माओवादी केन्द्र रामेछापले यसरी सम्झियो कम्युनिस्ट संस्थापक कर्माचार्यलाई


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रामेछाप जिल्ला कमिटी र रामेछाप काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चले नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस भव्य रुपमा मनाएको छ । राजधानीको संखमुल स्थित एक हलमा उनको सम्झनामा स्मृति दिवस मनाइएको हो । कार्मचार्य २००६ सालमा स्थापना भएको नेकपाका चार संस्थापकमध्ये एक थिए ।

कर्माचार्यको आठौं स्मृति कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठले कम्युनिस्ट आन्दोलनमा कमरेड नरबहादुर कर्माचार्यले खेल्नु भएको भूमिकाको कसैसँग तुलना गर्न नसकिने बताए । ‘कम्युनिस्ट पार्टी स्थापनादेखि गणतन्त्र स्थापनासम्मको आन्दोलनमा नरबहादुर कर्मचार्य एक मात्र जीवित स्थापक सदस्य हुन् ।
उहाँसँग मेरो दर्जनौ पटक भेट भएको छ । उहाँलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने बहस पार्टीभित्र हुँदा, उहाँले राष्ट्रपति बन्न अस्विकारसमेत गर्नुभयो ।’

‘चारजनाबाट सुरु भएको कम्युनिस्ट आन्दोलनले आखौं कार्यकर्ता जन्माएको छ, योभन्दा खुसी मेरा लागि के हुन सक्छ ।’ कम्युनिस्ट पार्टीका संस्थापक कर्माचार्यको भनाइ उल्लेख गर्दै सांसद श्रेष्ठले बताए । कमरेड नरबहादुर कर्माचार्यजस्तै अविचिलित भएर यो मुक्ति आन्दोलनमा निरन्तर लागिरहुन नै उहाँप्रतिको सच्चा सम्मान र श्रदाञ्जली हुने नेता श्रेष्ठको भनाइ थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका रामेछाप जिल्ला अध्यक्ष मैनकुमार मोक्तानले नरबहादुर कर्माचार्य कम्युनिस्ट आन्दोलन सिर्जना गर्ने एक कम्युनिस्ट संस्थापक भएको बताए । उनले भने, ‘उहाँहरुले कम्युनिस्ट पार्टी स्थापना गर्नुहुँदा देख्नुभएको सपना अझै पुरा भएको छैन । उहाँहरुको सपना कम्युनिस्ट राज्य स्थापना गर्ने थियो, जुन कुरा अझै पुरा हुन सकेको छैन । त्यो पुरा गर्ने जिम्मेवारी हाम्रो हो । अब हामीले सक्कली कम्युनिस्ट पार्टी बनाउँदै, अइजेरुहरुलाई फाल्दै वास्तविक कम्युनिस्ट सत्ता स्थापना गर्नुपर्दछ । यो हामीले मात्रै सक्छौं ।’

कार्यक्रमका सञ्चालक नेकपा (माओवादी केन्द्र) का नेता पेमा लामाले कमरेड नरबहादुर कर्माचार्यलाई स्मरण गर्दै उहाँको सरल स्वभावको व्यक्तित्व वर्तमानका कम्युनिस्ट नेता कार्यकर्ताका लागि सिक्न योग्य पाटो भएको बताए । नेता लामाले कर्मचार्यको प्रेम प्रसंग कोट्याउँदै भने, ‘उहाँ हाम्रो हजुरबा सरहको हुनुहुन्थ्यो तर हामी दाई भनेर बोलाउँथ्यौ । उहाँमा कुनै अहंकार थिएन । उहाँले विवाह गर्नुभएन । हामीले विवाह किन गर्नुभएन भनेर सोध्दा उहाँले प्रेमिका भएर पनि विवाह गर्न नपाएको बताउनु भएको थियो । विवाह गर्ने समय जेल परेका कारण उहाँको प्रेम सफल हुन नसकेको रहेछ ।’

कार्यक्रमा संविधानसभा सदस्य लक्ष्मी गुरुङ, रामेछाप, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानलगायतका अन्य नेता कार्यकर्ताको उपस्ति थियो ।


प्रकाशित : २०७८ श्रावण ९, शनिबार १५:३९ गते

ताजा समाचार