पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् ।
२०५१ मा ‘शहीद’ भएका तत्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले ‘जनयुद्ध’को आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणात्मक योगदान रहेको बताए ।
‘रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो । मधेशमा ‘जनयुद्ध’को आधार तयार पार्न उनले असाध्यै महत्त्वपूर्ण भूमिका खेल्नुभयो ।’
अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए । ‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन,’ उनले भने, ‘मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन । हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ । यो अपवित्र छ, यसको उद्देश्य गलत छ । पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ ।’
स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल भएको उनले बताए । ‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ । पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ । केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ,’ उनले भने ।