रवि र जीबीविरुद्धका उजुरी अब सीआईबीले अनुसन्धान गर्ने


काठमाडमाैँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको भनिएको सहकारी घोटाला प्रकरणको अनुसन्धान सुरु गरेको छ।

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधि सभाका सदस्य रवि जोडिएको सहकारीको फाइलमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो।

ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले ती फाइल माग्दै विभिन्न जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएका थिए।

पत्र पठाइसकेपछि फोन गरेर पनि उनले फाइल सीआईबीमा पठाउन भनेका थिए। तर जारी अनुसन्धानबारे उनले बताउन चाहेनन्। सीआईबीको पत्रपछि जिल्लाले ती फाइल गत साता नै पठाइसकेका छन्।

अहिले सीआईबीले सबै जिल्लाबाट आएका फाइल अध्ययन गरिरहेको सीआईबी उच्च स्रोतले जानकारी दियो।

‘अहिले सबै जिल्लाका फाइल मगाएर हामी हेर्दैछौँ। एकै ठाउँमा राखेर अनुसन्धान गर्दा राम्रो हुन्छ भन्ने हो। यसबाहेक जिल्ला प्रहरी कार्यालयले यसअघि सम्पत्ति शुद्धीकरण विभागमा पनि अनुसन्धानका लागि लेखि पठाएका छन्’, सीआईबीका एक अधिकारीले भने।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको साहारा सहकारीको फाइल, पर्सा, रुपन्देही, काठमाडौं लगायतका जिल्लामा उजुरी परेको छ। जीबी राईका नाममा विभिन्न सहकारी सञ्चालनमा छन्।

सीआईबीलाई फाइल बुझाउनुअघि नै जिल्लाले सम्पत्ति शुद्धीकरणमा पत्राचार गरेका थिए।

यस्तै गतसाता नै सहकारी विभागमा पनि उनीहरुविरुद्ध उजुरी परेको छ। सहकारी विभागले पनि यस विषयमा कारबाही अगाडि बढाएको छ।


प्रकाशित : २०८० माघ ७, आईतवार १५:५४ गते

ताजा समाचार