कांग्रेसले सधै ‘बिग्रिएका तत्व’सँग घाँटी जोड्छः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सधै ‘बिग्रिएका तत्व’सँग घाँटी जोड्ने गरेको टिप्पणी गरेका छन्।

अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै ओलीले कांग्रेसले सधै लोकतन्त्र विरोधीसँग घाँटी जोड्ने समेत आरोप लगाए।

‘नेपाली कांग्रेसले कस्तासँग घाँटी जोड्न भने बिग्रिएका, सडेका, लोकतन्त्र विरोधी, राष्ट्रियता विरोधी, विकाउ मालहरु,’ आक्रोसित हुँदै ओलीले भने, ‘जबसम्म भाँडो काम लाग्छ त्यसलाई भाँडो भनिन्छ । काम नलाग्ने भएर कुच्चिएर चुइने भएपछि पत्रु भनिन्छ । हो त्यस्तासँग नेपाली कांग्रेसले घाँटी जोड्छ । थोत्रा तत्वहरु र पत्रु तत्वहरु, प्रतिगामी तत्वहरु । यस्ताहरुसँग कांग्रेसले एकता गर्छ । उहिले होस् कि अहिले होस् कांग्रेसको जातै त्यस्तै हो ।’

ओलीले विदेशी सेना बोलाएर देशभक्त नेपालीको टाउको कटाएको समेत आरोप लगाए। ‘डोटीमा गिरफ्तार गरेर भीमदत्तको टाउँको काटिएको थियो,’ ओलीले भने, ‘भन्दा राम्रो लाग्दैन तर नेपाली कांग्रेसले नै गरेको थियो । विदेशी सेना बोलाएर देशभक्त नेपालीको टाउको नेपालीले कटाएको थियो । नेपाली कांग्रेस यस्तै छ । मित्रहरुलाई दमन गर्ने, जो लोकतन्त्रको विरोधी छ, उसैसँग सधै घाँटी जोड्ने ।’

ओलीले तत्कालीन एमाले नेता माधव नेपालमाथि पार्टीलाई हार्ने बानी लगाएको समेत आरोप लगाए। ‘पहिले एमालेलाई हार्ने बानी लगाए माधव नेपालहरुले,’ उनले भने, ‘अब एमालेको हार्ने बानी छैन् । जित्ने बानी । पुरानो, माधव नेपालवाला समयको हरुवा आदत छोडिदिए हुन्छ ।’

ओलीले २०६४ सालको चुनावमा एमालेलाई ३३ सिटमा खुम्च्याएको अरोप पनि नेपालमाथि लगाए। ‘२ सय ४० सिटमा लड्दाखेरि ३३ सिटमा खुम्चिने । एमाले भाले हो कि पोथी हो भन्ने मान्छेहरुले । न कांग्रेसको विरोध गरेको छ । जानुपर्ने रहेछ कांग्रेसमा कसरी विरोध गर्नु,’ उनले भने।

माओवादीको समेत नेपालले विरोध नगरेको ओलीको अरोप लगाए। उनले भने , ‘माओवादीको गलत नीतिको विरोध गरौं भनेको हो । माओवादीको व्यक्तिको होइन, गलत नीतिको हो ।’


प्रकाशित : २०७८ चैत्र १८, शुक्रबार १३:१६ गते

ताजा समाचार