प्रधानमन्त्री कप महिला क्रिकेट: उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश भिड्दै


काठमाडौं । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ ।

प्रतियोगिताको उपाधिका लागि विभागीय टिम एपीएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ ।

राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको दुवै टिमले समूह चरणमा जबर्जस्त प्रर्दशन गरेका थिए । प्रतियोगितामा एपीएफ अपराजित छ भने कोशीले समूह चरणमा एपीएफ बाहेक सबै टिमविरुद्ध जित हासिल गरेको छ ।

एपीएफले समूह चरण र पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई हराएको थियो । कोशीले भने सुदूरपश्चिम प्रदेशलाई दोस्रो इलिमिनेटर राउण्डमा हराउँदै फाइनल यात्रा तय गरेको हो ।

एपीएफ लिग चरण र क्वालिफायरको प्रर्दशनलाई फाइनल खेलमा समेत निरन्तरता दिने कोशिश गर्नेछ । कोशी प्रदेश भने लिग चरण र क्वालिफायरमा एपीएफसँग हारको बदला लिने प्रयास गर्नेछ ।

एपीएफसँग कप्तान इन्दु वर्मा, सिताराना मगर सहित अधिकांश राष्ट्रिय टिमका अनुहारहरु छन् । बलिङ र ब्याटिङ दुवै पक्षमा उत्कृष्ट देखिएको एपीएफलाई युवा र अनुभवी खेलाडीको साथ छ ।

कोशी प्रदेश पूर्व राष्ट्रिय कप्तान रुबिना क्षेत्री सहितका केही सिनियर खेलाडीबाट प्रेरित देखिन्छ । काजल श्रेष्ठ, अपसरी बेगम, सबनम राई लगायतका अनुभवी खेलाडी कोशी प्रदेशको टिमबाट खेलिरहेका छन् ।

क्यानको पीएम कपको नामबाट महिला र पुरुषको क्रिकेट प्रतियोगिता सञ्चालन गरिरहेको छ ।


प्रकाशित : २०८० पुष १८, बुधबार ११:०५ गते

ताजा समाचार