काठमाडाैँ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज (मंगलबार) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दै छ ।
समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो । अमेरिकाको ग्राण्ड प्राइरी क्रिकेट स्टेडियम डालसमा हुने दुई देशबीचको खेल नेपाली समयानुसार राति सवा ९ बजे शुरू हुनेछ ।
नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् । नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् ।
नेपालले बाँकी दुई खेल भने वेस्ट इन्डिजमा खेल्नेछ । जसअन्तर्गत नेपालले १४ जुनमा दक्षिण अफ्रिका तथा १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।
नेपालले दक्षिण अफ्रिका र श्रीलंकासँग पहिलोपटक खेल्न लागेको हो । बंगलादेशसँग भने नेपालले सन् २०१४ को विश्वकपमै खेलेको थियो । नेदरल्याण्ड्सँग भने नेपालले पटकपटक म्याच खेलिसकेको छ ।
नेपाल हाल टी–२० अन्तर्राष्ट्रियको वरीयतामा १६औं स्थानमा छ । यस्तै, दक्षिण अफ्रिका छैटौं, श्रीलंका आठौं, बंगलादेश दसौं र नेदरल्यान्ड्स १२ औं स्थानमा छ ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्याण्ड क्यानडा र अमेरिका रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान परेका छन् । समूह ‘सी’ मा न्यूजिल्याण्ड, घरेलु टोली वेस्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्यूगिनी छन् ।
टी–२० विश्वकपमा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दै छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो ।