पढ्नै पर्ने पुस्तकः वैज्ञानिक समाजवादको रोडम्याप


वैज्ञानिक समाजवादको रोडम्याप वर्तमान युगको एउटा महान ग्रन्थ हो । यो पुस्तक समाजवादी चिन्तक रमेश सुनुवारको करिब ३० वर्षको अध्ययन–अनुसन्धान, लामो समयको बहस र अन्तर्क्रिया र करिब एक दशकको कक्षाहरुको प्रतिफल हो । पुस्तकको लेखन, संकलन तथा सम्पादन रमेश सुनुवार र राजकुमार श्रेष्ठले गर्नुभएको छ । यस पुस्तकभित्र दर्शन, विज्ञान, इतिहास, माक्र्सवाद र वैज्ञाननिक समाजवाद गरी पाँच विषयमा समग्र ज्ञान–विज्ञानलाई मथेर ज्ञानको नौनी निकाल्ने प्रयत्न गरिएको छ ।

पहिलो खण्डमा दर्शनबारे गहन सामग्री प्रस्तुत गरिएको छ । दर्शन खण्डमा दर्शनको परिचय, दर्शनको वर्गीकरण, दर्शनका शाखाहरु, दर्शनको संरचनाबारे व्यवस्थित सामग्री प्रस्तुत गरिएको छ । त्यसैगरी दर्शनको विकासक्रममा पूर्वीय र पश्चिमी दर्शनको सार छ ।

पुस्तकको दोस्रो खण्डमा विज्ञानबारे निकै महत्वपूर्ण सामग्री प्रस्तुत गरिएको छ । विज्ञानको सामग्रीलाई दार्शनिक रुपमा प्रस्तुत गरिएको छ । यस खण्डमा दर्शन खण्डमाजस्तै विज्ञानको परिचय, विज्ञानको मान्यता, वैज्ञानिक विधि, विज्ञानको वर्गीकरण, विज्ञानको संरचनाबारे गहकिलो सामग्री छ । त्यसैगरी विज्ञानका प्रमुख नियमहरु, विज्ञानका प्रमुख सिद्धान्तहरु र विज्ञानको विकासक्रमबारे विस्तृत रुपमा र विज्ञानका जटिल मानिएका सिद्धान्तहरुलाई सरल भाषामा र निबन्धात्मक शैलीमा लेखिएको छ । वर्तमान युगको परिवर्तनलाई बुझ्न यो खण्डको सामग्री अतिनै उपयोगी छ ।
तेस्रो खण्ड इतिहासबारे छ । इतिहासको पहिलो अध्यायमा इतिहासको परिचय र संरचनाबारे, दोस्रो अध्यायमा ६ प्रकारका समाजका रुपहरुबारे, अध्याय तीनमा ६ प्रकारकार सामाजिक व्यवस्थाहरुबारे व्याख्या गरिएको छ । त्यसैगरी अन्तिम अध्यायमा प्रचीन पूर्वीय सभ्यता र प्रचीन पश्चिमी सभ्यताका बारेमा पठनीय सामग्री छ । पश्चिमी मुलुकमा विकास भएको मभ्यकालिन सभ्यता, आधुनिक सभ्यता र उत्तर–आधुनिक सभ्यताबारे पनि इतिहास खण्डमा महत्वपूर्ण सामग्री यस पुस्तकमा छ ।

पुस्तकको चौथौ खण्ड माक्र्सवादबारे छ । यस खण्डमा माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र, समाजवाद र माक्र्सवादको विकासक्रमबारे लेखिएको छ । पुस्तकको अन्तिम खण्ड सबैभन्दा महत्वपूर्ण खण्ड हो । वैज्ञानिक समाजवादको रोडम्याप पुस्तकको यसै अन्तिम खण्डमा प्रस्तुत गरिएको छ । यस खण्डमा वैज्ञानिक समाजवादको पृष्ठभूमीबारे व्याख्या गरिएको छ । त्यसैगरी वैज्ञानिक समाजवादको संघटक अंगहरुका रुपमा वैज्ञानिक दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादबारे संश्लेषणात्मक सामग्री छ । त्यसैगरी वैज्ञानिक समाजवादको क्रान्तिको मोडेलबारे पुस्तकको अन्तिम अध्यायमा व्याख्या गरिएको छ ।


प्रकाशित : २०७९ पुष २६, मंगलवार ०६:२७ गते

ताजा समाचार