माधव नेपालप्रति ओलीको कटाक्ष: प्रधानमन्त्री खान नपाएर दमको बिरामीजस्तो हर्‍याक–हर्‍याक गर्दैछन्


काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।

एमाले रसुवाको जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री खान नपाएर नेपालले हर्‍याक–हर्‍याक गरिरहेको टिप्पणी गरेका हुन् ।

‘हामी एउटा अभियानमा छौं, एकजना मान्छे प्रधानमन्त्री हुन दमको बिरामीले जस्तो हर्‍याक–हर्‍याक गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन्,’ नेता नेपालप्रति लक्षित गर्दै उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू प्रधानमन्त्री हुन्छु कि भनेर नेता नेपाल छ्ट्पटाएको आरोप लगाए । तर आफू अहिले प्रधानमन्त्री दौडमा नरहेको उनले स्पष्टसमेत पारे ।

‘मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर । मैले भनें– म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो ।

अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्‍यो,’ उनले थपे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमाले–माओवादी गठबन्धनलाई समर्थन गर्दा आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्त राखेका थिए । अहिले समीकरण फेरबदल हुने आशंकाबीच आफू प्रधानमन्त्री नबन्ने संकेत पाएपछि उनी गुनासो गर्दै आइरहेका छन् । यसैप्रति ओलीले टिप्पणी गरेका हुन् ।


प्रकाशित : २०८१ बैशाख २२, शनिबार १७:१५ गते

ताजा समाचार