आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ७१ रनले विजयी


काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड वुल्भ्ससँगको दुवै खेल आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो खेलमा सोमबार नेपालले वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड वुल्भ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्र जोड्न सक्यो ।

नेपालले १९औँ ओभरको अन्तिम तीन बलमा तीन विकेट लिएपछि आयरल्यान्ड १२७ रनमै समेटिएको हो । सोमपाल कामीले गरेको उक्त ओभरको पहिलो बलमा लियम म्याकार्थी बोल्ड, दोस्रो बलमा बेन ह्वाइट ‘कट एन्ड बोल्ड’ र तेस्रो बलमा ग्यारेथ डेलानी रनआउट भए ।

आयरल्यान्ड वुल्भ्सका स्टेफन डोहेनीले २६ रन बनाए । मोर्गन टोपीङले २१ र क्याड कार्मिचेलले १८ रन थपे । यस्तै, रोस अडाएर र कप्तान नेइल रकले समान १७ रन जोड्दा ग्यारेथ डेलानीले १५ रन बनाए ।

नेपालका सोमपाल र कुशल मल्लले समान तीन विकेट लिए । यसबाहेक करण केसी, विवेक यादव, सोमपाल कामी र कुशल भुर्तेलले समान एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रनको योगफल खडा गरेको थियो । नेपालका गुल्सनकुमार झाले ४६ रन बनाए । ५६–३ को कठिन अवस्थामा ब्याटिङका लागि आएका गुल्सनले कप्तान रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।

रोहितले २४ बलमा पाँच चौकासहित ३३ रन थपे । आक्रामक रूपमा प्रस्तुत भएका कुशल मल्लले ३४ रन बनाए । उनले १३ बलमा चार छक्का र एक चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलले १६ बलमा समान दुई चौका र छक्कासहित २५ रन जोडे ।

यसबाहेक, सन्दीप जोराले १० बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाउँदा अनिल साहले १२ र आसिफ सेखले ११ रन थपे ।

आयरल्यान्ड वुल्भ्सका म्याथ्यु फोस्टरले तीन विकेट लिए । बेन ह्वाइटले दुई विकेट लिँदा फियोन ह्यान्ड र गाभिन हाइले एक–एक विकेट हात पारे ।

नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।

वुल्भ्सविरुद्ध अब बाँकी ट्वान्टी–२० खेल भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ । आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।


प्रकाशित : २०८० चैत्र १३, मंगलवार १६:५८ गते

ताजा समाचार