नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक


नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।

शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो २ दशकमै पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताए । उनले स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शुन्य १ प्रतिशत रहने अनुमान गरिएको भएपनि चालु आर्थिक वर्षको तेश्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण बन्दै गएको बताए । उनले भने, “आर्थिक बर्ष २०७६÷७७ मा कोभिड १९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुनेगरी आर्थिक वृद्धि दर पछिल्लो २ दशकमै पहिलो पटक २ दशमलब १२ प्रतिशतले ऋणात्मक रहेको छ । यो आर्थिक बर्ष २०७१÷७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा पनि उच्च हो । स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शुन्य १ प्रतिशत रहने अनुमान गरिएकोमा चालु आर्थिक बर्षको तेश्रो चौमासिकबाट तिब्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण बनेको छ ।”

आर्थिक सर्वेक्षण २०७८ मा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलब ८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९१ पुगेको अनुमान गरिएको छ । त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९६ पुगेको अनुमान गरिएको छ । पछिल्ला वर्षहरुमा बस्तु तथा सेवाको औषत मूल्यस्तर वाञ्छित सीमाभित्र नै रहेको जनाइएको छ । आर्थिक बर्ष ७६÷७७ मा तीनै तहका सरकारको एकीकृत खर्च ११ खर्ब ९१ खर्ब ६ करोड रुपैया रहेको छ । एकीकृत खर्चमध्ये चालु खर्च ५६ प्रतिशत र पुँजीगत खर्च ३४ दशमलब १ प्रतिशत र वित्तीय व्यवस्था ९ दशमलब ९ प्रतिशत रहेको छ । त्यसैगरी सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजश्वमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलब ६ प्रतिशतले बढेर ५ खर्ब १ अर्ब ९७ करोड पुगेको छ । मन्त्रालयले कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायका लागि २०७७ फागुनसम्म ४८ हजार ८ सय ३१ ऋणीका लागि १ खर्ब ४२ अर्ब १७ करोड पुनरकर्जा स्वीकृत भएको जनाएको छ । कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहमा गरि ३४ अर्ब ११ करोड विनियोजन भएकोमा १० अर्ब ९५ करोड खर्च हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७८ जेष्ठ १४, शुक्रबार १२:२२ गते

ताजा समाचार