बालेनलाई सुनिताकाे चेतावनी– सहअस्तित्व नस्वीकारे विनाश हुन्छ


काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अभिव्यक्ति दिँदा सबैले पदकाे गरिमा राख्नुपर्ने बताएकी छन् । काठमाडौं महानगरको १५औँ नगरसभालाई सम्बाेधन गर्दै उनले जथाभावी बाेलेर समाजमा राजनीतिक अराजकता मच्चाउन नहुने बताइन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विगतमा सामाजिक सञ्जालबाट ‘सिंहदरबार जलाउँछु’ भनी दिएको अभिव्यक्तिप्रति नगरसभामा प्रश्न उठाइएकाे थियाे । नगरसभा सदस्य अनिता कार्की ढोलीले ‘मेयरले सिंहदरबार जलाउँछु भन्दा भोलि महानगरवासीले मेयरको दरबार जलाए भने के हुन्छ’ भनेर प्रश्न गरेकी थिइन् ।

दुवैका अभिव्यक्तिप्रति उपमेयर डंगाेलले आपत्ति जनाइन् । ‘सिं‌हदरबार जलाउँछु भन्नु गलत हाे भने महानगर जलाउँछु भन्नु पनि गलत हाे,’ डंगाेलले भनिन्, ‘जे मुखमा आयो त्यो बोल्न पाइँदैन । राजनीतिक अराजकता त्याग्नुपर्छ । कम्तीमा काठमाडौं महानगरपालिकाले देशभर उदाहरण दिनुपर्छ ।’

उनले नगरसभामा ध्रुवीकरण ल्याउने प्रयास भइरहेकाेमा पनि आपत्ति जनाइन् । ‘यो संसद हाेइन, नगरसभा हाे । यहाँ सत्तापक्ष र प्रतिपक्ष हुँदैन । ध्रुवीकरण हुनु कदापी राम्रो सन्देश होइन,’ उनले भनिन् ।

संघीयताको मर्मलाई स्थानीय सरकारले बलियो आड दिएको र त्यसमा आफूहरू सफल हुँदै गएको बताउँदै उपमेयर डंगाेलले मतभेदबाट जनताको सरकार बन्न नसक्ने बताइन् । ‘पक्ष विपक्ष होइन । एकमतले अगाडि बढ्नु अहिलेको आवश्यकता हो । सबैले म म गरेर सुधारौँ,’ उनले भनिन् ।

उपमेयर डंगाेलले सबैको भावना समेटेर काम गर्ने वातावरण बनाउनुपर्ने बताइन् । एकअर्कालाई नकार्दै जाने हो भने विकास होइन, विनाश निम्तिने उनकाे चेतावनी छ । ‘सहकार्य, समन्वय र सहअस्तित्वबिना काम गर्न सकिँदैन,’ डंगाेलले भनिन्, ‘प्रमुखले उपप्रमुखको अस्तित्व नस्वीकार्ने, उपमेयरले वडाध्यक्षकाे र वडाध्यक्षले सदस्यकाे अस्तित्व नस्वीकारेर जाने हाे भने यसले विकास होइन, विनाशतर्फ लग्छ ।’


प्रकाशित : २०८१ असार ११, सोमबार १८:१३ गते

ताजा समाचार