अम्बरबहादुर विष्ट बने कोशी प्रदेशको सभामुख


विराटनगर । कोसी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

कोशी प्रदेश सभाको आजको बैठकमा राप्रपाका प्रमुख सचेतक रहेका अम्बरबहादुर विष्टको मात्र उम्मेदवारी परेपछि उनी सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरिन् । आजको बैठकका सभामुख निर्वाचनसम्बन्धी कार्यतालिका थियो । जहाँ विष्टले सभामुखको उम्मेदवारी दिएका थिए । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता शक्ति सिटौला र समर्थकमा प्रदेश सभा सदस्य प्रेमराज थामसुहाङ थिए ।

प्रदेश सरकारको स्थायित्वका लागि महत्वपूर्ण भूमिकामा रहेको राप्रपालाई सभामुख दिन सत्तागठबन्धन र एमालेसमेत राजी थियो । त्यसैले अरुको उम्मेदवारी नपरेपछि विष्ट निर्विरोध निर्वाचित भएका हुन् ।


प्रकाशित : २०८० पुष २४, मंगलवार १६:०४ गते

ताजा समाचार