मैले निम्तो दिएको छु, उपयुक्त समयमा मोदीजी नेपाल भ्रमणमा आउनुहुन्छ : प्रचण्ड


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपयुक्त समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा मोदी नेपाल आउने बताएका हुन् । ‘मैले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको छु,’ प्रचण्डले भने, ‘उपयुक्त समयमा मोदीजी नेपाल भ्रमणमा आउनुहुन्छ ।’

तेस्रोपटक भारतको प्रधानमन्त्री भएका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्ड जेठ २७ गते भारत भ्रमणमा गएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीको लिखित आमन्त्रणमा आफू भारत भ्रमणमा गएको उनले बताए । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लिखित आमन्त्रणमा भारत भ्रमणमा गएको हुँ । जेठ २७ र २८ मा औपचारिक भ्रमण गरें,’ प्रचण्डले भने, ‘भ्रमणमा विषयमा भएका गतिविधि दूतावासमार्फत् सार्वजनिक जानकारी गराइएको छ ।’

भारत भ्रमणले आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भूमिका खेलेको उनले बताए । भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने कुराकानी भएको प्रचण्डले बताए ।

‘मोदीसँगको भेटमा नेपाल र भारतको सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको छ । विगतमा भएको सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनको पनि कुरा भयो । सीमासहितका दुई देशीय संयन्त्रको बैठक सुचारू गर्ने विषयमा पनि कुराकानी भएको छ ।’


प्रकाशित : २०८१ असार ७, बिहीबार १३:३४ गते

ताजा समाचार