नेपाली जलविद्युत्‌मा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह


काठमाडौं । नेपालको जलविद्युत्‌मा लगानी गर्न क्यानडाका लगानीकर्तासमक्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आग्रह गरेको छ ।

नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म तीन हजार मेगावाट मात्रै विद्युत् उत्पादन भएको भन्दै लगानीको लागि क्यानडाका लगानीकर्तासँग इप्पानले आग्रह गरेको हो ।

“चार हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन छन् । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि चार हजार मेगावाट क्षमता छन् । १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरु थप १० हजार मेगावाट क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा छन्,” इप्पान अध्यक्ष गणेश कार्कीले भने ।

सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहितको रोडम्याप अघि सारेको उनले बताए । “सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत् उत्पादन क्षमता कम्तीमा ७२ हजार मेगावाट छ । यसको लागि नेपालमा ठूलो लगानीको खाँचो रहेकोले क्यानेडिएन लगानीकर्ताहरूलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हाँसिल गर्न आग्रह गर्दछु ।”

अहिले भारतमा एक हजार मेगावाट विद्युत् निर्यात भइरहेको उनले बताए । बंगलादेशमा ४० मेगावाट निर्यातको सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको पनि उनले जानकारी गराए ।


प्रकाशित : २०८१ आश्विन ९, बुधबार १४:५९ गते

ताजा समाचार