काठमाडाैँ । मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुर्ख्याैली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने स्थिति देखिएको छ।
जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा सहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने क्रम तीव्र भएको देखाउँछ। यसरी बसाइँ सर्नेमा अधिकांश युवा र बालबालिकाको संख्या बढी छ। यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको संकेत गरेको विज्ञहरूको भनाइ छ।
०४६ सम्म पहाडमा बढी चाप रहेकामा क्रमशः तराईतर्फ चाप सरेको पछिल्ला जनगणनाले देखाउँछ। अहिले तराईमा कुल जनसंख्याको ५४ प्रतिशत आवादी छ। यसले हिमाल र पहाड क्रमशः रित्तिँदै गएको देखाउँछ।
‘राष्ट्रिय जनगणना– २०७८’को प्रतिवेदन र विभिन्न स्रोतका आधारमा प्राकृतिक प्रकोप, बेरोजगारी, राजनीतिक अस्थिरतालगायत कारणले बसाइँ सर्नेको संख्या बढेको केन्द्रीय तथ्यांक कार्यालयका निर्देशक ढुंगीराज लामिछानेले बताए। उनका अनुसार ०५२ देखि ०६३ सम्ममा बसाइँसराइ कैयौँ गुणा बढेको छ।
सशस्त्र द्वन्द्वको सुरुवाती वर्षमा तीन हजार ६ सय ५० मात्र रहेको आन्तरिक बसाइँसराइको संख्या सशस्त्र द्वन्द्वको अन्त्यतिर एक लाख ६५ हजार पुगेको छ। त्यसपछि पनि आन्तरिक बसाइँसराइको चित्र (ग्राफ) निरन्तर उकालो लागेको तथ्यांकले देखाउने लामिछानेले जानकारी दिए।
कुल जनसंख्याको ८० प्रतिशत प्राकृतिक प्रकोपको जोखिममा रहेकाले पनि बसाइँसराइ भएको छ। यसबाहेक हावाहुरी, आगलागी र हिमताल फुट्ने डरले थालथलो छोड्न नेपालीलाई बाध्य पार्ने गरेको छ। पहिरो आदिका कारण पुराना पानीका मुहान सुक्ने कारणले कुनैकुनै गाउँमा तीव्र रूपमा पुर्ख्याैली गाउँ छोडने प्रवृत्ति बढेको छ।
एक ठाउँबाट अर्को ठाउँमा हुने मानिसको भौगोलिक चाललाई मानव बसाइँसराइ भनिन्छ। निश्चित समय अवधिमा, निश्चित भौगोलिक वा राजनीतिक एकाइबाट अर्को भौगोलिक वा राजनीतिक एकाइमा वासस्थान परिवर्तन गरेर हुने मानिसको भौगोलिक चाल नै बसाइँसराइ हो।
वासस्थान परिवर्तन आन्तरिक र बाह्य प्रकारले हुने गर्दछ। हाल दैनिक करिब दुई हजार पाँच सय नेपाली बिदेसिने गरेका छन्। केन्द्रीय तथ्यांक कार्यालयका निर्देशक लामिछानेले ‘राष्ट्रिय जनगणना–२०७८’को प्रतिवेदनलाई हेर्दा हिमाल र पहाडबाट सहरी तथा तराई क्षेत्रमा, तराईका गाउँबाट नगर क्षेत्रमा बसाइँसराइ हुने क्रम (जनसांख्यिक उतारचढाव) देखिएको बताए।
आर्थिक, सामाजिक, सांस्कृतिक र रोजगारीका विषयलाई समेटेर जनसंख्या व्यवस्थापन नीतिका विषयमा अबको बहस केन्द्रित हुनुपर्ने देखिएको उनको भनाइ थियो।
‘जनगणनामा पाँच लाख बस्नयोग्य घर खाली रहेको र घर छाडेर गएकाहरू फर्कने सम्भावना कम रहेकाले उच्च शिक्षासम्म निःशुल्क पढाउने गरी शिक्षामा लगानी वृद्धि गरी युवा जनशक्तिलाई परिचालन गरी भूगोलअनुकूलका व्यावसायिक कृषितर्फ जोड दिनु अत्यावश्यक भएको छ,’ लामिछानेले भने।
केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको प्रतिवेदनमाथि क्षेत्रगत विश्लेषण गर्ने क्रममा जनसंख्यासम्बन्धी तथ्य–तथ्यांक र असरलाई केलाइरहेको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख प्राडा योगन्द्र गुरुङले भने, ‘बसाइँसराइ गर्दा धेरैजसोले आफ्ना विद्यालय पढ्ने उमेरका छोराछोरीसँगै लगे पनि बुबाआमालाई गाउँमै छोड्ने वा बुबाआमा पनि गाउँकै खुला वातावरणमा बस्न चाहने कारणले तथ्यांकमा धेरै बसाइँसराइ देखिएको हो।’
विभागका सहप्राध्यापक डा. पद्मप्रसाद खतिवडाका अनुसार कृषिमा आधुनिकीकरण हुन नसक्नु, जनसंख्याको १७ प्रतिशत अझै गरिबीमा रहनु र उच्च शिक्षाका विभिन्न समस्याका कारण स्वदेशी विश्वविद्यालयतर्फ विद्यार्थीको आकर्षण नहुनुले बसाइँसराइलाई बढाएको छ।
‘यसको संकेत साहरा चाहिने उमेरका अधिकांश ज्येष्ठ नागरिक गाउँका पुर्ख्याैली थातथलोमै छन् भन्ने हो। बुढेसकालको साहरा भनिने सन्तानलाई विदेश वा आफ्नो थातथलोबाहिर पठाएका उनीहरू सामान्य बल पर्ने काम गर्न तथा बिरामी पर्दा उपचार गर्नसमेत अत्यन्त कठिनाइ व्यहोर्न बाध्य छन्,’ उनले भने।
बसाइँसराइको अर्को प्रमुख कारण प्राकृतिक प्रकोप भएको डा. खतिवडाको भनाइ छ। मौसम परिवर्तनको सर्वाधिक जोखिममा रहेका राष्ट्रमध्ये चौथोमा पर्ने नेपालमा बाढी र पहिरो तथा भूकम्पका कारण बसाइँ सर्ने पनि उल्लेख्य संख्यामा रहेका उनले बताए।
यसबाहेक आफ्नो जीवनस्तर उठाउने व्यक्तिगत चाहना सामाजिक, आर्थिक, शैक्षिक तथा वित्तीय पहुँचका लागि सदरमुकाम वा राजधानीतिर सर्ने प्रवृत्तिले पनि बसाइँसराइका लागि प्रेरित गरेको खतिवडाको भनाइ थियो।
बसाइँसराइ गर्नेका परिवारबीच एउटा सम्पर्क सञ्जाल बन्ने र त्यस सञ्जालमार्फत एक गाउँका मनिस स्वदेश वा विदेशका एकै ठाउँमा बसाइँबसाइ सर्ने प्रवृत्ति पनि देखिएको डा. खतिवडाले बताए।
भारतको मेघालयस्थित कोइलाखानीमा काम गर्ने नेपाली मजदुर त्यस्तै सञ्जालमा आधारित समूह बनाएर बसाइँसराइ गरेको पाइएको उनले जानकारी दिए।
‘समग्रमा विदेशबाट आउनेभन्दा नेपालबाट विदेश जाने नेपालीको संख्या बढेको छ। जनगणना गर्दा कुनै स्थानमा अनुपस्थित जनसंख्यालाई अस्थायी बसाइँसराइ मानिन्छ। आफ्नो स्थान छाडेर जानेलाई स्थायी बसाइँसराइ भएको मानिन्छ,’ उनले भने।
राष्ट्रिय जनगणनाको प्रतिवेदनअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ । एक दशकअघि नेपालको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल त्यो ०.९२ प्रतिशतमा झरेको देखाएको छ।
राष्ट्रिय योजना आयोगको सहकार्यमा राष्ट्रिय जनसंख्या परिषद् र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले गरेको एक अध्ययनअनुसार गत तीन दशकमा नेपालले निकै तीव्र गतिमा जनसांख्यिक परिवर्तनको अनुभव गरेकाले आगामी २६ वर्षमा जापानजस्तै नेपाल वृद्ध समाज बन्ने प्रक्षेपण गरिएको छ। आगामी ११ वर्षमा नेपाल ढल्दो उमेरकाे समाज बन्नेछ।
सन् २०१० देखि २०१५ सम्म नेपालमा कुल प्रजनन दर २.३२, कोरा मृत्युदर ६.५ र जन्मिँदाको आयु ६९.०१ जनसांख्यिक संक्रमण देखिएको छ।
जब कि सन् १९८० देखि १९८५ मा कुल प्रजननदर ५.६२, कोरा मृत्युदर १६.९ र जन्मिँदाको आयु ४८.३४ को दरमा रहेको ‘वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स सन् २०१५’ ले जनाएको छ।
नेपालमा प्रजनन र घट्दो मृत्युदर तथा जनसंख्या वृद्धिदर घट्दो भएका कारण कामकाजी उमेरका वयस्कको आश्रयमा रहनुपर्ने वृद्धको संख्या पनि वृद्धि हुँदै जाने सो अध्ययनले देखाएको छ।
यसका असरबाट बच्न विदेश गएका युवालाई स्वदेश फर्काउने र स्वदेशमै युवा रोजगारी बढाउने, ढिलो विवाह गर्ने र ढिलो बच्चा जन्माउने प्रवृत्ति प्रोत्साहन गर्न प्रतिवेदनले सुझाएको छ।
जनसांख्यिक परिवर्तनका कारण नेपालमा जनसांख्यिक लाभांश प्राप्त हुने सम्भावना कम हुँदै जाने भएकाले सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, भविष्यको श्रमशक्तिमाथि लगानी बढाउनुपर्ने, आत्मनिर्भरता बढाउनुपर्ने उक्त अध्ययनको सुझाव छ।
अध्ययनले स्वास्थ्य, पोषण, पानी, सरसफाइ, स्वच्छता, शिक्षा, बालसंरक्षण र सामाजिक संरचनामा रणनीतिक र समयसापेक्ष लगानीले अनुकूल उमेर संरचनाबाट प्राप्त सम्भावनाको रूपान्तरण गर्न सक्ने सुझाएको छ।