यी हुन् कोरोना उपचारमा दोहोरो शुल्क असुल्ने अस्पताल ?


२३ असार, काठमाडौं । कोरोना संक्रमितलाई निशुल्क उपचारको सम्झौता गरेका अस्पतालले दोहोरो शुल्क असुलेको पाइएको छ।

बिरामीले ती अस्पतालविरुद्ध उजुरी दिएपछि स्वास्थ्य मन्त्रालयले अध्ययन गरेको थियो । सरकारी अध्ययन अनुसार सरकार र बिरामीबाट शुल्क असुली गरेको भेटिएको हो ।

यसरी शुल्क लिने निजी अस्पातालहरु यी हुन् ।

ललितपुरको कुपन्डोलमा रहेको सर्वाङ्ग स्वास्थ सदन, विराटनगरको विराट मेडिकल शिक्षण अस्पताल, काठमाडौको नेपाल मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, मनमोहन मेमोरियल अस्पताल र मेडिकेयर अस्पतालले सरकार र बिरामी दुबैबाट रकम असुलेका थिए ।

स्वास्थ्य मन्त्रालयले उपचार शुल्क असुलीको विषयमा सहसचिव डा। समीर अधिकारीको नेतृत्वमा जेठ ३० मा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मेडिकल अधिकृत डा।नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य रहेका छन् ।

सरकारसँग गरिएको सम्झौता अनुसार अस्पतालले सामान्य रगत परीक्षण सिरम युरिया, क्रियाटिनन, सुगर, सीआरपी, हेमोग्लोबिन, प्लेटलेट्स, ईएसआर परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शय्याको शुल्क लिन नपाईने छ। त्यसैगरी दिनमा चार छाक खाना तथा खाजा, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क हुने सम्झौता छ । तर, यी अस्पतालहरूले यी विषयमा शुल्क लिएको पाइएको मन्त्रालयले बताएको छ ।

सरकारले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक २ हजार, एचडीयुमा बसेको ३५ सय र आईसफयु तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार मात्रै लिन पाउने व्यवस्था गरेको थियो ।

सरकारले अध्ययन अनुसार दोहोरो शुल्क लिने अस्पताललाई कडा कारबाही गर्ने बताएको छ।


प्रकाशित : २०७८ असार २३, बुधबार ०३:३० गते

ताजा समाचार