मैले बार्सिलोना छोड्नुपर्ने आवस्था अउँला भनेर सोचेको थिइनँः मेस्सी


काठमाडौं– अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले क्याटलान क्लब बार्सिलोनामा बस्ने चाहना हुँदाहुँदै पनि सम्भव नभएको बताएका छन्। आइतबार क्याप नाउमा भएको बिदाइ कार्यक्रममा उनले क्लब र आफ्नो व्यक्तिगत रुपमा सबै प्रयास भएपनि त्यो सम्भव नभएको बताएका हुन्।

बार्सिलोनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै ला लिगाको आर्थिक र संरचनागत अवरोधले मेसीसँग नयाँ सम्झौता हुन नसकेको जनाएको थियो।

‘गत सिजन म आफैं क्लब छाड्न चाहन्थेँ, तर त्यो सम्भव भएन। यसपटक हामी सबैले नयाँ सम्झौता सहमति जनाएका थियौं। तर, लिगको नियमका कारण सम्भव हुन सकेन। हामी कसैले यो अवस्था चाहेका थिएनौं,’ मेसीले भने।

उनले आफूले नचाहेर पनि क्लब छाड्नुपरेको र यस्तो अवस्था आउने नसोचेको बताए। ‘यो निकै दु:खलाग्दो समय हो। तर, यो अवस्थामा छोड्नुपर्छ भन्ने सोचेको पनि थिइनँ। मैले क्लबमा नै रहेर करिअर सक्ने अपेक्षा गरेको थिएँ,’ उनले भने।

मेसीले केही वर्षपछि बार्सिलोना नै फर्कने बताउँदै आफूबिना पनि क्लब अघि बढ्नेमा ढुक्क रहेको बताए।

‘खेलाडी आउने जाने क्रम जारी नै रहन्छ। अहिले पनि क्लबमा राम्रा खेलाडी छन्। अन्य खेलाडी पनि भविष्यमा आउने नै छन्। आउने दिनमा क्लब सफल नै हुनेछ भन्ने मलाई विश्वास छ,’ उनले थपे ।

आफू बार्सिलोनामा रहन नपाउने खबर सुनेपछि निकै दु:ख लागेको अनुभव समेत उनले सुनाए।

‘जब मैले सम्झौता हुन नसक्ने खबर पाएँ, निकै नरमाइलो लाग्यो। तर, मैले आफू फुटबल खेल्न पाउँछु भनेर चित्त बुझाएँ। हुन त हामीसँग ट्रान्सफर विन्डोको अन्त्यसम्म रहेर प्रतीक्षा गर्ने अवस्था छैन। क्लब निकै ऋणमा छ, म त्यसको बोझ बन्न चाहन्नँ,’ मेसीले थपे ।

मेसिले बार्सिलोनाबाट अर्को च्याम्पियन्स लिग जित्ने लक्ष्य पूरा हुन नसकेको पनि बताए। ‘मलाई लिभरपुलसँगको सेमिफाइनल र चेल्सीसँगको खेल याद आउँछ। हामीले च्याम्पियन्स लिग जित्ने लक्ष्य पूरा गर्न सकेनौं। अहिले सम्झँदा दु:ख लाग्छ,’ उनले भने।

ड्यानी आल्भेसको उदाहरण दिँदै उनले कम्तिमा करिअरको उपाधि कीर्तिमानसम्म पुग्न चाहेको समेत बताए ।

‘ड्यानी आल्भेसले हिजो भर्खर टोकियो ओलम्पिक स्वर्ण जिते। उनी हामीसँगै खेल्दा पनि सधैं जित्न चाहने खेलाडी हुन्। म पनि कम्तिमा उनी जति उपाधि जित्न चाहन्छु,’ उनले भने।

यस्तै, मेसीले आफू समर्थकका बीचमा रहेर बिदाइ लिन नपाएकोमा खिन्न महसुस गरे।

‘अहिलेको अवस्था नै यस्तै रह्यो। पछि फेरि कुनै अवसर आयो भने म बिदाइमा समर्थकमाझ आउनसक्छु होला,’ उनले भने ।

बिदाइका क्रममा आयोजित सम्बोधन गर्ने समारोहमा उनी भक्कानिएर रोएका थिए। आफ्नो अभिव्यक्ति राख्नुअघि नै सम्हाल्न नसकेर आँशु झारेका उनलाई सम्बोधन सकिएपछि उपस्थित सबैले लामो समय ताली बजाएर सम्मान दिएका थिए।

अब मेसी पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने छन्। उनको स्वागतको लागि पीएसजीले आइफेल टावर बुक गरेको छ ।

इएसपिएनका पत्रकार डिएगो मानरोइगका अनुसार पीएसजीले अगष्ट १० का लागि टावर बुक गरेको हाे। क्लबले सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमारलाई भित्राएर सार्वजनिक गर्नेक्रममा ३ लाख युरोमा आइफेल टावर भाडामा लिएको थियो।

मेसी र पीएसजीबीच तीन वर्षको सम्झौता हुने बताइएको छ। उनले नेयमारले भन्दा वार्षिक ५ मिलियन बढी प्राप्त गर्नेछन् । नेयमारले अहिले ३५ मिलियन पाउँदै आएका छन्।


प्रकाशित : २०७८ श्रावण २५, सोमबार १६:०५ गते

ताजा समाचार