शरीर फिट राख्‍ने तीन सुत्र !


काठमाडौं- मानिसहरुको व्यस्त दैनिकी कारण आफ्नो स्वास्थ्यलाई नै समय दिन कन्जुस्याइँ गरिरहेका हुन्छन्। तर, शरीर एकदम चुस्त, फिट र स्वस्थ होस् भन्‍ने चाहना रहन्छ। फिट र चुस्त रहनको लागि शरीरको आकार मिलाएर राख्नुपर्छ र रोग संक्रमणको जोखिमलाई कम गर्दै जानुपर्छ।

शरीरको फिटनेसको लागि आफ्नो दैनिक खानपान र आफ्ना गतिविधिहरुमा ध्यान पुर्‍याउनु पर्छ। दैनिक रुपमा आफ्नो खानेकुरामा एकदमै धेरै सागपात एवं फलहरुमा जोड दिनुपर्छ। सागपात र फलहरु खाँदा कैयौं प्रकारका रोगहरुले आक्रमण गर्न सक्दैनन्।

स्वस्थ एवं फिट शरीरका तीन सुत्र

फिट रहनको लागि हामीले सबैभन्दा पहिले आफ्नो आहारमा ध्यान दिनुपर्छ। दैनिक जतिसक्यो ताजा फल, सागपात एवं सन्तुलित डाइट भएको खाना खानुपर्छ। एक स्वस्थ सन्तुलित आहारले हामीलाई फिट राख्नको लागि मद्दत गर्दछ। आफ्नो डाइटमा प्रोटिनलाई समेत सामेल गर्नुपर्छ। प्रोटिन शाकाहारी र मांसाहारी दुवै खानामा पनि पाइन्छ। जसको लागि मांसाहारीहरुले कुखुरा, माछा आदि खान सक्छन् भने शाकाहारीहरुले दूध, केरा खान सक्छन्।

यसका अलावा दैनिक गतिविधिहरुलाई पूरा गर्नको लागि पनि हाम्रो शरीरलाई सही मात्रामा ऊर्जाको जरुरत पर्दछ। शरीरलाई ऊर्जा दिनका लागि कार्बोहाइड्रेडयुक्त आहार खानुपर्छ। शरीरमा कार्बोहाइड्रेडको कमीबाट शरीर सुस्त हुन पुग्छ भने यसले कमजोरी पनि महसुस हुन थाल्छ। त्यसैले आफ्नो डाइटमा कार्बोहाइड्रेड पनि सामेल गराउनुपर्छ। फिट रहनको लागि बोसोयुक्त आहार खानु हुँदैन। सन्तुलित खाना खाने र व्यायाम गर्नाले हाम्रो शरीर सन्तुलित हुने गर्दछ। जसबाट हामीमा आत्मविश्वास बढाउने काममा पनि मद्दत मिल्छ।

व्यायाम अनिवार्य

फिट रहनको लागि सन्तुलित आहार मात्रै होइन। व्यायाम पनि उत्तिकै महत्वपूर्ण छ। सन्तुलित आहारपछि दैनिक व्यायाम, जस्तै- दौडने वा अन्य किसिमका शारीरिक कसरतले हाम्रो शरीरमा ऊर्जा प्राप्त हुन्छ। हप्तामा केही दिनमात्रै यस्ता व्यायाम गर्दा पनि धेरै फाइदा हुन्छ। कार्डियो एक्सरसाइजले मुटुलाई मजबुत बनाउन मद्दत गर्दछ। स्ट्रेन्थ ट्रेनिङले मांसपेशीहरुलाई मजबुत बनाउने गर्दछ र स्ट्रेचिङ एक्सरसाइजले शरीरको लचिलोपनामा सुधार गर्न मद्दत गर्दछ। रक्त परिसञ्चरणको लागि पनि नियमित व्यायाम आवश्यक हुन्छ। यसले तनाव कम गर्न पनि मद्दत गर्दछ।

पर्याप्त निद्रा

फिट रहनको लागि सन्तुलित आहार र पर्याप्त व्यायामका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ। यदि निद्रा पुगेन भने मेटाबोलिज्म, मूड, एकाग्रता, याददाश्त, स्ट्रेस, हार्मोन, रोग प्रतिरोधक क्षमता र हृदयमा असर पर्दछ। पर्याप्त निद्राले नै हाम्रो मस्तिस्कलाई आराम दिन्छ र शरीरलाई पनि फिट राख्न मद्दत गर्दछ। त्यसैले दैनिक ७-८ घण्टा अनिवार्य निद्रा पूरा गर्ने गर्नुपर्छ।

अरु के-के गर्ने ?

– हरेक दिन बिहान खाजाको रुपमा अनिवार्य पौष्टिक आहार सामेल गर्ने

– दिनभरीमा जतिसकिन्छ धेरै पानी पिउने

– शरीर फिट राख्नको लागि तनावलाई हटाउने

– आफूले नियमित खाने खानामा शुद्ध तेल प्रयोग गर्ने

– नियमित रुपमा खेलकूदमा सहभागी हुने

– दैनिक दूध पिउने

– दैनिक बिहान हिँड्ने वा दौडने बानीको विकास गर्ने।


प्रकाशित : २०७८ आश्विन १०, आईतवार ०१:५५ गते

ताजा समाचार