बाँके । बाँके कोहोलपुरकी ४६ वर्षीय नन्दाकला सिंजाली हिजो आज मौरी पालनमा व्यवस्त छिन् । उनको घरमा ७ महिनाको नातिनी छ । उनलाई नातिनीसँग खेल्न र रमाउन जति मन लाग्छ, त्योभन्दा पनि धेरै मौरीसँग । मौरीको भुनभुनसँग नन्दाकलाको गहिरो प्रेम छ । नन्दकलाका लागि मौरी व्यवसाय मात्रै होइन, मौरी साथी पनि हो । उनले मौरीपालनमा एकदशकभन्दा बढी समय बिताइसकेकी छिन् ।
नन्दाकलाकी श्रीमान अमृत सिंजाली भारतीय सेनामा २८ वर्ष कार्यरत रहेर हनेरी लप्टनमा अबकास प्राप्त भए । उनको एक छोरा दिलिप सिंजाली भारतीय सेनामा सेनामा जागिरे छन् । बुहारी निसा थापा सिंजाली स्टाफनर्स छिन् । नन्दकलालाई पैसाको कुनै दुःख छैन, नपुग्दो केही छैन । तर उद्यमशीलता र सक्रिय जीवन रुचाउने नन्दकलाको मौरी व्यवसाय पहिचानसँग जोडिएको छ ।
नन्दाकलासँग अहिले १०० घार मौरी छ । ३–४ जना गाउँलेले रोजगारी पाएका छन् । वर्षको लागभग ४ हजार केजी मह उत्पादन हुन्छ । उनी यतिमै सन्तुष्ट भने छैनन् । उनलाई यो व्यवसाय अझ धेरै विस्तार गर्न मन छन् । “सरकारले बजारको राम्रो व्यवस्था गरिदिने हो भने म अझै २–३ सय घार मौरी थप्ने सोचमा छु । यसो गर्न सकियो भने थप १०–१५ जना स्थानीयलाई रोजगारी दिन सकिन्छ । अब सरकारले उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्यो । उद्यमलाई प्रोत्साहन नगर्ने हो भने देश त युवाविहिन हुने अवस्था छ ।” युवा विदेशीएकोप्रति एको गहिरो चिन्ता छ ।