एमालेको नेपाल–खनाल पक्ष सरकारमा सहभागी हुने संकेत


काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले पनि सरकारमा सहभागी हुने संकेत गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान भएको भेटमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारमा सहभागिताका लागि सकारात्मक संकेत दिनुभएको हो । तर यसका लागि नेता नेपालले केहीदिन पर्खन भनेको प्रचण्डले आज माओवादी स्थायी कमिटी बैठकमा सुनाउनुभएको छ ।

प्रचण्डका अनुसार नेपाल सरकारमा आउन सकारात्मक हुनुभएको छ तर पार्टीमा एकता प्रयास पनि चलिरहेकाले निर्णय भने गरिसक्नुभएको छैन । एक सदस्यका अनुसार आजको स्थायी समिति बैठकमा प्रचण्डले माधव नेपाल समूहलाई पनि सहभागी गराएर छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने पनि बताउनुभएको थियो ।

प्रचण्ड आज बिहानै नेता नेपालको निवास कोटेश्वर पुग्नु भएको थियो । नेपालसँगको छलफलपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गर्नुभएको छ ।

दुई नेताबीच एमालेको एक समूहलाई सरकारमा ल्याउनेबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए पनि नेपाल–खनाल समूहले सरकारमा सहभागिताबारे ठोस निर्णय गरेको छैन ।

यो समूहमा पार्टी एकता प्रक्रिया अघि बढाउने कि छुट्टै दल बनाउने भन्नेमा विवाद चलिरहेको छ । प्रधानमन्त्री भएको झण्डै दुई हप्ता हुँदा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन ।

नेपालखनाल समूहले निर्णय नदिएका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको सरकार पक्षको दाबी छ ।


प्रकाशित : २०७८ श्रावण १३, बुधबार ०२:३८ गते

ताजा समाचार