काठमाडौं । प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति बनेलगत्तै विभिन्न मुलुकका राजदुतहरुको जंगी अड्डा पुगेर बधाई दिने प्रतिस्पर्धा चल्यो । चौथो दिन गत साउन २९ मा भारतीय राजदूत विनयमोहन क्वात्रा प्रधानसेनापति शर्मालाई भेट्न र बधाई दिन सैनिक मुख्यालय जंगी अड्डा पुगे।
कायमुकायमकै हैसियतमा रहेका शर्मालाई भदौ १६ गते इजरायली राजदूत हानान गोडरले भेटेर बधाई दिए। भदौ २४ गते प्रधानसेनापति नियुक्त भएका शर्मालाई असोज ६ मा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जंगी अड्डा पुगेर बधाई दिइन्।
यही असोज १३ गते प्रधानसेनापति शर्मासँग नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत अदनान जावेद खानले पनि जंगी अड्डा नै पुगेर भेटवार्ता गरे। पाकिस्तानी कार्यवाहक राजदूतले भेटेको एक दिनपछि असोज १४ गते नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी जंगी अड्डा नै पुगेर शर्मासँग भेटघाट गरे।
असोज १४ गते नै प्रधानसेनापति शर्मा र नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीबीच पनि भेटवार्ता भएको थियो। यी सबै कूटनीतिज्ञहरुसँगको भेटलाई नेपाली सेनाले ‘द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको’ बताएको छ।
नेपालमा नयाँ प्रधानमन्त्री फेरिंदा पनि यसैगरी राजदुतहरु बधाई दिने बाहानामा प्र्रधानमन्त्ती निवास पुग्ने गरेका छन् । विभिन्न देशमा राजदुत भएर गएका प्रतिनिधिहरुले पनि प्रधानमन्त्री र सेनाप्रमुखलाई यसैगरी सहजै भेट्न र बधाइ दिन पाउँछन् ?