कांग्रेस–एमाले मिलेर चुनाव लड्नुस्, १ सीटमा गाई कि त्रिशूल गर्नुस्


नेकपा माओवादी केन्द्रका सांसद झक्कु सुवेदीले २०८४ सालको चुनाव मिलेर लड्न कांग्रेस–एमालेलाई सुझाव दिएका छन् ।

बराबर सीट बाँड्दा बाँकी रहने एक सीटमा गाई कि त्रिशूल गर्न उनले सुझाए ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सुवेदीले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको भन्दै अब सत्ता कब्जा गर्ने उद्देश्यले मिलेर चुनाव लड्न सुझाव दिएका हुन् ।

‘पहिलो र दोस्रो पार्टी सरकारमा छन । दोस्रोले सरकारको नेतृत्व गरिरहेको छ । विगतका सरकार अस्थिर भए भनेर स्थिरताका लागि सरकार बनाएको हो भने पहिलो र दोस्रो मिल्ने मात्र होइन, दुईवटा पार्टी मिलेर २०८४ सालको चुनावमा जानुस् । बराबर सीट बाँढ्नुस् । एउटा सीट (१६५ मध्येको एउटा बिजोर सीट) बाँकी रहन्छ । गाई कि त्रिशूल गर्नुस्, देश कब्जा गर्नुस्,’ सुवेदीले भने ।

सुवेदीले प्रमुख दुई दलले सरकार सञ्चालन गर्दा श्रीलंका र बंगलादेशको घटना स्मरण गर्न उनले माग गरे । ‘श्रीलंकाका राजापाक्षेले देश त्यसै गरेर कब्जा गरेका थिए । शेख हसिनाको बारेमा पनि सुन्नुभएको होला, प्रमुख प्रतिपक्षी दलका नेतालाई थुनेर चुनाव गर्थिन् । आज शेख हसिनाको के हालत छ ? यो कुरा शासकले गम्भीरतापूर्वक बुझ्नुपर्छ कि पर्दैन ?’ सुवेदीले भने ।


प्रकाशित : २०८१ श्रावण ३१, बिहीबार १४:२९ गते

ताजा समाचार