डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण गर्ने प्रधानमन्त्रीको घोषणा


काठमाडाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने तयारी भइसकेको बताएका छन् ।

शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशनको उद्घाटन गर्दै उनले घर र बस्तीमा बत्ती बाल्न मात्र नभई देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ उत्साहजनक कामहरू भइरहेको बताए ।

उनले भने, ‘सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको छ । घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन् ।’

प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए। देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपत बृद्धि सम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्बाट पारित गरेको स्पष्ट पारे।

प्रधानमन्त्रीले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पु–याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए।

उनले भने, ‘वर्षको वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारतर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रुपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युत्को अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ । यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ ।’

उनले करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने यो सबस्टेसनको उद्घाटनसँगै यस क्षेत्रको विद्युत प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने पृष्ठभूमि तयार मात्र भएको छैन, सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा नयाँ अध्याय पनि थपिएको बताए।

उनले भने, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ । पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको छ ।

अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको दाबी गरे।


प्रकाशित : २०८० पुष ६, शुक्रबार १२:१९ गते

ताजा समाचार