एमालेमा दोस्रो पुस्ताका नेताहरुको एकता प्रयास जारी, समिट होटलमा वार्ता


काठमाडौं । गृहमन्त्रीसमेतको जिम्मेवारी पाएका अर्थमन्त्री विष्णु पौडेल शुक्रबार दिउँसो ललितपुरस्थित होटल समिटमा पुगेर माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग छलफल गरेका छन् ।

स्रोतका अनुसार मन्त्री पौडेलसँग ओली पक्षका अर्का एक नेतासमेत थिए । माधव नेपाल पक्षबाट घनश्याम भुसाललगायतको उपस्थिति थियो ।

अहिले पनि एमालेभित्र ओली पक्ष र नेपाल पक्षबीच कसरी एकता कायम गर्न सकिन्छ भन्ने उपायको खोजी गर्दै दोस्रो पुस्ताका नेताहरुले छलफल जारी राखेका छन् । एकातिर माधव नेपालसहितको पाँच दलीय विपक्षी गठबन्धन बनेको छ भने अर्कोतिर एमालेभित्रको वार्ता पनि जारी नै छ ।

​विहीबार नयाँ बानेश्वरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा एमालेका वरिष्ठ नेता माधव नेपालले काँग्रेस सभापति शेरबहादुर देउवातिर हेर्दै भनेका थिए, ‘केपी ओली सुध्रिएर आउँछन् भने स्वीकार्नुपर्छ है देउवाजी ।’

सत्तारुढ एमालेमा एकताको प्रयासका लागि केपी ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेललगायतका नेताहरुले पहल गर्दै आइरहेका छन् भने माधव नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, लगायतका नेताहरुले एकताको प्रयत्न गर्दै आएका छन् ।


प्रकाशित : २०७८ असार १२, शनिबार ०२:३६ गते

ताजा समाचार