एमाले एकताको ‘निर्णायक’ पहल : होटल मेरियटबाट यसरी निस्किए ओली-नेपाल (तस्बिरहरु)


काठमाडौं । पार्टी विभाजनको डिलमा पुगेका बेला आज अकस्मात एमाले समर्थकहरुले खुशीको खबर सुने । पार्टीका शिर्ष नेताद्वय केपी शर्मा ओली र माधव नेपाल वान अन वान वार्तामा बस्दैछन् ।

होटल मेरियटमा नेताद्वयको भेटवार्ता अचानक तय भएको थियो । करिब दुई घन्टा उनीहरुले मन माझामाझ गरे । कुराकानी के-कस्तो भयो भन्ने बाहिर आइसकेको छैन । तर, होटलबाट निस्किँदा माधव नेपालको बडील्याङ्वेज सकारात्मक नै थियो । यद्यपि, दुवै नेताले मास्क लगाएकाले अनुहारको भाव देख्न सकिएन ।

नेताद्वय म्यारियट होटल पस्दा मिडियाकर्मीले सूईंको नै पाएका थिएनन् । तर, उनीहरु दुई घन्टा वार्ता गरेर निस्कँदा होटल परिसरमा पत्रकारको घुँइचो लागिसकेको थियो । एकछिन हुलमुलकै अवस्था आएका थियो । पत्रकारले नेपाललाई रोकेर प्रतिक्रिया माग्न खोज्दा नेपाल पन्छिए । ‘साथीहरुसँग सल्लाह गरेर मात्रै बोल्छु’ भन्दै उनी गाडीभित्र छिरे ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पत्रकारको नजिक नै परेनन् । अनौपचारिक पोशाकमा रहेका उनी सुरक्षा घेरामा फटाफट बाहिरिए ।

नेताहरुबीच वार्ता सुरु भएको समाचार सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा तरंग उब्जिएको थियो । एमालेका समर्थक र शुभचिन्तकले यो पहललाई सकारात्मक रुपमा लिएका छन् । पार्टी एक हुनुपर्छ भन्ने उनीहरुको चाहना प्रकट भएको छ ।
आमजनताले पनि सत्तारुढ दल नफुटोस भन्ने नै चाहेका छन् । यो जनचाहनालाई बुझेर दुवै नेताहरुले अब आफूलाई कति लचक बनाउँछन् भन्ने हेर्न बाँकी छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताइदिएपछि ओली र नेपालबीच यो सम्भवत दोस्रो प्रत्यक्ष भेट थियो । यसअघि उनीहरु धुम्बाराहीस्थित पार्टी कार्यालयमा सामूहिक वार्तामा बसेका थिए । एक्लाएक्लै भेट चाहिँ यो पहिलो हो । माधव नेपालले आफूँ बालुवाटार नजाने अडान लिँदै आएका छन् ।

   


प्रकाशित : २०७८ बैशाख ८, बुधबार १४:५६ गते

ताजा समाचार