काका तिमी गाउँमा मोती फलाउने सपना देख्दैछौ,
विपना कहिल्यै नआउने भयो ।
म शहरमा देश बनाउने सपना देख्दैछु,
विपना कहिल्यै नआउने भयो ।
काका तिमी मुसलधारे पसिना बगाइ दश नङ्ग्रा खियाउँछौ,
विडम्बना, गर्मीमा एक आङ जिउ ढाक्ने,
जाडोमा एक आङ न्यानो दिने
तिमी दुई मिटर कपडा जोड्न सक्दैनौ ।
काका, मैले शहरमा दिमाग खियाएको झन्डै २ दशक बितेछ,
तर देश बनाउने सपनाका सुगन्धहरु शहरको दुर्गन्धित हावाले उडाइरहेछन् ।
हो, काका मलाई आरोप छ तँ गाउँ फर्किनस् भन्ने,
म नफर्केर के भो र काका उही पुरानाहरु त फर्किएकै छन् नि,
काका भन्नुहुन्छ, शहरमा रुमलिएर नबस् कान्छा,
तैंले सिकेको ज्ञान, बुद्धि र विवेक लिएर गाउँमै आइज ।
तैंले जति पैसा घरबेटीलाई बुझाए पनि
त्यो घर तेरो हुँदैन ।
तैंले जतिनै पैसा छोरीको स्कुललाई बुझाए पनि
त्यो शिक्षाले बिदेश जाने भिसा बाहेक केहि दिन सक्दैन ।
तैंले जतिनै पैसा साहूजीलाई बुझाए पनि,
त्यो सामानले रोग बाहेक केहि दिन सक्दैन ।
हस्पिटलको त कुरै नगर कान्छा निको हुन जाने होइन,
सक्किन जाने हो ।
त्यसैले फर्कि कान्छा गाउँ ।
सुनेको सुखभन्दा भोगेको दुःख नै प्यारो हुन्छ ।
फेरि काका भन्नुहुन्छ,
होइन कान्छा निराश नबन,खोला ,नाला ,भिर ,पहरा ,बुट्यान,फोक्टाफोक्टि
तँआउने आशमा सबै कुरि बसेकाछन् ।
बिश्राम गर्ने चौतारी उस्तै छन,
गड्दावाल सोफामाभन्दा कम थकाइ मर्दैन ।
झुपडीहरु उस्तै छन्,
महलमाभन्दा कम निन्द्रा लाग्दैन ।
आंटो, गुन्द्रुक र सिस्नो उत्तिकै मिठो छ,
पिज्जा र बर्गरले कहिल्यै उच्छिन्न सक्दैन ।
काका, हो म सपना बांड्न सक्दिन,
मलाई योजना बांड्ने रहर छ ।
यदि मैले योजना बाड्ने कतै ठाउँ पाएछु भने ,
काका म अवश्य गाउँ फर्किनेछु।
यसैका निम्ति विचारको पोको पुन्तुरो तयार पार्न,
अझै केहि बर्ष लाग्नसक्छ ।
भन त काका रित्तो हात म कसरी गाउँ फर्किउँ ?
फडिन्द्र कार्की
बबरमहल ११ काठमाडौ, नेपाल ।