हिजो विश्वास-अविश्वासको चक्रबाट गुज्रियौँ, अब नयाँ प्रक्रियातिर अघि बढौँ: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू पहिलेजस्तो अहिले हौसिएर कम्युनिष्ट एकताको पक्षमा नरहेको बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा एमालेले सोमबार ललितपुरमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा छैनौँ । नेकपा बनाउँदा त्यतिबेला हामी अलि हतारिएर हौसिएछौँ जस्तो भएको छ । कहिले फेरि सहकार्य भएको छ । विगतको तितो यथार्थबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ’, उनले भने ।

यस्तै उनले कम्युनिस्ट पार्टीबिच एकता र सहकार्य हुँदा विगतमा दुई तिहाइ मत ल्याएको स्मरण गर्दै सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउन आवश्यक भएको बताए ।

‘जब सम्पूर्ण कम्युनिस्ट शक्तिहरूबिच एकता र सहकार्य भएको त्यतिबेला ठुला उपलब्धि भएका छन् । दुई तिहाइ बहुमत ल्याएका छौँ । जब एक अर्काविरुद्ध विद्वेष फैलाउने काम गरेका छौँ, त्यतिबेला कमजोर भएका छौँ । विगतका तितो यथार्थ सबैले मनन गरेर अगाडि जानु आजको आवश्यक हो’, उनले भने ।

प्रतिक्रान्तिबाट लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन चुनौती रहेको भन्दै उनले प्राप्त उपलब्धिका लागि सम्पूर्ण गणतन्त्रवादीहरू एक ठाउँमा आउन आवश्यक रहेको बताए ।


प्रकाशित : २०८१ बैशाख १०, सोमबार १६:२० गते

ताजा समाचार