर्मीको जवान आएर भने–‘ए आज छाक छोड्दैनस् ।’ मैले किन भनेर सोधँे । उसले भन्यो–‘आज तेरो दाई र भाइलाई त सिध्याइदियौँ नी । अब तेरो पालो ।’ मलाई विश्वास लागेन । किनकी उनीहरुले बेलाबेला मानसिक टर्चर दिन त्यसो गरिरहन्थे । तर, त्यसपछि दाई र भाई कहिल्यै फर्किनु भएन । हामी उहाँहरुलाई वेपत्ता भन्छौं । सधैका लागि वेपत्ता । मेरो दाई र भाईजस्ता हजारौं वेपत्ता भएर आएको हो यो गणतन्त्र । दशौं हजार सहिद भए । वेहिसाव योद्धाहरु घाइते छन्, र कष्टपूर्ण जीवन बाँचिरहेका छन् । दुःखको कुरा जसले बलिदान गरेर यो परिवर्तन ल्यायो, उनीहरुले केही पाएनन् । गुमाउनका लागि केही बाँकी छैन, चोटपूर्ण जीवन बाहेक । न राज्यबाट सम्मान छ, न समाजको माया छ । न त इतिहासप्रति गौरव छ । उनीहरुको न्यायका लागि मेरो राजनीतिक लडाइँ जारी रहने छ ।