साउन ३० भित्र सबै वडासमिति गठन गर्न माओवादी हेडक्वार्टरको निर्देशन


काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ ।

पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न निर्देशन दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले यही साउन ३० गते बस्ने केन्द्रीय समितिको बैठकमा सो विवरणसहित आउन निर्देश गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसअघि यही साउन २० गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक थप तयारी गर्नुपर्ने भन्दै १० दिन पर सारिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, सरकार विस्तार एवं आवश्यक तयारीका लागि केन्द्रीय समितिको बैठक पर सारिएको उहाँको भनाइ छ ।


प्रकाशित : २०७८ श्रावण १७, आईतवार १२:११ गते

ताजा समाचार