कहिले भेट होला र राजै यो जिन्दगानीमा….


राज सरगम

काठमाडौं राजधानीमा २ सय हाराहारी दृष्टिविहीन सडकमा गीत गाइरहेका छन् । सुनसान गल्लीलाई गुञ्जायमान पारेका छन् । आतेजातेहरू बिर्सिएका गीत सम्झेर नोस्टाल्जिक हुन्छन् ।

कहिले भेट होला र राजै यो जिन्दगानीमा….

यो गीतको ‘आलाप’ मसिनो स्वरमा आयो । दर्शकको ध्यान त्यतै तानियो । लय मादलको तालमा बग्दै गयो । गीतको उठान भयो, फूलको थुँगा बहेर गयो…।

यो गीतको ‘आलाप’ मसिनो स्वरमा आयो । दर्शकको ध्यान त्यतै तानियो । लय मादलको तालमा बग्दै गयो । गीतको उठान भयो, फूलको थुँगा बहेर गयो…।

स्पिकरमा जोडिएको हुन्छ, ह्यान्ड माइक । माइक समाएर गाइरहेकी हुन्छिन्, नम्रता ठकुरी (वर्ष ४०) । माधवप्रसाद घिमिरेका शब्द, तारादेवीको स्वर र नातिकाजीको संगीत रहेको गीतको ट्र्याकमा डुबेर गाइरहेकी नम्रता दृष्टिविहीन हुन् ।

पशुपतिको दक्षिणी गेटसँगै जोडिएको पेटीमा कालो चस्मा लगाएकाहरूको समूह छ । त्यहीमध्ये गाइरहेकी हुन्छिन् नम्रता । माइकका तार सुम्सुम्याउँदै स्वर भरिरहेकी छन् । घाँटी तन्काएपछि मात्रै खुल्छ उनको स्वर । उनले पशुपतिको दक्षिण गेट कुर्न थालेको चार वर्ष भयो । यो चार वर्षमा कति गए आए तर उनी अझै दक्षिण गेट पर्खिरहन्छिन् । माइक समाएरै चार वर्ष बित्यो । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको नम्रता गीत गाएरै जीवन चलाइरहेकी छन् । काठमाडौं राजधानीको महँगीसँग जुधिरहेकी छन् ।

१० वर्षको उमेरमा उनलाई संकट आइलागेको थियो । आँखाबाट लगातार आँसु बग्न थाल्यो । आँखाको नसा सुक्दै गयो । पछि उनले देख्नै छाडिन् । भारतका विभिन्न अस्पतालमा आँखा जाँच गराइन् । औषधि प्रयोग गर्दागर्दै उनले आँखाको ज्योति गुमाइन् । भन्छिन्, ‘साह्रै अभागी रहेछु संसार बुझ्ने बेला आँखाको ज्योति गुमाएँ ।’

बिस्तारै आँखा पुरिए । मनको चेत र लौरोको सहारामा उनी १२ वर्षअघि काठमाडौं आएकी थिइन् । उनी स्विटर बुन्ने तालिम लिन आएकी थिइन् । उनले पाँच वर्ष स्विटरै बुनिन् । तर, पछि कम्पनी डुब्यो । बेरोजगार भइन् । सामान्य कामले खानै धौधौ भयो । अन्तिममा उनले राजधानीका सडकमा गीत थालिन् । त्यसपछिका दिनमा उनी पशुपति छेउछाउ भेटिन थालेकी हुन् ।
०००
दाङका देवराज रसाइली, रमेश बीसी, सिन्धुलीका दीपराज परियार, बुटवलका खगिसरा पौडेल, रामेछापकी केशरी लामासहित ६ जनाको समूहले पशुपतिको प्रवेशद्वार घन्काइरहेको छ । रमेश र देवराज बे्रल लिपिमार्फत एसएलसी पास गरेर राजधानी छिरेका रहेछन् । उनीहरू चार वर्षदेखि गीत गाइरहेका छन् । लोकगीत गाउन खप्पिस छन् । सानैदेखि नसा सुक्दै गएर आँखा पुरिएको देवराज र रमेशको भनाइ छ । एकै स्वरमा भन्छन्, ‘सरकारले वास्तै गरेन दृष्टिविहीनलाई ।’

रमेश विवाहित हुन् भने देवराज अविवाहित । एक्लै जीवन चलाउन धौधौ देख्छन् देवराज । भन्छन्, ‘आँखा देख्नेहरूले पढेर जागिर नपाएको देशमा हामीजस्ता दृष्टिविहीनलाई कसले काम देला र ?

नारायण गोपाल र रामकृष्ण ढकालका गीत गाउन रुचाउने दीपराजले श्रीमती, बालबच्चालाई सिन्धुलीमै छाडेर रेस्टुरेन्टमा गाउँदै आएका थिए । महिनाको ४५ सयले कोठाभाडा पनि तिर्न नपुगेपछि उनी पनि सडकमा गीत गाउन थालेका हुन् । ‘भाडा तिर्नकै लागि सडकगीत गाउँदै छु’, उनी भन्छन् ।
०००
यस्ता दृष्टिविहीन चाडपर्वका बेला पशुपति क्षेत्रमा बढी भेटिन्छन् । मागेर हिँड्नुभन्दा गाएर माग्न उचित मानेर यो समूह बनेको हो । समूहमा ६ देखि १० जनासम्म हुन्छन् । पालैपालो गाउँछन् । साँझ पैसा गनेर भाग लगाउँछन् । २ सयदेखि ४ सय दैनिक एक जनाको भागमा पर्ने बताउँछन् दीपराज ।

कहिलेकाहीं यो समूह काठमाडौं उपत्यकाबाहिर पनि जान्छ । झापा, धरान, इलाम, चितवन, पोखराजस्ता सहरमा भएका कार्यक्रमको छेको पनि पार्छन् । हप्ता–१० दिनमा राजधानी फर्किन्छन् ।

नम्रताको समूहबाट फुटेर गएको एक जोडी कपनतिर भेटिन्छ । प्रायः साँझ हुँदै आएपछि कपनको मिलन चोक तरकारी बजारमा किनमेल गर्न आउनेको भीड लाग्छ । उनीहरूले यो जोडीका गीत सुन्छन् । राजधानीका सबै ठाउँमा दृष्टिविहीनहरू धूलो खाएर आफ्नो गीत सुनाइरहेका हुन्छन् । मन हुनेले ५, १० का नोट राखिदिइहाल्छन् ।
०००
काठमाडौं राजधानीमा २ सय हाराहारी दृष्टिविहीन सडकमा गीत गाइरहेका छन् । सुनसान गल्लीलाई गुञ्जायमान पारेका छन् । आतेजातेहरू बिर्र्सिएका गीत सम्झेर नोस्टाल्जिक हुन्छन् । देवराज सडकमा गीत गाउन धौधौ भएको सुनाउँछन् । भन्छन्, ‘पसलवालाले उठाउँछन्, ट्राफिकले खेदाउँछन्, गाडीले च्यापुलाझैं गर्छन् ।’

काठमाडौं राजधानीमा २ सय हाराहारी दृष्टिविहीन सडकमा गीत गाइरहेका छन् । सुनसान गल्लीलाई गुञ्जायमान पारेका छन् । आतेजातेहरू बिर्र्सिएका गीत सम्झेर नोस्टाल्जिक हुन्छन् । देवराज सडकमा गीत गाउन धौधौ भएको सुनाउँछन् । भन्छन्, ‘पसलवालाले उठाउँछन्, ट्राफिकले खेदाउँछन्, गाडीले च्यापुलाझैं गर्छन् ।’

पशुपति क्षेत्र विकास कोषले उनीहरूलाई धपाउने कोसिस गरिरहन्छ । बेला–बेला सुरक्षाकर्मीले पनि हट्न भन्छन् । राजधानीमा गाउने दृष्टिविहीनले निश्चित क्षेत्र बनाएका छन् । न्युरोड, कोटेश्वर, कलंकी, चावहिल, रत्नपार्क आदि स्थानमा गाउने दृष्टिविहीनको बेग्लाबेग्लै समूह छ ।
०००
मनमा माया सोच्न मन छैन, दुवै आँखा नदेख्दा यो संसारमा बाँच्न मन छैन ।

विष्णु माझी र विवश विष्टको यो गीत २०६७ सालमा रेकर्ड भयो । यही गीत ट्र्याकमा गाउँदै हिँड्छन् दृष्टिविहीन विवश विष्ट । सपरिवार काठमाडाैंमा बस्दै आएका विवश सडकमा गीत गाएर घर चलाइरहेका छन् । उनी कलंकी चोकतिर बढी भेटिन्छन् । सडकपेटीमा गीत गाउन थालेको १० वर्ष भयो । जुम्लाका विष्ट सानैदेखि गीत गाउँथे । तीनवटा एल्बम निकालिसकेका छन् । उनले टीका पुन, पूर्णकला बीसीसँग पनि गीत गाइसकेका छन् । उनका चर्चित गीत बजारमा सुन्न पाइन्छ । भन्छन्, ‘रहरले गीत गाएको होइन, बाँच्नका लागि हो ।’

रेडियो नेपालबाट स्वर परीक्षा पास गर्ने उनको धोको छ । २०६६ सालदेखि सडक गायक भएर उदाएका हुन् विवश । भन्छन्, ‘सबलांगझैं गाउने खुबी छ तर अवसर दिँदैनन् ।’

सन २००१ देखि दृष्टिविहीनलाई डीपीओले स्वरोजगारमुलक तालिम दिँदै आएको छ । संगीतको तालिम लिएकाहरूलाई संस्थाले रेस्टुरेन्ट तथा गजल साँझमा काम लगाइदिएको थियो । डीपीओका अध्यक्ष दृष्टिविहीन रमेश पोखरेल भन्छन्, ‘दृष्टिविहीनहरू कला र गलाका धनी छन् । उनीहरूसँग क्षमता छ । हामीले सरकारलाई त्यो क्षमता प्रदर्शन गर्न सक्छन् भनिरहेका छौं ।’

दृष्टिविहीनलाई संरक्षण दिने भनेकै सरकारले हो । व्यवस्थापन गर्न सके उनीहरूले स्वरोजगारस्वरूप सडकगीतबाटै राम्रै जीविकोपार्जन गर्न सक्छन् । सरकारको ७ हजार मासिक भत्ताले नधानेको जीवन धान्न सहज हुन्थ्यो । ‘सडकमा गाएकाहरूलाई रोक्न हामीमा नैसर्गिक अधिकार छैन’, पोखरेल भन्छन्, ‘हाम्रो अभिभावक सरकार हो । यसैले हाम्रो व्यवस्थापन गरिदिओस् भन्ने हो ।’


प्रकाशित : २०७८ श्रावण ४, सोमबार १६:४४ गते

ताजा समाचार