काठमाडाैँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाललाई आठ विकेटले हराउँदै नेदरल्यान्ड्सले दोस्रो जित निकालेको छ ।
जितसँगै नेदरल्यान्ड्सले महत्वपूर्ण दुई अंक आर्जन गर्यो । चार खेल खेलेको नेदरल्यान्ड्सको दुई जितसँगै चार अंक भएको छ । समान खेलमा नेपालको दुई अंक मात्र छ । यो शृंखलामा समान चार खेले खेलेको नामिबियाले तीनमा जित निकल्दै ६ अंक हासिल गरेको छ ।
जारी शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई ९ विकेटले हराउन सफल भएको थियो । तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटले हार बेहोरेको नेपाल चौथोमा नेदरल्यान्ड्ससँग आठ विकेटले हार व्यहोर्न बाध्य भयो ।
कीर्तिपुर मैदानमा ओपनर कुशल भुर्तेलले अर्धशतक बनाए पनि तीन बलअघि अलआउट हुँदै नेपालले जम्मा एक सय ७२ रन बनाएको थियो । एक सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले दुई विकेट गुमाउँदै ३७.५ ओभरमा लक्ष्य पूरा गरेको हो । नेदरल्यान्ड्सको जितमा बिक्रमजित सिंहले अर्धशतकीय इनिङ्स खेले ।
नेदरल्यान्ड्सको इनिङ्समा ओपनर मिचेल लेभितले ३९ र म्याक्स ओ डावडले २८ रनको योगदान गरेका थिए । दुई ओपनरले पहिलो विकेटको लागि ६१ रन बनाउँदै सानदार सुरुवात गरेका हुन् ।
बिक्रमजित सिंहले ९२ बलमा सात चौकासहित ५८ र सेब्रान्ड इन्गेलब्रेचले ७५ बलमा तीन चौकासहित ४६ रनको योगदान गरे । ११.४ ओभरमा ७१–२ को अवस्थामा रहेको नेदरल्यान्ड्सलाई बिक्रमजित र सेब्रान्डले शतकीय साझेदारी गर्दै जित सुनिश्चित गरेका थिए ।
नेपालका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेलले ९३ बलमा आठ चौकासहित सर्वाधिक ६६ रन बनाए । उनले नै नेपालको इनिङ्स उकासेका थिए । अन्य खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् ।
आरिफ शेखले २२ र करण केसीले २६ रनको योगदान गरे । करण र आरिफले आठौँ विकेटको लागि ३६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । ओपनर आसिफ शेख २७ बलमा १७ रन, कप्तान रोहितकुमार पौडेलले १६ रन बनाए ।
ओपनर आसिफ र भुर्तेलले ४२ रनको सर्वाधिक ठूलो साझेदारी गरे । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेपछि गतिलो साझेदारी नै हुन सकेन । ८.२ ओभरमा ४२ रन बनाउँदै ओपनरद्वय आसिफ र भुर्तेलले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर, यसपछि १२ रन जोड्दा तीन गुमाएर नेपाल दबाबमा आएको थियो ।
अनिल शाह सात र कुशल मल्ल दुई रनमा आउट भए । आशा गरिएका दीपेन्द्रसिंह ऐरी, भिम सार्की, गुल्शन झाले पनि राम्रो प्रदर्शन गर्न नसकेपछि नेपालको ब्याटिङक्रम धर्मराएको थियो ।
नेदरल्यान्ड््सका आर्यद दत्त र भिभिअन किङ्माले सर्वाधिक समान तीन विकेट हात पारे । बास डि लीडले दुई र रोएलोफ भान डेर मेर्वीले एक विकेट हात पारेका छन् ।
कीर्तिपुर मैदानमा टस हारेको नेपालले सुरुवाती ब्याटिङ गरेको थियो । प्रशिक्षक मोन्टी देशाईले सोमपाल कामी र देव खनाल बाहिर राख्दा आसिफ शेख र गुल्शन झाले कम ब्याक गराएका थिए ।