नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भान्सामा इन्डक्सन चुलो राख्ने तयारी


काठमाडौँ — नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भान्सामा एलपी ग्यास हटाएर विद्युतीय चुलो राख्न सरकारले प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बुधबार यी निकायका उच्च अधिकारीहरूसँग छलफल गर्दै ग्यासलाई इन्डक्सनले विस्थापित गर्ने कार्ययोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउन भनेको हो ।

ऊर्जामन्त्री पम्फा भुसालको सचिवालय स्रोतका अनुसार बुधबारको छलफलमा सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल, नेपाल प्रहरीका एसएसपी फणिन्द्र बराल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए । छलफलका क्रममा विद्युत् खपत तथा वातावरण संरक्षणका लागि स्वच्छ ऊर्जाको प्रयोग बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा कसरी विद्युतीय उपकरणको प्रयोग बढाउन सकिन्छ भनेर राय सुझाव लिइएको थियो ।

अहिले सुरक्षा निकायका भान्सामा दाउरा विस्थापन गरी ग्यास प्रयोग हुँदै आएको छ । बुधबार मन्त्रालयसँगको छलफलका क्रममा सशस्त्र प्रहरीको भान्सामा वार्षिक १० करोड रुपैयाँ र नेपाल प्रहरीको भान्सामा वार्षिक ५० करोड रुपैयाँ बराबर ग्यासमा खर्च हुने गरेको विवरण बुझाइएको छ । देशभर सशस्त्र प्रहरीका १ सय ९ वटा युनिट छन् । ग्यासलाई विद्युतले प्रतिस्थापन गर्ने सरकारको नीतिअनुसार सबै ब्यारेकमा इन्डक्सन चुलो प्रयोगका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको हो ।


प्रकाशित : २०७८ मंसिर १०, शुक्रबार ०२:३७ गते

ताजा समाचार