‘महाकालीपूर्वको सबै भूभाग नेपालको हो भन्नेमा सरकार दृढ छ’:प्रधानमन्त्री प्रचण्ड


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकाली नदीपूर्वकका सबै भूभाग नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् ।

सीमा समस्या समाधान गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पछिल्लोपटक आफूले कुरा गरेको उनले बताए ।

विनियोजन विधेयकमा परराष्ट्र मन्त्रालय अन्तर्गत विनियोजित शीर्षकमाथि उठेका प्रश्नको मंगलबार संसद्‌मा जवाफ दिने क्रममा प्रचण्डले सीमा समस्या समाधानका लागि स्थापित संयन्त्रलाई क्रियाशील बनाउन मोदी राजी भएको बताएका हुन् ।

‘नेपालको अन्तर्राष्ट्रिय सीमाबारे स्पष्ट र दृढ छौं । यस विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको छ । २०७७ असार ४ मा संविधानको दोस्रो संशोधनमार्फत नयाँ नक्सा समेटी निशाना छाप अद्यावधिक गरिएको छ,’ प्रचण्डले भने, ‘सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा कालापानी र लिपुलेक लगायत महाकाली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट छ ।’

भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटमा १९५० को शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौता परिमार्जन र अद्यावधिक गर्न एवं सीमासम्बन्धी विषय स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्ने गरी अगाडि बढ्ने समझदारी भएको उनले बताए ।

‘भर्खरै भएको मेरो भारत भ्रमणको क्रममा पनि सीमालगायत सबै विषयमा विद्यमान संयन्त्रलाई क्रियाशील बनाइ सकेसम्म छिटो यी समस्याको समाधान गर्न आग्रह गरेको छु । भारतीय प्रधानमन्त्रीले सबै मेकानिजम अगाडि बढाउन सहमति जनाउनु भएको छ,’ प्रचण्डले भने ।


प्रकाशित : २०८१ असार १२, मंगलवार १२:३१ गते

ताजा समाचार