काठमाडौंः एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बागमती प्रदेशमा रिक्त रहेकोराष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार रहेका बादलले मंगलबार अपराह्न वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा भेटेर सहयोगका लागि आग्रह गरेसँगै उनले समर्थन जनाएका हुन् ।
भेटवार्तापछि गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जारी गरेको प्रेसनोटमा भनिएको छ, ‘‘भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा केन्द्रित थियो । भेटमा नेता नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’
राष्ट्रिय सभा उपनिर्वाचनमा बादल एमालेका तर्फबाट सूर्य चिह्नमा तथा कांग्रेस, माओवादी र जसपाको एउटा समूहको गठबन्धनबाट डा खिमलाल भट्टराई कलम चिह्नबाट उम्मेदवार छन् ।