मार्क्सलाई किन पढ्ने ?


यदि मार्क्सवादको प्रासंगिकता समाप्त हुन्छ भने मार्क्सवादी जतिको खुसि कोहि पनि हुनेवाला छैनन्। किनकि मार्क्सवादको अस्तित्व तब सम्म रहनेछ जव सम्म उसको बिरोधी पुँजीवाद रहनेवाला छ।

================================================================================

केदार सिटौला

-================================================================================

मार्क्सको नाम आउने बित्तिकै सामान्य मानिसहरुमा एउटा प्रश्न उठ्ने गर्छ अब मार्क्सलाई पढेर के फाइदा हुन्छ ? के उनको बिचारले २१ औ शताब्दीका समस्याहरुलाई समाधान गर्न सक्छ ? हुनपनि हो एक जना १९ औ शताब्दीका दार्सनिक र चिन्तकका बिचारहरु अहिले २१ औ शताब्दीमा पढ्नुको के अर्थ होला ? मार्क्सको समय र अहिलेको समयमा बिज्ञान र प्रविधिको क्षेत्रमा आकाश-पातालको परिवर्तन भैसकेको छ। मार्क्स पहिलो दोश्रो औधोगिक क्रान्तिको समयमा मानिस थिए। उनको समयमा रेल, टेलिग्राफ जस्ता प्रविधिहरु युगान्तकारी मानिन्थे भने अहिले हामि चौथो औधोगिक क्रान्तिको संघारमा छौ। जहाँ एआई, फाइभ जी र न्यानो टेक्नोलोजीको प्रमुख भूमिका हुनेछ। यस्तो फरक हुँदाहुदै पनि १९ औ शताब्दीमा व्यक्ति कार्ल मार्क्सको सान्दर्भिकता अझै पनि पुरानो भएको छैन। उनको बिचारले अझै पनि हाम्रो समयलाई मार्ग निर्देशन गर्न सक्छ।

मार्क्सवादको उत्पति औधोगिक पुँजीवादी समाजको समस्याहरु संग जोडिएको छ। अब संसार बदलिसकेको छ। त्यसैले अब उत्तर पुजिवादी औधोगिक संसारमा मार्क्सवादको प्रासंगिकता समाप्त भएको छ भनेर आलोचना गरिन्छ। यो प्रश्नको जवाफ बेलायती लेखक टेरी ईगलटर्नले राम्रो संग दिएका छन्। यदि मार्क्सवादको प्रासंगिकता समाप्त हुन्छ भने मार्क्सवादी जतिको खुसि कोहि पनि हुनेवाला छैनन्। किनकि मार्क्सवादको अस्तित्व तब सम्म रहनेछ जव सम्म उसको बिरोधी पुँजीवाद रहनेवाला छ। आज पुँजीवाद समाप्त हुनुको साटो झन् आक्रामक बनेर आएको छ। मार्क्सले पहिले नै अनुमान गरेका थिए कि पुँजीवाद अत्यन्त परिवर्तनशील छ। मार्क्सवादले नै यसको अलग अलग स्वरुपलाई पहिचान गरेका थिए। जस्तै व्यापारी, कृषिप्रधान, औधोगिक आद। सन् ७० र ८० को दशकमा पुँजीवादले आफ्नो स्वरुप बदलेर परम्पतागत औदोगिक उत्पादनको साटो सेवा क्षेत्र, सूचना र प्रविधि र उपभोक्तावाद अगाडी आयो। यो संगै पुँजीवाद संग अत्यन्त आक्रमकता बढेर आएको छ। त्यस संगै मार्क्सवादीहरुमा निरासवादिता बढेको छ। मार्क्सवादीहरुमा पुँजीवादको अन्त्य गर्न नसक्ने हिम्मत हराउँदै गरेको छ। मार्क्सवादको अप्रसंगिकताको सकिएको तर्कको मूल चुरो यहि हो।

अब एउटा प्रश्न फेरी उठ्छ कि मार्क्सलाई पढ्दा के फाइदा हुन्छ ? यसको जवाफ प्रख्यात अमेरिकी इतिहासकार हार्वर्ड जिनले दिएका छन्। हार्वर्ड जिन भन्छन- मार्क्सका पुंजी लगायतका पुस्तकहरु पढ्न जोकोहीलाई पनि कठिन पर्न सक्छ। तर उनको सानो तर प्रख्यात पुस्तक कम्युनिस्ट पार्टीको घोषणापत्रले हामि बाचेको संसारको ऐतिहासिक दृष्टि प्रदान गर्छ। यसले कसरी समाजहरु एउटा स्वरुप बाट अर्को स्वरुपमा परिवर्तन हुदै आए भनेर देखाउछ। सामाजिक प्रणालीहरु आदिम साम्यवादी समाज देखि सामन्तवाद हुदै पुँजीवाद सम्म कसरि बिकाश भए भनेर यो पुस्तक देखाउछ। पुँजीवाद पनि यहा अनन्तकाल देखि अस्तित्वमा थिएन। यो अस्तित्वमा आएको केहि सय बर्ष मात्र भयो। पुँजीवाद जन्म हुनुको मुख्य कारण सामन्तवादले प्रविधिको बिकाशलाई आत्मशात गर्न नसक्दा भएको हो। बाणिज्यवाद, औधोगीकरण र र नया प्रविधिलाई आत्मसाथ गर्न नसक्दा सामन्तवादको पतन भयो। जवकि पुँजीवादी समाजले यी कुराहरुलाई आत्मसाथ गर्न सक्दा आफुलाई झन् बलशाली बनाउदै लग्यो।

मार्क्सले पुँजीवादको अर्को एउटा विशेषता उजागर गरेका छन्। पुँजीवादी समाजले अर्थतन्त्रलाई प्रभावकारी ढंगले बिकसित बनाउछ र बस्तुहरुको उत्पादनमा ज्यामितीय रुपमा बिस्तार गर्छ। तर उसले यो बिशाल उत्पादनको प्रतिफल स्वरुप प्राप्त परिणामलाई समतामुलक ढंगले वितरण गर्न सक्दैन। जसको फलस्वरूप समाजमा एउटा सानो धनि वर्ग र बहुसंख्यक गरिब बर्ग उत्पन्न हुन्छ। मार्क्सले १९ औ शताब्दीमा पुँजीवाद बारे गरेको बिश्लेषण अहिले झन् सहि साबित भएको छ। अक्सफामले गत वर्ष जारि गरेको रिपोर्ट अनुसार यति बेला बिश्वका १% मानिसको हातमा बाकि ९९% मानिसको भन्दा दोब्बर बढी सम्पति थुप्रिएको छ।

त्यस्तै मार्क्सको अर्को महत्वपुर्ण देन भनेको वर्गहरुको विश्लेषण हो। मार्क्सका अनुसार कुनै पनि राजनीतिक वा संस्कृतिक द्वन्दको सतह भन्दा गहिरिएर भित्र हेर्न हो भने त्यस मुनि वर्ग संघर्ष हुने गर्छ। कुनै पनि परिस्थितिमा एउटा प्रश्न सोध्नु जरुरि हुन्छ कि यसले कसलाई फाइदा पुराइरहेको छ ? कुन बर्गलाई यसले फाइदा पुर्याउछ ? यदि चुनाबमा कुनै पार्टीहरु उठेका छन् भने ति मध्ये कुनै एउटा पार्टी छान्नु पर्र्यो भने यो पार्टीले कुन वर्गको प्रतिनिधित्व गर्छ भनेर सोध्नु पर्ने हुन्छ। संसदमा कुनै कर सम्बन्धि कानुन पेश भयो भने त्यो कानुनले कुन बर्गलाई फाइदा पुर्याउछ भनेर प्रश्न सोध्नु पर्ने हुन्छ।

मार्क्सवाद बारे परिचय दिदै लेनिनले १९१३ मा एउटा प्रख्यात लेख लेखेका थिए। लेनिनका अनुसार मार्क्सवादका तिन श्रोतहरु हुन् जर्मन दर्शन शास्त्र, बेलायती राजनीतिक अर्थशास्त्र र फ्रेन्च काल्पनिक समाजवाद। यी तिन विचारका श्रोतले मार्क्सलाई अत्याधिक प्रवावित गरेका थिए। अमेरिकी जीव बैज्ञानिक रिचार्ड लेबिन्सका अनुसार अब यो युगमा मार्क्सवादलाई थप सम्बृद्ध गर्नको लागि अरु चार श्रोतहरु महत्वपुर्ण हुने बताएका छन्। ती श्रोतहरु हुन् – पर्यावरण, नारीवाद, रास्ट्रीय संघर्ष, शान्तिवाद। मार्क्सवादलाई अबको युगमा जिवन्त बनाउने हो भने यी चार क्षेत्रमा आफुलाई मार्क्सवादी भन्नेहरुले अध्ययन, मनन र चिन्तन गर्न जरुरि छ।


प्रकाशित : २०८० बैशाख २२, शुक्रबार २१:५६ गते

ताजा समाचार