दोरम्बा क्षेत्रमा माओवादीले जनयुद्धको समयमा प्रयोग गरेका कठिन रुटहरु, युद्धको समयमा उनीहरुले बास बसेका घरहरु र ओडारहरु, माओवादी योद्धाहरुले बलिदान गरेका स्थलहरु र युद्धस्थलहरुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । दोरम्बा हत्याकाण्ड हुँदा माओवादीले बैठक बसिरहेको शहीद युवराज मोक्तानको घरलाई संरक्षण र प्रवद्र्धन गर्ने, त्यो घर वरिपरिको क्षेत्रलाई गुरिल्ला युद्ध झल्किने गरी पर्यटकीय दृष्टिबाट सौन्दर्यकरण गर्ने, माओवादी योद्धाहरुलाई कसरी सेनाले हत्या गरेको थियो भन्ने देखाउने गरी भौतिक संरचनाको निर्माण गर्ने र माओवादीले बैठक बसेको घरदेखि १९ जना कमरेडहरुको हत्या गरिएको डाँडाकटेरीसम्मको बाटोलाई गुरिल्ला ट्रेलको रुपमा निर्माण गर्नसके आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै यो दोरम्बा क्षेत्रको समृद्धिको आधार बन्नसक्छ ।
-राजकुमार श्रेष्ठ
…………………………………………………………………………………………………………………………………………………………………..
पर्यटन हाम्रो अर्थतन्त्रको एउटा आधार हो । नेपालमा पर्यटन व्यवसायको संभावना प्रचुर छ । तर संभावनाको तुलनामा हामीले पर्यटनबाट पर्याप्त लाभ लिन सकेका छैनौं । पर्यटनको विकास गर्दा स्थानीय अर्थतन्त्रलाई केन्द्रमा राख्न आवश्यक छ । अहिलेको पर्यटनले स्थानीय अर्थतन्त्रको सबलीकरण र स्थानीय रोजगारीको सिर्जनामा टेवा पु¥याउन सकेको छैन । पर्यटन निश्चित घरनाको आम्दानीको स्रोत बनेको छ । प्राकृतिक स्रोत, संस्कृति, कृषि र वन्यजन्तुमा आधारित पर्यटनलाई जोडेर स्थानीय समुदायले प्रत्यक्ष लाभ प्राप्त गर्ने गरी पर्यटनको विकास आजको आवश्यकता हो । त्यसकारण स्थानीय समुदायले पर्याप्त आर्थिक लाभ लिनसक्ने गरी पर्यटनको विकास गर्ने मोडल के हुनसक्छ भन्ने विषयमा फराकिलो बहस हुन जरुरी छ ।
हाम्रो पर्यटन विविधतामा आधारित छ । नेपालमा प्राकृतिक स्रोतमा आधारित पर्यटन, वन्यजन्तुमा आधारित पर्यटन र सांस्कृतिक पर्यटन स्थापित छन् । चितवनको पर्यटन वन्यजन्तु र निकुंजलाई आधार मानेर चलेको छ । तर विविधतालाई जोडेर पर्यटनको विकास भएको छैन । नेपालमा जनयुद्धपछि पर्यटनको नयाँ संभावनाको क्षेत्र पनि थपिएको छ । त्यो हो– युद्धपर्यटन । नेपालले युद्धपर्यटनबाट पर्याप्त लाभ लिनसक्छ । नेकपा माओवादीको नेतृत्वमा २०५२ फाल्गुन १ गतेबाट सुरु भएको सशस्त्र जनयुद्ध वास्तवमा ग्रामीण क्षेत्रमा भएको गुरिल्ला युद्ध थियो । १० वर्षे युद्धको समयमा जनयुद्धमा होमिएका योद्धाहरुले पहाडका निकै कठिन बाटाहरुको प्रयोग गरेका थिए । उनीहरु जनताका घरमा बास बसे, जनताकै घरमा खाए । जंगलमा युद्धको तयारी गरे । हजारौं संख्यामा रहेका जनमुक्ति सेनाहरुले जंगलमै तालिम गरे, जंगलमै बास बसे । कतिपय अवस्थामा कन्दमूल खाएर पनि लडे । नेपालका कुनै त्यस्ता पहाडहरु छैनन्, जहाँ माओवादी गुरिल्लाहरु नहिँडेका होऊन् र उनीहरुले रगत नबगाएका होऊन् । संसार हाल्लाउने गरी भएको १० वर्षे जनयुद्धकै कारण नेपालमा २४० वर्षे एकतन्त्रीय राजतन्त्र ढाल्यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो । युद्धपर्यटनले एकातिर नेपालको पर्यटनको विविधतामा थप गर्छ भने अर्कोतिर युद्धलाई स्थानीयस्तरमा सकारात्मक रुपमा टिकाउँछ ।
नेपालको जनयुद्ध विश्वभरि कम्युनिस्ट आन्दोलन असफल हुँदै गरेको अवस्थामा भएको एउटा सफल क्रान्ति हो । राज्यको समानान्तरमा जनमुक्ति सेना नै बनाएर लडिएको १० वर्षे जनयुद्ध बृहत शान्ति सम्झौतामार्फत् शान्तिप्रक्रियामा अवतरण गरेको थियो । यो उत्पीडितहरुले न्यायका लागि लडेको गौरवपूर्ण इतिहास हो । तर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले युद्धपर्यटनलाई समृद्धिसँग जोडेर लैजानै सकेको छैन । त्यसको संभावना भने आज पनि उत्तिकै छ । केही मात्रामा रोल्पा–रुकुममा भने युद्ध–पर्यटनको सुरुवात गरिएको छ । तर यसको संभावना धेरै ठाउँमा छ । १० वर्षसम्म युद्धले थिलोथिलो पारेका गाउँबस्तीलाई अब पर्यटनमार्फत विकास गर्ने योजना बनाउनु आवश्यक छ ।
युद्धपर्यटनका दृष्टिले धेरै संभावना भएको एउटा गन्यव्य हो– रामेछापको दोरम्बा । यो ठाउँ दोरम्बा हत्याकाण्डले चर्चित छ । दोरम्बा रामेछापको आधार इलाका थियो । २०६० साल साउन ३२ गतेको कुरा हो । युद्धविराम गरेर माओवादी र सरकारबीच दाङको हापुरेमा तेस्रो वार्ता चलिरहेको थियो । राज्यको सेना ब्यारेकबाट पाँच किलोमिटरभन्दा टाढा निस्कन नपाउने सहमति थियो । दोरम्बा सेनाको ब्यारेकबाट करिब २५ कोस टाढा पथ्र्यो । माओवादी र सरकारबीच वार्ता चलिरहेकै दिन दोरम्बाको शिक्षक युवराज मोक्तानको घरमा रामेछापको पार्टी हेडक्वाटरको बैठक चलिरहेको थियो । त्यही दिन मेजर राममणि पोखरेलको कमाण्डमा आएको सेनाले बैठक बसिरहेको घर घेरा हालेर दुईजना माओवादी कमरेडहरुको त्यही हत्या गरेको थियो । बाँकी १९ जनालाई करिब एक घण्टा हिँडाएर डाँडाकटेरी भन्ने ठाउँमा लगेर गोली ठोकी हत्या गरेको थियो । नेपालको राजनीतिक इतिहासमा २१ जना व्यक्तिहरु एकै ठाउँमा मारिनु बडो दर्दनाक घटना हो, अझ त्यसमाथि शान्तिवार्ताको बेला । राजनीतिक बिम्बका रुपमा यस्तो ठाउँ अत्यन्तै महत्वको हुन्छ । अहिलेकै पुस्ता र भावी पुस्तालाई पनि नेपालको राजनीतिक इतिहास पढाउन यो सजीव क्षेत्र हो । इतिहास केवल किताबमा पढाउनुपर्छ भन्ने छैन । ठाउँलाई जोडेर पनि इतिहासको अध्ययन गर्नसकिन्छ । राजनीतिक पर्यटनका दृष्टिले नेपालका लागि दोरम्बा अत्यन्तै उपर्युुक्त क्षेत्र हो । यसको संरक्षण, प्रबद्र्धन र प्रचार गर्ने काम भने बाँकी छ ।
स्थानीय शिक्षक युवराज मोक्तान १९ जनलाई मारिएको दिन मात्रै काठमाडौंबाट उपचार गराएर घर आइपुगेका थिए । उनका श्रीमती काम गर्न बारीमा गएका थिए र अर्का छोरा घरमा नभएका कारण जोगिए तर युवराज मोक्तान र उनका छोरा लीला मोक्तान भने सेनाद्वारा मारिए । यो घटनामा मारिनेहरु थिए– तत्कालीन रामेछापका जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ, अम्बिका दाहाल, प्रदीप दोङ, टेकबहादुर थापा मगर, हर्क तामाङ, रवि चौहान, विष्णुमाया थापा, सानुमाया तामाङ, लक्ष्मण तामाङ, चतुरमान थामी, श्याम तामाङ, पदमराज गिरी, उमा कार्की, सोमाइ थामी, जमिन शर्मा, हर्कलक्ष्मी राई, सोम चौवास, चमेली थामी, युवराज मोक्तान र लीला मोक्तान । मारिनेमा अधिकांश तामाङहरु थिए । तत्कालीन माओवादी पार्टीका रामेछाप जिल्ला इन्चार्ज हरि दाहालसहित केही कमरेडहरु भागेर बाँच्न सफल भए । उनीहरु भागेको रुट र त्यही दिन राति बसेको ठाउँलाई पनि सहायक गुरिल्ला ट्रेलको रुपमा विकास गर्न सकिन्छ ।
दोरम्बा हत्याकाण्ड युद्धविरामको समयमा गरिएको विभत्स हत्या थियो । यो युद्धको नियमविपरित गरिएको हत्या थियो । यो घटनाले विश्वभरका मानवअधिकारवादीहरुको ध्यान आकर्षित ग¥यो । राष्ट्रिय मानवअधिकार आयोगले यो घटनाको अध्ययन समिति नै बनाएर प्रतिवेदन सार्वजनिक गरको थियो । यस घटनाको विश्वभर चर्चा भएको थियो । एकपटक विश्वव्यापी रुपमा परिचय बनाइसकेको ठाउँलाई पर्यटकीय क्षेत्र बनाउन थोरै भए पनि सजिलो हुन्छ ।
दोरम्बा क्षेत्रमा माओवादीले जनयुद्धको समयमा प्रयोग गरेका कठिन रुटहरु, युद्धको समयमा उनीहरुले बास बसेका घरहरु र ओडारहरु, माओवादी योद्धाहरुले बलिदान गरेका स्थलहरु र युद्धस्थलहरुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । दोरम्बा हत्याकाण्ड हुँदा माओवादीले बैठक बसिरहेको शहीद युवराज मोक्तानको घरलाई संरक्षण र प्रवद्र्धन गर्ने, त्यो घर वरिपरिको क्षेत्रलाई गुरिल्ला युद्ध झल्किने गरी पर्यटकीय दृष्टिबाट सौन्दर्यकरण गर्ने, माओवादी योद्धाहरुलाई कसरी सेनाले हत्या गरेको थियो भन्ने देखाउने गरी भौतिक संरचनाको निर्माण गर्ने र माओवादीले बैठक बसेको घरदेखि १९ जना कमरेडहरुको हत्या गरिएको डाँडाकटेरीसम्मको बाटोलाई गुरिल्ला ट्रेलको रुपमा निर्माण गर्नसके आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै यो दोरम्बा क्षेत्रको समृद्धिको आधार बन्नसक्छ ।
मूल केन्द्रमा युद्धपर्यटनलाई राखी अरु विषयहरु पनि जोड्न सकिन्छ । तर राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा मुख्य केन्द्र भने युद्धपर्यटनलाई बनाउनु पर्छ । दोरम्बा काडठमाडौंबाट नजिकको गन्तव्य पनि हो । त्यसकारणले पनि यो क्षेत्र अझ उपयुक्त छ । गुरिल्ला ट्रेल बनाउँदा नजिकका गुरिल्ला हिँडेका वस्तीहरुसँग जोडेर निर्माण गर्नुपर्छ । दोरम्बा शैलुङ गाउँपालिका जातीय विविधताले पनि भरिपूर्ण छ । जनजातिहरुमा तामाङ, थामी, मगर, नेवार र शेर्पा यस क्षेत्रमा बसोबास गर्छन् । यी समुदायको संस्कृति, नृत्य, गीत, खानपान, भेष र भाषामा आधारित पर्यटनलाई पनि युद्धपर्यटनसँग जोडेर पर्यटनको दीर्घकालीन बाटो तय गरिनुपर्छ, जसले गर्दा स्थानीय बासिन्दाले यस भेगको पर्यटनबाट प्रशस्त लाभ लिनसक्छन् । पर्यटकले एकैचोटी युद्धपर्यटनको अनुभव गर्नेछन्, थामी, तामाङ, मगर, नेवार, शेर्पा समुदायको सांस्कृतिक अध्ययन पनि गर्नेछन् । चार विविधतापूर्ण समुदाय एउटै क्षेत्रमा उपलब्ध हुनु पर्यटकका लागि पनि अवसर हो । युद्ध, संस्कृति, प्रकृति र कृषिको एकीकृत प्याकेज दिएर मौलिक पर्यटनको विकास गर्न सकिन्छ र नेपालको पर्यटकीय क्षेत्रमा यो एउटा मौलिक ठाउँ हुन्छ ।
यही पालिकाभित्र उच्च धरातलीय स्वरुपका हिसाबले ठूलो शैलुङ्गमा हिउँ पर्नेदेखि बेंसीमा रजमन्टार, लखनपुर, धान फल्ने प्राकृतिक स्रोत खाद्यान्नको भरीपूर्ण हरियाली भूभाग, सामान्य भिरालो र चट्टानी क्षेत्रले ओगटेको छ । सामान्य अग्ला र भिराला पहाडी श्रृंखलाले बनेको यस गाउँपालिकामा भीरपाखा बसोबासको क्षेत्रसहितको विविधतायुक्त धरातलीय अवस्थिति रहेको छ । शैलुङ नेपालको लोकप्रिय एक पर्यटन क्षेत्र भइसकेको छ । त्यसमाथि युद्धपर्यटनलाई व्यवस्थित रुपमा थप्ने हो भने पालिकाले नै अर्थतन्त्रको हिसाबले फड्को मार्न सक्छ । यसले आर्थिक रुपमा मात्रै नभएर पालिकाको गौरव, शान र पहिचान बढ्छ ।
यस गाउँपालिकामा बग्ने नदीहरु थप आकर्षणका केन्द्र रहेका छन् । चौरी खोला, घट्टे खोला र धोवी खोला, शैलुङ, आदि यहाँका मुख्य प्राकृतिक सम्पदाहरु हुन् । यस क्षेत्रमा जलमा आधारित पर्यटनको पनि पर्याप्त संभावना छ । जैविक विविधताका हिसाबले पर्वतीय चिसो हावापानीमा पाइने जीवजन्तुहरुमा डाँफे, कालिज, मृग, भालु, चितुवा, खरायो, भंगेरा, बाघ, काग र मयुर मुख्य रहेका छन् । त्यस्तै वनस्पतिहरुमा पाखनवेद, कटुकी, सतुवाजस्ता मूल्यवान वनस्पति यस क्षेत्रमा पाइन्छन् । यसका अलावा पहाडको माथिल्लो भागका अधिकांश स्थानमा वन तथा खर्कहरु रहेका छन् भने चुन ढुङ्गा र तामा खानी लगायतका खनिजहरु यस क्षेत्रमा पाइन्छन् । त्यसकारण यस क्षेत्रमा प्राकृतिक स्रोतमा आधारित पर्यटनको संभावना पनि धेरै छ ।
कृषि पर्यटनको हिसाबले चौरी पर्यटन, चिया पर्यटन, कफी पर्यटन र आलु पर्यटनको संभावना पनि त्यतिकै छ । यसलाई पालिका सरकार र प्रदेश सरकारले वृहत रुपमा योजना निर्माण गर्ने र प्रचार गर्ने काम भने बाँकी छ ।
दोरम्बा गाँउपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकृतिक रुपले यस प्रदेशमा फरक विषेशता बोकेको क्षेत्र हो । यस पालिकाभित्र साविक दोरम्बा क्षेत्रअन्तर्गत रहेका डडुवा, दोरम्बा, टोकरपुर, गोश्वारा, लखनपुर र गुन्सी गाविस समावेश गरिएको छ । विशेष गरी धार्मिक तथा ऐतिहासिक महत्व रहेका अग्लेश्वर, शैलुङ्ग, सानो शैलुङ्ग, कण्ठेश्वर मन्दिर र ब्रह्माविष्णुजस्ता चर्चित धार्मिकस्थलहरु रहेकाले धार्मिक पर्यटनको संभावना पनि उत्तिकै छ ।
दोरम्बा हत्याकाण्डमा सेनाद्वारा मारिएका योद्धाहरुको सालिक निर्माण गरिसकिएको छ । तर पर्यटकहरु शहीदको सालिक मात्र हेर्न आउँदैनन् । त्यस क्षेत्रमा थप पर्यटकीय दृष्टिले आवश्यक भौतिक संरचनाको निर्माण गरिनुपर्छ । त्यसैगरी तामाङ, थामी, मगर, नेवार र शेर्पा समुदायको संस्कृतिसँग जोडेर युद्ध र सांस्कृतिक संग्रहालयको स्थापना गरिनुपर्छ । यस क्षेत्रमा आएका पर्यटकहरुलाई आकर्षित गर्नेगरी एउटा टोललाई नै समेटेर तामाङ सांस्कृतिक ग्राम, थामी सांस्कृति ग्राम, मगर सांस्कृतिक ग्राम, नेवार सांस्कृतिक ग्राम र शेर्पा सांस्कृतिक ग्राम बनाएर पर्यटकलाई आकर्षित गर्नसकिन्छ । यसो गर्दा संस्कृतिको संरक्षण हुनका साथै स्थानीय समुदायले प्रत्यक्ष रुपमा आर्थिक लाभ प्राप्त गर्छन्, जुन पर्यटनको मुख्य पाटो हो ।
युद्धपर्यटनलाई केन्द्रमा राखेर जीवजन्तुमा आधारित, कृषिमा आधारित, संस्कृतिमा आधारित, जडिबुटीमा आधारित, धर्ममा आधारित, वनमा आधारित, जनमा आधारित पर्यटन र विशेष क्षेत्र शैलुङलाई प्रवद्र्धन गरी नेपालकै सन्दर्भमा मौलिक पर्यटन प्रवद्र्धन गर्ने प्रशस्त संभावना छ, जसले पालिकाको स्थानीय अर्थतन्त्रको मजबुती मात्रै होइन, स्थानीय विविध समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन पनि गर्छ र आदिवासी जनजाति समुदायको पहिचानलाई बढोत्तरी गर्छ । यो संभावनालाई टेकेर दीर्घकालीन र अल्पकालीन योजना बनाउनु, आवश्यक मानवीय स्रोतको विकास गर्नु र प्रचारका लागि उपयुक्त रणनीति तय गर्नु अहिलेका प्राथमिक काम हो । यसको अग्रसरता स्थानीय सरकारले लिनुपर्छ । तर वित्तीय र प्राविधिक सहयोग भने संघीय र प्रादेशिक सरकारले गर्नुपर्छ । दोरम्बालाई पर्यटकीय दृष्टिकोणले राम्रो व्यवस्थापन गर्नसकियो भने केवल यो दोरम्बाको मात्र प्रगतिको साधन बन्नेछैन, सिंगो रामेछापकै समृद्धिको माध्यम बन्नेछ । यसले जनयुद्धको गौरवशाली इतिहासलाई अन्तर्राष्ट्रीयस्तरमा पनि सधै स्थापित गर्नेछ ।
स्रोतः समाजवादी बाटो