जीवन सबैका लागि प्रिय हुन्छ, मृत्यु सबैका लागि भयावह हुन्छ । जब जीवन मृत्युभन्दा कठिन
हुन्छ, तब मृत्यु सहर्ष स्वीकार हुन्छ ।
शहिद कृष्ण सेन ‘इच्छुक’
================================================================================
विरेन्द्र बस्नेत
================================================================================
शहिद कृष्ण सेन ‘इच्छुक’ लाई महेन्द्र पुलिस क्लबमा कुटी कुटी मारिएको थियो । उहाँले मृत्यु स्वीकार गर्नुभयो तर झुक्नु भएन । उहाँले थोपा थोपा रगत समाजवादी क्रान्तिका लागि बलिदान गर्नुभयो । हजारौंको त्याग र बलिदानबाट नेपालको जनयुद्ध उठेको थियो । हामी ज्युँदा शहिदहरु र्हौं । वास्तवमा हाम्रो चिहान खनिसकिएको थियो । यति धेरै पाषण हृदय भएका मानिसहरु कतै बाँचिरहेका थिए भने त्यो भैरवनाथ गणका जल्लाद जर्नेलहरु थिए । तिनीहरुसँग हृदय थियो पनि के भन्नु, ती हृदय नभएका मानिसहरु थिए । वास्तवमा ती मानिसहरु पनि थिएनन्, दरबारका पाल्तु कुकुरहरु थिए । जनताका मुक्तिका आवाजहरु उठाउने आस्थाका बन्दीहरुलाई टोक्न, लुछ्न र चिथोर्न पालिएका कुकुरहरु । तिनै जल्लादहरुले हामीलाई मार्नैका लागि भैरबनाथ गणबाट शिवपुरी लगेका थिए । हाम्रो शिवपुरीको यात्राको कथा यस्तो छ ।
एक जना सिपाहीले नजिकै आएर मलाई उठायो । उसले कानमै आएर साउतीको स्वरमा भन्यो– “बस्नेत भाइ, मलाई माफ गरिदेऊ है ! हामी त सानो दर्जाको मान्छे चाहेर पनि केही गर्न सक्दैनौँ । आज तिमीहरुलाई शिवपुरी लादैछ । शिवपुरी जंगल पुगेका माओवादीहरु कोही पनि फर्केर आएका छैनन् । यहाँबाट थुप्रै माओवादी बन्दीहरु शिवपुरी लगिएको थियो । तिनीहरुलाई के गरियो ? त्यहाँबाट कहाँ लगियो ? केही पनि थाहा छैन । सायद तिनीहरु उतै मारिए होलान् ।”
उसको स्वर निकै रुन्चे थियो । त्यो सिपाही तुलनात्मक रुपमा अलि मानवीय स्वभावको थियो । मलाई उस्को कुरामाथि विश्वास लाग्यो । उसले त्यसो भनेको एकैछिनमा एउटा कर्कस आवाज सुनिन थाल्यो । त्यो अक्सर हामीलाई यातना दिने बेलामा आउने आवाज थियो । “ए, आतंककारीहरु सबै जना उठ् ।” त्यसले कठोर स्वरमा आदेश ग¥यो । त्यहाँ हामी १८ र १९ जना साथीहरु थियौं । हामी जराकजुरुक उठ्यौँ । त्यसले हामीलाई “तिमीहरुको आफ्नो सामान के के छ यहाँ ?” भनेर सोध्यो । हामीसँग आफूले गलाएको एक धरो लुगा र मृत्युभन्दा कठिन जीवन बाहेक केही थिएन ।
त्यहाँबाट हामी सबैलाई उठाइयो । हामीलाई कहाँ लाने के गर्ने केही पनि भनिएको थिएन । भनिदैन थियो पनि । तर, मेरो दिमागमा त्यो सिपाहीले भनेका शब्दहरु घुमिरेका थिए । त्यतिवेला मलाई लागिरहेको थियो कि म मेरो जीवनको अन्तिम यात्रामा सामेल भइरहेको छु । हामी जस्तै त्यहाँ कयौँ साथीहरुलाई त्यो अन्तिम यात्राबाट कहिल्यै फर्काइएन । ती साथीहरुलाई कहाँ लगियो ? के गरियो ? अहिलेसम्म कुनै अत्तोपत्तो छैन । उनीहरु सधैका लागि वेपत्ता बनेका छन् । हामीलाई पनि सधैका लागि वेपत्ता बनाउने उनीहरुको सम्पूर्ण तयारी थियो । हामीलाई त मार्दैनन् कि भनेर शंका गर्ने कुनै ठाउँ थिएन । त्यो सिपाहीको कुरामा मलाई पुरा विश्वास लागेको थियो ।
मानसिक रुपमा म मर्नका लागि तयार भइरहेको थिएँ । हमीसँग अरु कुनै विकल्प थिएन । म विश्वस्त थिएँ– “आज जीवनको अन्तिम यात्रामा गइरहेको छु ।” हामी अन्तिम यात्राको तयारीमा थियौँ । जे मलाई लागिरहेको थियो, त्यही सबै साथीहरुलाई पनि लागिरहेको थियो । किनभने हामी आस्थाका बन्दीहरुलाई शिवपुरीको जंगलमा लगेर मुडभेडकोे नाममा मार्ने योजना बनाएको कुरा केही सिपाहीमार्फत् सुनेका थियौँ । त्योभन्दा पहिले पनि ‘अब तेरो मर्ने दिन यति बाँकी छ’ भनेर मलाई धेरै पटकक तर्साएका थिए । प्रत्येक दिन “अब तेरो मेर्ने दिन यति बाँकी छ” भनेर मानसिक यातना दिइरहन्थे । कयौँ पटक शाही जल्लादहरुले मेरो जीवनको मृत्युको मिति तोकेर, प्रत्येक दिन गनेको मलाई राम्रोसँग याद छ । तिनीहरुले मार्ने भनेर दिने गरेको मानसिक यातना मेरा लागि सामान्य बनिसकेको थियो । ती दिनहरुमा मारिहाल्लान भन्ने विश्वास थिएन । तिनीहरु मानसिक रुपमा गलाउन र पराजित गर्न यो सबै गरिरहेका थिए । तर यो पटक कुरा त्यस्तो थिएन । हामीलाई यातना दिएर थाकिसकेका जर्नेलहरुले हाम्रा लागि शिवपुरीको जंगलमा चिहान खनिसकेका थिए । त्यो सिपाहीले मेरो कानमा साउती गरेर भनेका शब्दहरु अहिले पनि गुञ्जिरन्छन् ।
हामीलाई बाहिर निकालियो । बोराको खात लगाए झैँ एउटा ट्रकमा कोचेर त्रिपालले छोपियो । भैरबनाथबाट ट्रक हामीलाई बाकेर कता गइरहेको छ एकिन थिएन तर मेरो मन शिवपुरी जंगलतर्फको अन्तिम यात्रा गरिरहेको छ । भैरबनाथ गणबाट सय मिटर फरकमा शिक्षण अस्पताल छ । हामी जीवन र मृत्युको लडाईँ लडिरहेका छांै तर त्यो शिक्षण अस्पताल बेखबर छ । बेखबर छ बलुवाटार, जहाँ प्रधानमन्त्री बस्छन् । बेखबर छ त्यो सडक, जहाँ दैनिक हजारौँ सवारीसाधनहरु कुद्छन्, लाखौँ मान्छेहरु हिड्छन् ।
त्यो अन्तिम यात्राको सुरुवात हुन्छ । हामी आफै आफ्नै मृत्युको मलामी थियौं । म आफ्नै मृत्युको यात्रामा थिएँ । मेरो आफ्नै अन्त्यष्टीको यात्रामा । हामीसँग बाँच्ने समय धेरै थिएन । त्यतिबेला मैले विगतमा भोगेका विर्सन नसकिएका हरेक पलहरु सम्झेँ, हरेक क्षणहरु सम्झेँ । हामी ट्रकमा बेसरी खादिएका थियौं । आपसमा हाम्रा शरीरहरु टाँसिएका थिए । हामीलाई त्यहाँ बोल्ने अधिकार थिएन । बोल्यो कि पिटाइ खाइहाल्नुपर्ने । पिटाइ खानुभन्दा बरु बोलिएन ।
मलाई त्यति बेला छेउको साथीलाई सोध्न मन थियो– तिमीले कस्तो अनुभूति गरिरहेका छौं ? तिमी के सोचिरहेका छौं ? के आज हाम्रो अन्तिम दिन हो ? के साँच्चै आज हामी मारिन्छौं ? यतिबेला तिमी कसलाई सम्झिरहेछौं ? तर मनको कुरा मनमै रह्यो । सायद मेरो छेउको साथिले पनि मलाई यस्तै प्रश्नहरु सोध्ने मन गरेको हुँदो हो । तर हामी जीवनको अन्तिम दिन पनि मन लागेको कुरा गर्न पाइरहेका थिएनौं । हामी कस्तो परिस्थिका निम्ति तयार भयौँ ? यस्तो परिस्थितिमा पनि हाम्रो स्वास किन रोकिएको थिएन ? ती दिनहरु सम्झदा अहिले पनि स्वास फेर्न असजिलो हुन्छ ।
यी सबै परिवर्तनका लागि थिए । निरंकुश राजतन्त्र ढलेर देशमा लोकतान्त्रिक गणतन्त्र सजिलै आएको थिएन । ठूला र कठिन संघर्षबाट, रगतका भेलहरुबाट भएको थियो । ती संघर्षका पलहरु थिए, निरंकुशतन्त्र फाल्ने संघर्षका पलहरु । त्यो समय म एकातर्फ हत्तोतसाहित थिएँ, अर्कोतर्फ मलाई ठूलो आत्म गौरव पनि थियो । आत्मगौरव यस अर्थमा कि म मातृभूमिको गौरवको निम्ति यो अमूल्य शरीर बलिदान गर्दै छु । म त्यति बेला करिब २० वर्षको थिएँ । बेलायती उपनिवेश विरुद्ध भारतीय स्वतन्त्रता संग्राम चलिरहँदा भगत सिंहको उमेर पनि २२–२३ वर्षको थियो । जहानीय राणा शासन विरुद्धको संघषमा १९९७ मा फाँसीको सजाय पाएका शहिद गंगाल श्रेष्ठ पनि २२ वर्षका थिए । म यस्तै वीरताका इतिहासहरु सम्झदै थिएँ । अनि तिव्रतामा म स्कुल पढ्दा बिताएका पलहरु सम्झदै थिएँ । साथिसंगीहरुसँग बिताएका सुन्दर क्षणहरु सम्झदै थिएँ । केही विशेष साथीहरु सम्झदै थिएँ ।
“बाँच्न पाएको भएँ, मेरा प्रिय साथिहरुलाई मैले भोगेका यी बर्बरताहरु सुनाउने थिएँ । मेरा प्रियहरुलाई मैले भोगिरहेको बर्बरताहरु थाहा छैन । कसले पु¥याइदेला तिमीहरुसम्म मैले भोगेका यातनाहरुको समाचार ?” मलाई अत्यास लाग्थ्यो । म मनमनै भनिरहेको थिए– ठिक छ हामीलाई मार, तर तिमीहले मारेको कुरा स्वीकार गर । हामीलाई गोली हान, तर गोली होनेको कुरा स्विकार गर । हामीलाई तिमीहरु मनखुसी मार तर हामी मारिएको कुरा हाम्रा आफन्तहरुले थाहा पाउन् । मनमा यस्तै यस्तै विचारहरु खेलिरहेका थिए । महाराजगञ्ज हुँदै हामीलाई बोकेको गाडी अगाडि बढिरहेको थियो । जति त्यो गाडीले भैरवनाथ गणसँगको दूरी बढाउँछ, त्यति हाम्रो चिहानको दूरी घटाउँथ्यो ।
मान्छेहरुले भनेको सुन्छु– म त मृत्युको मुखमा पुगेर बाँचेको । म त मृत्युको मुखमा पसिसकेको मान्छे । मृत्युले कयौँ पटक चपाउँदा पनि दाँतको कप्टेरामा अड्किएर बाँचेको मान्छे म । भैरबनाथबाट थुप्रै आस्थाका बन्दीहरु मारिनुभयो । वेपत्ता हुनुभयो, सधैका लागि वेपत्ता । १० वर्षे जनयुद्धमा दशौं हजारको सहादत भएको छ । हजारौं साथिहरु मृत्युको मुखबाट बाँचेर आउनुभएको छ । तर हाम्रो त्यो टिम, जो जो त्यो मृत्यु यात्रामा सँगै थियौं, मृत्युको कहालिलाग्दो सुरुङभित्रबाट बाँचेर फर्किएका जीवनहरु हुन् । सिँगै जनयुद्धमा बाँचेकाहरुमध्ये हाम्रो जीवन विरलै बाँच्ने जिन्दगी हो । हामी हजार पटक मरेर बाँचेका थियौं । हामी हजार पटक मारिन खोज्दा पनि बाँचेका थियौं । तर त्यो पल, शिवपुरीको मृत्यु यात्राको पल मलाई बाँचिन्छ भन्ने एकरत्ति पनि आशा थिएन ।
भैरबनाथ गणबाट महाराजगञ्ज हुँदै निकै माथि पुगिसकेपछि गाडी रोकियो । उनीहरुको गाइँगुइँ आवाज सुन्दा बुझिन्थ्यो त्यहाँ बाटो खराब छ । अब त्यहाँभन्दा अगाडी बढ्न सकिँदैन । उनीहरु सल्लाह गरिरहेका थिए । उताबाट अर्को गाडी मगाउने र त्यहाँसम्म हामीलाई हिडाएर अर्को गाडीबाट लैजाने कुरा भयो । बाटोका कारण करिब करिब एकघण्टा रोकियो । त्यतिबेलाका लागि त बाँच्ने समय एकघण्टा थपिएको थियो । तर आहिले सम्झदा त्यो एकघण्टा अहिले हामीले बाँचिरहेको सम्पूर्ण समय थियो । हामीलाई त्यहाँ राख्दै गर्दा एकअर्काे हात समात्थ्यौं । त्यहाँ साथिहरुबीच स्मर्श संवाद भइरहेको थियो । संवाद त्यसरी भैरहेको थियो । त्यही क्रममा अर्को गाडी आयो । हामीलाई त्यो ट्रकबाट ओरालेर अर्को गाडीसम्म हिडाइयो । हिँड्ने क्रममा अनुभूती हुन्थ्यो, हामी कुनै अनाकन्टार जंगलबीचमा छौँ । आँखामा पट्टी बाँधिएको थियो । केबल अनुभूती गर्न सकिन्थ्यो, देख्न सकिँदैन थियो । हामीलाई त्यहाँ बोल्न प्रतिबन्ध थियो, हेर्न प्रतिबन्ध थियो र कसैलाई केही सोध्न प्रतिबन्ध थियो । तर मनमनै यस्तो सोच आउँथ्यो– अब हेर्नु के नै छ र, एकछिन पछि मर्नु छ । न कसैलाई केही भन्न पाइने हो । हेर्नु, बोल्नु, अनुभवहरु संगाल्नु, सम्झनाहरु सम्हाल्नु यी सबै कुरा बाँच्नेहरुका लागि न हुन् । हामी त केही छिनपछि यो धर्तीमै हुँदैनौं ।
अब केही छिनमा यो संसारमा म हुने छैन भन्ने कुरा स्वीकार गरेर निकै कठिन थियो । कति हृदय बिदारक लाग्छ त्यो क्षण । मैले विगतका थुप्रै दिनहरु, हप्ताहरु र महिनाहरु विर्सेको छु । वर्षहरु विर्सेको छु । तर शिवपुरी यात्राका हरेक पलहरु सम्झनामा छन् । एक सेकेण्ड पनि नभुली दिमागमा आइरहने, बसिरहने क्षण मेरो जीवनमा कुनै छ भने त्यो शिवपुरी यात्रा हो । मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण यात्रा । मेरो जीवनकै सबैभन्दा कठोर यात्रा । यस्तो न त्योभन्दा पहिले कहिल्यै गरेको थिएँ न त्यसपछि गर्नु परेको छ । सायद बाँकी जिन्दगीमा पनि गर्नुपर्ने छैन । अब हामीलाई अर्को ट्रकमा कोचिन्छ र पुनः आफ्नै अन्त्यष्टिको यात्रा अगाडि बढ्छ ।
एकै छिनमा ट्रक राकियो । हामी सबैलाई ट्रकबाट ओरालियो । दिमागमा चित्र बनिरहेको छ, अनाकन्टार जंगलको बीचमा छौँ । त्यो एउटा चउर हुनुपर्छ, जहाँ हामीलाई सुरुमा उभ्याइएयो । त्यसपछि हामी सबैलाई घुँडा टेकाएर बसालियो । मैले सोचे– अब यिनको आदेश किन मान्ने ?
हातमा पात फर्काएर हतकडी लगाएको छ । आँखामा कालो पट्टी छ । कहीँ कतै केही देखिँदैन । घुँडा टेकाएर चउरमा राखिएको छ । सायद हाम्रो भाइ (धीरेन्द्र, दाई (पुष्प) लगायत थुप्रै कमरेडहरुलाई यसैगरी राखेर गोली हाने होलान् । अबको केही सेकेण्डमा मेरो शरीरमा पनि गोली बर्सदैछ भन्ने अनुभूती गर्न कति गारो भएको थियो त्यति बेला । के हुन्छ होला त्यसपछि ? एकै पटकमा टाउको मै गाली हाने हुन्थ्यो, ताकी मर्नेबेला छट्पटिन नपरोस् । यो आँखाको कालो पट्टी नखोलिकन गोली हानोस्, ताकी आफ्नै टाउकामा लाग्ने गोली देख्न नपरोस् । मलाई यस्तै अनुभूती भएको थियो । यो माक्र्सवादी अनुभूती हो कि होइन थाहा छैन । यो माक्र्सवादभित्र पर्छ कि पर्दैन त्यो पनि थहा छैन । तर हामीले त्यो क्षणको सामना गर्नु प¥यो । हामी सबैले ग¥यौं त्यो अनुभूती । कसैको फरक अनुभूती छैन । किनकि हामीलाई थाहा छ– शिवपुरीमा अरु केही कामका लागि ल्याइएको होइन । हामी मारिएको कसैलाई थाहा नहोस् भनेर नै त्यो अनकान्टार लगिएको थियो । अब गोली हान्छन् भन्ने भएपछि आमालाई बेसरी सम्झिएँ । बालाई सम्झिएँ । साथिहरुलाई सम्झिएँ । प्रियहरुलाई सम्झिएँ । मेरो माइला दाई पुष्प र कान्छा भाइ धीरेन्द्रलाई त मारिनै सकेका थिएँ । अब म मारिँदै छु । मुटुका टुक्राजस्ता तीन–तीन छोराहरु मारिएको वियोग मेरी आमाले कसरी सहनुहोला ? यस्तै कुराहरुले पीडा असह्य बनिरहेको थियो ।
तिनीहरुले हेर्न प्रतिबन्ध लगाए पनि सोच्न प्रसतिबन्ध लगाउन कहाँ सक्थे र । हातमा हत्कडी लगाए पनि मेरो मस्तिष्कलाई बाँध्न कहाँ सक्थे र । मेरो मनलाई छेक्न कहाँ सक्थे र तिनीहरुले । त्यतिबेला सम्झदै थिएँ त्यो मेरो सुन्दर परिवारलाई, जहाँ म हुर्केर, बढेर देश बदल्ने क्रान्तिमा होमिन सक्ने भएको थिएँ । सम्झँदै थिएँ नेपालको त्यो अवस्थालाई, जुन फेर्न भनेर हामीले यो बाटो रोजेका थियौं । सम्झँदै थिएँ ती गाउँहरुलाई, जो काठमाडौँभन्दा कयौँ विकट र पिछडिएका थिए । सम्झँदै थिएँ ती मान्छेहरु, जो उत्पिडनको जाँतोमा पिल्सिरहेका थिए । म तिनीहरु कै खातिर लडिरहेको छु, तिनीहरु कै खातिर मरिरहेको छु । त्यसैले मेरो जीवन सार्थक रहेने छ । मेरो मृत्यु सार्थक रहने छ । यसैगरी म आफैँले आफैँलाई सम्झाइरहेको छु । एकै छिनमा हामीलाई त्यो चौरबाट उठाइयो । त्यहाँबाट घिस्याउँदै घिस्याउँदै केही पर लग्यो । माघको महिना हिउँ पर्ने चिसो छ । चप्पल छैन खुट्टामा । न्यानो कपडा छैन शरीरमा । तर, मनको आगोले, मृत्युको ज्वालाले, मृत्युुसँगको साक्षात्कारले तातिरहेको थियो शरीर ।