पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
उनको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले आज सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
‘पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ,’ प्रवक्ता गुरुङले भने, ‘राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।’
बैठकले ढुङ्गानाको निधनप्रति गहिरो दुःख शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको उनले बताए ।
ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । २०४८ मा कांग्रेसबाट सभामुख बनेका ढुंगाना २०५१ सालको निर्वाचनमा भने पराजित भएका थिए । त्यसपछि पार्टी राजनीतिबाट टाढिएका थिए ।
फेरि २०७४ सालमा भएको निर्वाचनमा ढुंगाना भक्तपुर २ बाट उम्मेदवार बनेका थिए । तर कांग्रेसबाट उम्मेदवार बनेका उनी पराजित हुन पुगेका थिए ।