आज चौधौं गणतन्त्र दिवस, गणतन्त्र नेपालको १३ वर्ष पूरा


काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ ।
यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् । चौधौं गणतन्त्र दिवसका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन् ।

यसैगरी राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपति पुनले अपिल गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका छन्, ‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्दछ र बन्नुपर्दछ । देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु ।’

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रवादी शक्तिहरुबीच राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन्। अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ।


प्रकाशित : २०७८ जेष्ठ १५, शनिबार ०५:०३ गते

ताजा समाचार