प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले खोप लगाउनेलाई मास्क लगाउन बाध्य पार्न नहुने धारणा व्यक्त गरेका छन् । म्हेपि संरक्षण तथा व्यवस्थापन समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
एमालेका नेता मानन्धरको कार्यक्रममा उपस्थितहरुलाई तपाईहरु कस-कसले कोरानाविरुद्धको खोप लगाउनुभयो भनेर सोध्दै सरकारले खोप लगाइसकेका नागरिकलाई मास्क लगा भन्न नमिल्ने तर्क गरे । ‘म संसदभित्र मास्क नलगाउने एक मात्र सदस्य हुँ । किनकी मैले कोरोनाविरुद्धको खोप लगाइसकेको छु । खोप पनि लगाउने अनि मास्क पनि अनिवार्य लगाउने कुरा मिल्दैन । त्यो भनेको खोपप्रतिको अविस्वास हो ।’ उनले भने, ‘धुलो भएको ठाउँमा मास्क लागने कुरा वेग्लै हो । तर कोरानासँग जोगिने नाउमा खोप लगाउनेलाई पनि सरकारले मास्क लगा भनेर भन्नु भनेको सरकारले नै खोपमाथि अविस्वास गरेको ठहर्छ । यो नाटक बन्द गरौं । अमेरिकामा खोप लगाउने मास्क लगाउन पाइँदैन ।’
दशै, तिहार र छठको शुभकामना दिदै सांसद मानन्धरले सामाजिक सञ्जालको विकृतिमाथि चिन्ता व्यक्त गरे । उनले भने, ‘श्रीमानश्रीमतीको झगडा पर्नेगरी फेसबुक र पप्जी नचलाउ । यसले हाम्रो संस्कृति विग्रन्छ । यो ड्रग खाएकोभन्दा बढी खतरनाक छ । हाम्रा बच्चाहरु फेसबुक र पप्जीविना भात नखाने बन्दै गएका छन् ।’
पूर्वमन्त्री मानन्धरले एमालेको विभाजनतर्फ संकेत गर्दै सूर्यचिह्नबाट मत पाएर सांसद र मन्त्री भएकाहरुले पार्टी नै छाडेर जानु जनताप्रतिकै धोका भएको बताए । सूर्यचिह्नबाट चुनाव जितेर रुखमा भोट हाल्नु कुन मूल्यमान्यता हो, भनेर उनले प्रश्न गरे । उनले देशको राजनीतिले सहज निकास पाउछ भने आफूजस्तो सुकै त्याग गर्न पनि तत्पर रहेको बताए । वामदेव गौतवलाई प्रधानमन्त्री बनाउँदा देशले निकास पाउछ भने त्यसका लागि किन त्याग नगर्ने भनेर नै आफूले सांसदबाट राजीनामा दिन तयार भएको उनको उनले दावि गरे ।