निर्णय राष्ट्रपतिको हातमाः कसले पाउला प्रधानमन्त्रीको नियुक्तिपत्र ?


संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार ;साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।
यो समयमा प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपी ओलीले फेरि दावी प्रस्तुत गरेका छन् । उनले आफ्नो पक्षमा १५३ सांसद रहेको दावी गरेका छन् ।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

यस्तै प्रधानमन्त्रीको दावी गर्दै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा पनि १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।अब राष्ट्रपतिले देउवा वा ओली कसलाई नियुक्त गर्ने भन्नेमा निर्णय लिनेछिन् ।

ओलीले एमालेका सबै १२१ जना सांसदहरु रहेको दाबी गरेका छन् । जबकि उनकै दलका बरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी नेताहरुसँग शीतलनिवासमै राष्ट्रपतिलाई भेट्न पुगेका छन् । माधव पक्षका सांसदहरुले विपक्षी गठबन्धनमा हस्ताक्षर गरिसकेकाले ओलीसँग १२१ सांसद नरहेको कागजबाटै पुष्टि हुने कुरा हो ।

संविधानको धारा ७६ (५) ले दलगत रुपमा नभएर व्यक्तिलाई मात्रै चिन्ने संविधानविदहरुले बताउँदै आएका छन् । अब यो अवस्थामा राष्ट्रपतिले के गर्लिन् ? विपक्षी दलको बहुमतको हस्ताक्षर ग्रहण गर्छिन् या प्रधानमन्त्री ओलीको कुरा सुन्छिन् ? यसबारे प्रष्ट हुन केही समय अझै कुर्नुपर्नेछ ।


प्रकाशित : २०७८ जेष्ठ ७, शुक्रबार १२:०० गते

ताजा समाचार